अनुसन्धानका लागि ‘सीआईबी’को सहयोग
सुर्खेत: मुगु हत्याकाण्ड भएको एकहप्ता पुगिसकेको छ । शुक्रवारसम्म पनि प्रहरीले कुनै ठोस प्रमाण फेला पार्न सकेको छैन । कार्तिक ८ गते राति अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज, आठ महिनाका रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक हत्या गरिएको थियो । अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म पनि कुनै ‘क्ल्यू’ फेला पार्न सकेको छैन । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको प्रहरीले हालसम्म ठोस प्रमाण फेला पार्न नसकेको हो ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतको टोलीले समेत निरन्तर अनुसन्धान जारी राखेको छ । प्रहरीले गम्भीर रूपमा लिएको मुगु हत्या प्रकरणलाई अनुसन्धान जारी राखे पनि हत्यारा अझै पत्ता लगाउन सकेको छैन । यो घटनाका विषयमा स्थानीयसँग सोधपुछ गरिरहेको प्रहरी निष्कर्षमा भने पुग्न सकेको छैन । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता गोपालचन्द्र भट्टराईले घटनाको निरन्तर अनुसन्धान भइरहेको बताए । अहिले त्यहाँका स्थानीयसँग सोधपुछ र विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । उक्त गाउँलाई नै उच्च निगरानीमा राखेर निरन्तर अनुसन्धान गरिरहेको उनको भनाइ छ । भट्टराईले भने, ‘प्रदेश प्रहरी प्रमुख नै अनुसन्धानमा लागिरहनु भएको छ । सबै विधि प्रविधिको प्रयोग गरेर ज्ञान ध्यानका साथ अनुसन्धान जारी राखिएको छ ।’ अनुसन्धानका क्रममा प्रहरीले केही प्रमाण फेला पारेको जनाएको छ ।
सीआईबीलाई पत्राचार
घटनाको अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोग मागेको छ । कार्यालयले प्रहरी प्रधान कार्यालयलाई केन्द्रीय अनुसन्धान ब्युरोको टिम पठाउन पत्राचार गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमा अनुसन्धानका लागि आउने भएको छ । घटनाको अनुसन्धान थप जटिल बन्दै गएपछि प्रहरीले (सीआईबी) को सहयोग मागेको हो । शुक्रवार कर्णाली प्रदेश प्रहरी कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरेको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार आइतवारसम्म केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थल पुग्नेछ ।
अहिले घटनाबारे तीन जना इन्स्पेक्टरहरूले छुट्टाछुट्टै कोणबाट अनुसन्धान जारी राखेको भट्टराई बताउँछन् । मुगु प्रहरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरूले सहयोग गरिरहेका छन् । केही सामान्य प्रमाण फेला पारेको प्रहरीले जनाएको छ । हत्यापछि श्रीदेवी बोहराको मोबाइल हत्याराले लिएर गएको बुझिएको छ । कार्तिक ८ गते साँझ तीन जना बालबालिका र आमाको हत्या भएको थियो । घटनाबारे कार्तिक १० मा खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मुगुको टोलीले अनुसन्धान थालेको थियो । कार्तिक ११ गते प्रदेश प्रहरी कार्यालय सुर्खेतको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
मृतकको दाहसंस्कार
हत्या गरिएका चारै जनाको शुक्रवार दाहसंस्कार गरिएको छ । घटना भएको आठ दिन र शवको पोष्टमार्टम भएको चार दिनपछि दाहसंस्कार गरिएको हो । यसअघि मृतक श्रीदेवीका श्रीमान् दिपक बोहोराले दोषि पत्ता नलागेसम्म शव नुबुझ्न बताएका थिए । शुक्रवार बिहान नगरप्रमुख विष्णुकुमार भामसहित आफन्तहरूको सम्झाइ–बुझाइ गरेपछि दिपक शव बुझ्न र दाहसंस्कार गर्न सहमत भएका हुन् । आमा श्रीदेवी बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको शव जलाइएको छ भने आठ महिने छोरा रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको शव जमिनमा गाडिएको नगरप्रमुख भामले जानकारी दिए ।
प्रकाशित मितिः १८ कार्तिक २०८०, शनिबार ०५:०५
साझा बिसौनी ।