प्रमाणको खोजीमा प्रहरी
सुर्खेत: मुगुको छायानाथ रारा नगरपालिका–६, मुन्दु गाउँमा एकै परिवारका आमा र छोराछोरीसहित चार जनाको हत्या गरिएको आशंका गरिएपनि प्रहरीले स्पष्ट प्रमाण फेला पार्न सकेको छैन । शव भेटिएको एक हप्ता पुग्न लाग्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।
कार्तिक ८ गते राति अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज, आठ महिनाका रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक हत्या गरिएको थियो । अनुसन्धानमा खटिएको प्रहरीले हत्या भएको ६ दिनसम्म पनि कुनै ‘क्ल्यू’ फेला पार्न सकेको छैन । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको प्रहरीले हालसम्म ठोस प्रमाण फेला पार्न सकेको छैन ।
हत्यामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने गाउँभरी नै सोधपुछ र कुकुरसहितको तालिमप्राप्त टोलीले अनुसन्धानलाई तीव्र पारेको छ। प्रहरीले नियन्त्रणमा लिएकाहरूसँग पनि बलियो प्रमाण भने पाएको छैन । शव पोष्टमार्टम गरिसकिएको छ । दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान दिपक र उनका आफन्ले लिएका छन् ।
घटनाको ठोस प्रमाण नभएपनि अनुसन्धानमा दिनप्रतिदिन प्रगति हुँदै गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । प्रहरीले मसिनो ढंगबाट विभिन्न संयन्त्रको प्रयोग गरेर अनुसन्धान गरिरहेको उनले जनाए । दिनप्रतिदिन अनुसन्धानमा प्रगति भइरहेको भन्दै उनले केही दिनमा निचोड निस्किने जनाए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ढोकामा नयाँ ताला लगाइएको तथा घटनापश्चात् कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपकलाई श्रीदेवीले प्रयोग गर्दै आएको मोबाइलको म्यासेन्जरबाट छोराछोरीको शवसहितको फोटो पठाएको खुलेकोले पनि त्यसतर्फ अनुसन्धान गरिरहेको
जनाइएको छ ।
साझा बिसौनी ।