बढ्दो अपराध
हरेक वर्ष चाडपर्वको समयमा आपराधिक घटना हुने गरेका छन् । यस वर्षको दसैँअवधिमै कर्णाली प्रदेशभर ६ जनाले ज्यान गुमाए । विभिन्न घटनामा उनीहरूको ज्यान गएको हो । गत शुक्रवार बिहान मुगुमा चार जनाको शव फेला प¥यो । उनीहरूको हत्या भएको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । घटनाको अनुसन्धानका लागि आइतवार प्रदेश प्रहरी प्रमुखसहितको टोली मुगु पुगेको छ । दसैँकै अवधिमा दैलेखमा छुट्टाछुट्टै भएका झडपमा दुई युवकको ज्यान गयो । त्यसैगरी गत बुधवार सल्यानमा ढोग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । यसरी दसैँ अवधिभर कर्णालीमा थुप्रै हिंसात्मक घटना भएका छन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यस वर्षको बडादसैँ अवधिभर ५८ वटा अपराधका घटना दर्ता भएका छन् । त्यसमध्ये ३४ वटा कुटपिट तथा झै–झगडाका घटना छन् । उक्त घटनामा ६ जनाको ज्यान गएको छ भने ३१ जना पक्राउ परेको प्रहरीले जनाएको छ । हरेक वर्ष दसैँलगायत चाडपर्वको समयमा आपराधिक घटना बढी नै हुने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा दसैँ अवधिभर ४४ वटा अपराधका घटना प्रहरीमा दर्ता भएका थिए । यस्तै आर्थिक वर्ष २०७९/०८० मा २५ घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ । त्यसो त चाडपर्वको समयमा मात्रै होइन पछिल्ला वर्षहरूमा आपराधिक घटनाहरू बढ्दै गएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णालीमा प्रत्येक वर्ष अपराधिक घटनाको संख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७७/०७८ मा एक हजार ६ सय ३७ वटा अपराधसम्बन्धीका मुद्दा दर्ता भएका थिए । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार पाँच सय ५५ मुद्दा दर्ता भएभने आर्थिक वर्ष २०७९/०८० मा एक हजार सात सय २९ अपराधका मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्षको यो अवधिसम्म चार सय ८० अपराधका मुद्दा दर्ता भइसकेका छन् ।
अपराधजन्य घटनामा वृद्धि भइरहँदा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाइएको जनाएको छ । प्रहरीले अदालतबाट दोषी ठहर भइ फरार रहेका दोषीलाई पक्राउ गरिरहेको छ । चोरी, बहुविवाह, कर्तव्य ज्यान र सार्वजनिक मुद्दामा अदालतले दोषी ठहराएर कैद सजाय र जरिवानाको फैसला सुनाइएका कसुरदार धमाधम समातिन थालेका छन् । अनुसन्धानलाई प्रभावकारी र अदालतको फैसला कार्यान्वयन, पीडितलाई न्याय अनुभूति तथा दोषीलाई कानुनी दायरामा ल्याउन घटना लगत्तै संलग्न व्यक्ति पक्राउ गर्ने कार्यलाई प्रभावकारी बनाउन सकेमा आपराधिक घटनाहरूमा कमी आउनेछ ।
प्रकाशित मितिः १४ कार्तिक २०८०, मंगलवार ०५:०३
सम्पादकीय ।