लगानी खोज्दै पालिका

स्थानीय तहहरूको आन्तरिक आम्दानी न्यून छ । पुँजीगत बजेट पनि कम हुँदा विकास निर्माणका कामलाई अघि बढाउन समस्या हुनेगरेको हो । तर केही स्थानीय तहहरूले बाह्य लगानी जुटाएर विकास निर्माणका काम अघि बढाएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १० करोड हाराहारीमा बाह्य लगानी जुटाएको छ । नगरपालिकाको आफ्नै वार्षिक विकास बजेट न्यून छ । पालिकाको चालु आर्थिक वर्ष २०८०÷०८१ को विकास बजेट ३० करोड हो । अघिल्ला वर्षहरूमा पनि सोही बराबरको बजेट विनियोजन हुने गरेको थियो । विकास निर्माणका काम बाह्य लगानीका भरमै गर्नुपरेको छ । हरेक वर्ष कुनै न कुनै निकायबाट गरी गुर्भाकोट नगरपालिकाले अर्बौ बजेट जुटाएर विकासमा खर्चने गरेको छ । नगरले आवश्यकताका आधारमा उक्त बजेट परिचालन गर्दै आएको हो । बाह्य स्रोतबाट आउने सहयोगलाई भौतिक पूर्वाधार, सडक, भवन निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिमा लगानी गरिरहेको छ ।

गुर्भाकोट मात्रै होइन वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच अर्ब बाह्य लगानी जुटाइसकेको छ । यो वर्ष नगरपालिकाले ठूला दुई आयोजना सञ्चालन गर्ने भएको छ । जसमा भेरी पम्पिङ आयोजना निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको आयोजनाको पहिलो चरणको कामका लागि टेन्डर आह्वान गरिएको हो । दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरणअन्तर्गत चार अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ । भेरीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर ल्याउन संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत लिफ्टिङ प्रविधिमार्फत् उपत्यकामा खानेपानी ल्याउने लागिएको जनाइएको छ । यसैगरी पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत संघ, प्रदेश र विभिन्न साझेदारी संस्थाहरूबाट एक अर्ब लगानी सुनिश्चित भएको नगरपालिकाले जनाएको छ । जसमा सडक निर्माण विद्यालय भवन निर्माण, ल्याण्ड फिल्ड साइट अन्तर्गतका पूर्वाधार निर्माणलगायतका काम गरिनेछ ।

बाह्य लगानी ल्याएर विकासमा लगाउने गुर्भाकोट र वीरेन्द्रनगर नगरपालिका प्रतिनिधिमूलक स्थानीय तह हुन् । यीबाहेकका पालिकाहरूमा पनि बाह्य स्रोतकै सहायताले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकका पूर्वाधार बनाइएको छ । बाह्य आर्थिक स्रोत जुटाउने कसरतमा स्थानीय तह लागिपरेका छन् । आन्तरिक स्रोत साधनकै भरमा विकास आयोजना सञ्चालन गर्न निकै चुनौती देखिन्छ । त्यसैले पनि स्रोतको खोजी गरेर विकास निर्माणका गतिविधि गर्ने गरिएको छ ।

प्रकाशित मितिः   १७ कार्तिक २०८०, शुक्रबार १७:४६