सग्लो समाजः सङ्लो राजनीति
विविधतामा एकता नेपाली समाजको विशेषता हो। जसले नेपाली समाजलाई सग्लो बनाएको छ। यही विशेषता कायम गर्नुमा राजनीतिको महŒवपूर्ण भूमिका हुन्छ। राजनीतिलाई सङ्लो बनाउन सकेमात्र समाज सग्लो रहन सक्छ। यही विषयमा केन्द्रित भइ कर्णाली उत्सवको चौथो संस्करणमा “सग्लो समाजः सङ्लो राजनीति” सत्र सञ्चालन गरिएको थियो। छलफलमा प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र अधिकारकर्मी मोहना अन्सारीले भाग लिएका थिए । सुशासनविद् अङगराज तिमिल्सेनाले छलफलको सहजीकरण गरेका थिए ।
कुनै कालखण्डमा राजनीतिज्ञलाई आदर्श पात्रको रूपमा हेर्ने गरिन्थ्यो जुन बेला संघर्षको चरण थियो । उनीहरू समाज बदल्ने नायक हुन् भन्ने सोच हुन्थ्यो । त्यो संघर्षको चरण सकिएपछि राजनीति अलमलमा प¥यो । न त राजनीतिले प्रष्ट आर्थिक सामाजिक एजेण्डा समात्न सक्यो । न राजनीतिक दलहरूले राजनीतिक कार्यदिशा प्रष्ट्याउन सके ।
अतः गहनतापूर्वक गरिएका कामकारबाहीबारे जनतालाई बुझाउन नसक्दा र गर्नुपर्ने विषयको प्राथमिकता निर्धारण गर्न नसक्दा कयौं परियोजना अलपत्र परेका छन् । यसरी शासन सञ्चालनका क्रममा भएका आर्थिक वा प्रशासनिक कमी कमजोरीहरूका कारण राजनीतिलाई हेर्ने दृष्टिकोण नै नकारात्मक भएको पाइन्छ ।
समाजले राजनीतिको आवश्यकताभन्दा बढी आलोचना गर्ने गरेको छ । राजनीतिज्ञले पनि नागरिक पंक्तिको नजरबाट आफुलाई हेर्नु जरुरी छ । समाज कति बदलिरहेको छ, समाजले हाम्रो बारेमा कस्तो सोच राखेको छ भन्ने परख गर्नुपर्छ । समाजको चाहना र आवश्यकता बमोजिम राजनीतिज्ञले आफूलाई रूपान्तरित गर्न नसक्दा पनि प्रश्नहरू उब्जिन्छन् ।
राजनीति फोहोरी खेल हो भनेर भन्न सजिलो छ तर राजनीतिमा रहेका मानिसहरू सबै एउटै छैनन् । हामीले समाजलाई समयको सापेक्षतामा विश्लेषण गर्नुपर्छ । अहिले हामी जहाँ छौँ जे छौँ त्यो अपर्याप्त नै छ । हामीसँगैका राष्ट्र कहाँबाट कहाँ पुगिसकेको छन् । यद्यपि, तुलनात्मक रूपमा हामी पछि नै छौँ । सँगसँगै हामी आफ्नै तुलनामा पनि जति गर्न सक्थ्यौँ त्यति गर्न सकेका छैनौँ । यसमा आत्मालोचित हुनुपर्छ । तर यो देश कहीँ बढेकै छैन, केही भएकै छैन, कुनै सम्भावनै छैन भन्नेतर्फ लाग्यौँ भने त्यसले युवापुस्तामा वितृष्णा पैदा गर्छ ।
कर्णालीले काठमाण्डौलाई दुई वटा कुरा सिकाउँछ । एउटा संयम र अर्को संघर्ष । आफू धेरै पछि पर्दै गर्दा खेरी पनि कर्णालीले जुन संयम सहित संघर्ष गरिराखेको छ त्यो काठमाण्डौले सिक्नुपर्छ । समाजमा हामीले संयम, संघर्ष, सहिष्णुता र सकारात्मक सोचलाई भौतिक प्रगति सँगसँगै लिएर जानुपर्छ ।
संस्थाहरू बन्नु र भत्कनुमा राजनीतिकको हात छ । राज्य निर्माणमा सही संस्थाहरू निर्माण हुनुपर्छ । तर राजनीति अपरिपक्वताका कारण हाम्रा संस्थाहरू सबल हुन सकेका छैनन् । राजनीतिक दल समाज विकासका एजेण्डालाई सम्बोधन गर्न सदैव तत्पर हुनुपर्छ । राजनीतिक दल चुनावी राजनीतिमा मात्रै केन्द्रित हुनुहुँदैन । र राजनीतिक दलबीच स्वच्छ राजनीतिक प्रतिष्पर्धा हुनु जरुरी छ ।
अर्को कुरा राजनीतिमा अवकास नीति भएन । त्यो भनेको एउटा व्यक्ति राष्ट्रपति बन्न पायो भने एक पटक मात्र सपथ ग्रहण गरोस् दोहो¥याउने होइन । यदि आउने ढोका थाहा छ फर्किने थाहा भएन भने मानिसमा भय पैदा हुन्छ र सबै संस्थामा आफ्नो मान्छे चाहिन्छ । अख्तियारमा आफ्नै मान्छे, न्यायलयमा आफ्नै मान्छे, निर्वाचन आयोगमा आफ्नै मान्छे हुनुपर्यो भन्ने छ । त्यो खालको भयबाट निश्चित समयमा अवकास प्राप्त गरेर मात्र संस्थाहरू बलियो बनाउन सकिन्छ ।
राजनीति गर्ने मान्छे भयङ्कर ठूलो हो वा सबै कुरा उही हो, देश बनाउने सबै कुरा उसले मात्रै गर्छ वा उसँग वौद्बिकता र योग्यता छ भन्ने होइन । हामीकहाँ राजनीति धेरै नै हाबी छ । तर देश बनाउने कर्ममा हरेक क्षेत्रका मानिसको योगदान छ ।
नेपालको राजनीतिक संघर्षको इतिहास असमानता र विभेदमा आधारित छ । विभिन्न कालखण्डमा त्यो असमानता र विभेदको अन्त्य भयो तर त्यसको मुनाफा जनताले प्रयोग गर्न पाएनन् । जनताले आफ्नो गास काटेर नेतृत्वलाई प्रजातन्त्रलाई, लोकतन्त्रलाई, गणतन्त्रलाई पनि हुर्काए । त्यो उदारता जनतामा थियो तर राजनीतिमा त्यो उदारता हामीले देख्न पाएनौ ।
त्यसका विभिन्न कारणहरू छन् । म दुई वटा कारण यहाँ राख्न चाहन्छु । पहिलो हो भौतिक कारण । जनताको आवश्यकता के थियो शिक्षा स्वास्थ्य रोजगारी भौतिक संरचना मनोविज्ञान आफु सुरक्षित छु छैन जनजीविका कस्तो छ । जनताले धेरै कुरा खोजेका छैनन् । आफ्नो घरलाई सिंहदरबार बनाइदिनु पनि भनेका छैनन् । तर यो भौतिक र मनोवैज्ञानिक दुरी यस्तो भैदियो की हामी अनौठो पाराले परनिर्भर हुँदै गयौँ भौतिक र मनोवैज्ञानिक रूपले पनि । राजनीति समाजको प्रतिविम्व हो राजनीति यदी सफा हुन्छ भने समाज पनि सफा हुन्छ । त्यसको प्रत्याभूति चाहिँ समाजले गर्न सकेको छैन । यो कुनै एउटा अमुक दल वा व्यक्तिको कुरा होइन । कानून वा नीतिका अभावहरू छन् । हामीले धरातलीय हिसाबबाट हेर्नुपर्छ ।
प्रवृत्ति समस्या हो या व्यवस्था समस्या हो भन्ने बुझ्नु पर्छ । मलाई लाग्छ अहिले हामीले जुन प्रवृत्ति विकास गरिरहेका छौँ त्यसमा समस्या छ । कानूनको शासन त सबैका लागि समान हो । यो पछिल्लो समय नेपालमा कानूनको शासन कमजोर भएको छ । कानुनी शासनको दलीयकरण भएको छ । त्यसैको कारणले विभिन्न विषयहरू जसबाट हामी नै जेलिएका छौँ । उदाहरणको लागि महिला तथा बालबालिका हिंसाका कुराहरू हेरौँ । यदि यस्ता हिंसामा न्याय गर्नको लागि अगाडि बढ्छौँ भने नातावादबाट शुरु हुन्छ । यस्तो अवस्थाको जबसम्म हामी अन्त्य गर्न सक्दैनौं तबसम्म कानूनी शासन स्थापित हुन सक्दैन । हाम्रो संस्थागत क्षयीकरणको मूल कारण पनि यही हो ।
नकारात्मकता पनि मानवीय स्वभाव हो । अहिलेको युवा जमातमा जुन किसिमको आक्रोश छ र वितृष्णा छ त्यसलाई सकारात्मकतर्फ मोड्नुपर्ने आवश्यकता छ । अबको समाजलाई जोड्ने बिन्दु भनेको युवा नै हो । त्यसैले युवामा सकारात्मकता भर्नु जरुरी छ ।
प्रकाशित मितिः १५ कार्तिक २०८०, बुधबार ०५:०४
कुडा कर्णालीका ।