सुरु भयो तिहार

 

सुर्खेत: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार शनिवारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिवार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ ।

यमपञ्चकको पहिलो दिन काग तिहार परेको छ । समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउने भएकाले शनिवारदेखि यमपञ्चक सुरु भएको बताए । उनका अनुसार सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाअर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिवार नै परेको छ । तिथिको घटबढका कारण आइतवार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

कार्तिक २६ गते आइतवार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । गाईपूजा कार्तिक २७ गते सोमवार परेको छ । गोरूपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कार्तिक २८ गते मंगलवार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धधन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।

यस वर्षको भाइटीकाको उत्तम साइत कार्तिक २९ गते बुधवार बिहान १०ः५१ बजे रहेको समितिले जनाएको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन सकिने छ ।

प्रकाशित मितिः   २६ कार्तिक २०८०, आईतवार ०५:०१