एक हजार बढी रुख काट्न अनुमति
सुर्खेत: मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको खम्बागाडेदेखि मायातालसम्मको क्षेत्रमा पर्ने रुख कटानको अनुमति दिइएको छ । बिहीवार बसको मन्त्रीपरिषद्को बैठकले आयोजनालाई २३ किलोमिटर सडक खण्ड अन्तर्गतका रुख कटानको अनुमति दिएको हो ।
कटान अनुमति नपाए पनि सडक क्षेत्रका रुखमा चिनो लगाउने काम भने यसअघि नै सुरु गरिएको थियो । चिनो लगाउन थालिएको लामो समयपछि कटानका लागि स्वीकृति पाएको मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनले जानकारी दिए । उनका अनुसार सडक क्षेत्रमा पर्ने एक हजार तीन सय ३४ रुखमा चिनो लगाइएको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ, अब रुख कटानका लागि थप प्रक्रिया अघि बढ्नेछ ।
४५ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडक निर्माण थालिएको छ । तीन खण्डमध्ये दुई वटाको काम अघि बढेको छ । बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको हो ।
मन्त्रिपरिषद्को निर्णयपछि डिभिजन वन कार्यालय भेरी बाबियाचौरले कटान आदेश दिनुपर्ने हुन्छ । कार्यालयले अनुगमन गरेर आवश्यक देखिएको रुखको मात्र कटान आदेश दिने जनाइएको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडक निर्माण थालिएको छ । तीन खण्डमध्ये दुई वटाको काम अघि बढेको छ । सम्झौताअनुसारकै समयावधिभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको हो ।
बड्डीचौर–खम्बागाडे सडक खण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त सडक खण्डको साढे १२ किलोमिटरमा सडक निर्माणको काम भइरहेको हो । यो सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ ।
हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले बताए । उनका अनुसार उक्त खण्डमा तीन वटा मोटरेबल पुल निर्माणा सम्झौता भइ अघि बढेका छन् । पुन निर्माणको काम सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ । यो सडक खण्डमा सात किलोमिटर जंगल क्षेत्र परेको छ । वन क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएकाले वन क्षेत्रमा पर्ने रुख कटानको काम पनि अघि बढ्ने उनले बताए । रुख कटानको अनुमति नहुँदा काम गतिमा अघि बढ्न सकेको छैन । सरकारको प्राथमिकतामा रहेको सडक, विद्युतलगायतका पूर्वाधार निर्माण हुँदा समयमा रुख कटान आदेश नभएर काममा ढिलाइ हुने गरेको छ ।
राजमार्ग अन्तर्गतकै विद्यापुर–बल्दे सडक खण्डमा अहिले बाटो कटिङको काम धमाधम भइरहेको छ । तीन खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्नेगरी बानियाँ मोतिदान डि.एस. जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । यो क्षेत्रमा पर्ने रुखहरू कटान आदेश नहुँदा सडकको बीचबीचमा रुख छोडेर काम भइरहेको थियो । रुख कटानको अनुमति पाएसँगै अब विस्तृत काम अघि बढ्ने जनाइएको छ ।
आयोजनाकै खम्बागाडेदेखि विद्यापुरसम्मको १० किलोमिटर सडक खण्डको निर्माण कार्य भने अघि बढ्न सकेको छैन । उक्त खण्ड निर्माणका लागि ठेक्का सम्झौतासमेत भएको छैन । सम्झौताका लागि अन्तिम तयारी भने भइरहेको जनाइएको छ ।
साझा बिसौनी ।