पुष्प व्यवसायी संघ गठन
सुर्खेत: सुर्खेतमा व्यावसायिकरूपमा फूल (पुष्प) खेती गर्दै आएका किसानहरू संगठित भएका छन् । शुक्रवार वीरेन्द्रनगरमा भएको व्यवसायीहरूको भेलाले हिराबहादुर घर्तीको अध्यक्षतामा नेपाल पुष्प व्यवसायी संघ सुर्खेत गठन गरेको छ ।
संघको उपाध्यक्षमा उबिसरा थापा, सचिवमा विनोद शर्मा, सहसचिवमा अशोक चौधरी र कोषाध्यक्षमा रुवी आचार्य रहेका छन् । यस्तै सदस्यहरूमा रामप्रसाद भण्डारी, मानबहादुर राना, परशुराम धमला, रिता भारती, कृष्ण शर्मा, समिर खत्री, हिमानी कोइराला र रमेश बिसी चयन भएका छन् ।
जिल्लामा पुष्प व्यवसायको प्रवद्र्धन गर्न संघ गठन गरिएको जनाइएको छ । व्यवसाय प्रवद्र्धनका साथै व्यवसायीहरूका समस्या समाधानका लागि पैरवी गर्ने उद्देश्य रहेको अध्यक्ष घर्तीले बताए । साथै उनले जिल्लामै उत्पादित फूलको उपयोग गर्न र आयातित तथा प्लाष्टिकजन्य फूलको प्रयोगमा रोक लगाउनसमेत माग गरे । फूलको बजारीकरणमा सहजीकरण गर्नुका साथै मूल्यमा समेत एकरूपता ल्याउने बताइएको छ । उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै थोकमा प्रतिकेजी दुई सय ५० देखि तीन सय सम्म मूल्य निर्धारण गरिएको छ ।
कार्यक्रममा लघु औद्योगिक ग्रामका अध्यक्ष उदीराम डाँगीले कम लगानीमा उत्पादन बढाउन आग्रह गरे । तिहार लक्षित मात्रै भन्दा फूलका अन्य उत्पादनका लागि समेत ध्यान दिनुपर्नेमा उनको जोड थियो । यस्तै युवा वैज्ञानिक राजेन्द्र विष्टले फूलबाट विभिन्न किसिमका सुगन्धित तेल निर्माण गरिने भएकाले उत्पादनकर्ताले तिहार लक्षित मात्रै नभइ निर्यातका लागि ठूलो मात्रमा उत्पादन गरिनु पर्ने बताए । भेलामा व्यावसायिकरूपमा फूल खेती गर्दै आएका ३० जना किसानको सहभागिता रहेको थियो ।
साझा बिसौनी ।