विभत्स घटना

मुगुमा एकै परिवारका चार जनाको शव भेटिएको घटनाको प्रहरी अनुसन्धान चलिरहेको छ । तर घटना भएको पाँच दिन बितिसक्दासम्म पनि उक्त घटना हुनुको कारण प्रहरीले पत्ता लगाउन सकेको छैन । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको हुनसक्ने आकलन गरिए पनि कुनै प्रमाण फेला परेको छैन । जसले गर्दा प्रहरी कुनै टुँगोमा पुग्न समेत सकेको छैन । शुक्रवार मुगुको छायानाथरारा नगरपालिका–६ मुन्दु गाउँमा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज बोहोरा, आठ महिनाका रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको शब एकैसाथ फेला परेको थियो । प्रहरीका अनुसार शव शुक्रबार भेटिए पनि बुधवार नै घटना भएको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापासहितको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो । थप अनुसन्धानका लागि शनिवार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको अर्को टोली पनि मुगु पुगेको छ भने जुम्लाबाट समेत प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा खटाइएको छ । सामुहिक हत्या भएको हुनसक्ने देखिएपछि आइतवार कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालसमेत घटनास्थल पुगेका छन् । प्रहरीले घटना भएको पूरै गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ । यद्यपि घटनाको कारण पत्ता लगाउने गरी कुनै प्रमाण फेला पर्न सकेको छैन । प्रहरीले निरन्तर विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछसहितको अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा कुकुरको प्रयोगसमेत गरिएको छ । प्रयोग गरिएका कुकुरले समेत अहिलेसम्म घटनासँग सम्बन्धित कुनै सुराक फेला पार्न सकेका छैनन् । प्रहरीले स्थानीयवासीसँग घटनाका बारेमा सोधपुछ गर्नुका साथै घटनास्थलमा प्रमाणका रूपमा भेटिनसक्ने सबै सामान नियन्त्रणमा लिएको छ । अनुसन्धानका सबै विधि अपनाइएको प्रहरीले जनाएको छ ।

शुक्रवार आफ्नै घरभित्र श्रीदेवीसहित चारजनाको शव फेला परेको थियो । केही दिनदेखि नै घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले शुक्रवार बिहान ताला फोडेर हेर्दा चारै जनाको शव भेटिएको थियो । श्रीदेवीका गहना र मोबाइल फोन समेत भेटिएको छैन । घटनाको प्रकृति हेर्दा लुटपाट गर्ने उद्देश्यले हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको आकलन प्रहरीको छ । घटनास्थल रगताम्मे रहेको हुनाले हत्या नै भएको दाबी गरिएको छ । घटनास्थल मुन्दु गाउँ मुगु सदरमुकाम गमगढीदेखि एक घण्टाको पैदल दुरीमा पर्छ । घटना निकै विभत्स र रहस्यमयी रहेको प्रहरीले जनाएको छ । जसको अनुसन्धान गरी दोषिलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

प्रकाशित मितिः   १५ कार्तिक २०८०, बुधबार ०५:०३