असुरक्षित चाडपर्व

सुर्खेत: गत शुक्रवार बिहान मुगुमा चार जनाको शव फेला प¥यो । छायाँनाथ रारा नगरपालिका वडा नं. ६ मन्दुमा शव फेला परेका हुन् । उनीहरूको हत्या भएको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले बताए । घटना गत बुधवार राती भएको तर प्रहरीलाई भने शुक्रवार मात्र खबर गरिएको जनाइएको छ ।
घटनाको अनुसन्धानका लागि आइतवार प्रदेश प्रहरी प्रमुखसहितको टोली मुगु पुगेको छ । घटनाको सत्यतथ्य छानबिनका लागि मुगु पुगेको प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले बताए । उनले भने, ‘घटनाको थप जानकारी अनुसन्धानपछि सार्वजनिक हुनेछ । अहिले अनुसन्धान भइरहेको छ ।’
दसैँकै अवधिमा दैलेखमा छुट्टाछुट्टै भएका झडपमा दुई युवकको ज्यान गयो । ज्यान जानेमा दैलेखको नारायण नगरपालिका वडा नं. ७ का २५ वर्षीय रोहन शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. २ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गत बिहीवार राति भैरवी गाउँपालिका वडा नं. ४ सिलङ्गी बजारमा युवाहरूबीच भएको झडपमा घाइते क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको हो । दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।
यस्तै दैलेखकै नारायण नगरपालिका वडा नं. ७ मा कार्तिक ७ गते राति युवाहरूबीच भएको झडपमा परी शाहीको मृत्यु भएको थियो । झडपमा घाइते भएका उनको पनि उपचारका क्रममा गत शुक्रवार प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । घटनामा संलग्न रहेको भन्दै चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी गत बुधवार सल्यानमा ढोग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका वडा नं. ७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओली रहेका छन् । उनलाई कार्तिक ४ गते भलिबल खेल्न गएको मैदानमा छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।
यसरी दसैँ अवधिभर कर्णालीमा थुप्रै हिंसात्मक घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यस वर्षको बडादसैँ अवधिभर ५८ वटा अपराधका घटना दर्ता भएका छन् । त्यसमध्ये ३४ वटा कुटपिट तथा झै–झगडाका घटना छन् । उक्त घटनामा ६ जनाको ज्यान गएको छ भने ३१ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
हरेक वर्ष दसैँलगायत चाडपर्वको समयमा आपराधिक घटना बढी नै हुने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा दसैँ अवधिभर ४४ वटा अपराधका घटना प्रहरीमा दर्ता भएका थिए । यस्तै आर्थिक वर्ष २०७९/०८० मा २५ घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।
आपराधिक घटनामा वृद्धि
त्यसो त चाडपर्वको समयमा मात्रै होइन पछिल्ला वर्षहरूमा आपराधिक घटनाहरू बढ्दै गएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णालीमा प्रत्येक वर्ष अपराधिक घटनाको संख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७७/०७८ मा एक हजार ६ सय ३७ वटा अपराधसम्बन्धीका मुद्दा दर्ता भएका थिए । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा एक हजार पाँच सय ५५ मुद्दा दर्ता भएभने आर्थिक वर्ष २०७९/०८० मा एक हजार सात सय २९ अपराधका मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्षको यो अवधिसम्म चार सय ८० अपराधका मुद्दा दर्ता भइसकेका छन् ।
अपराधजन्य घटनामा वृद्धि भइरहँदा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख भिमप्रसाद ढकालले बताए । उनका अनुसार प्रहरीले अदालतबाट दोषी ठहर भइ फरार रहेका दोषीलाई पक्राउ गरिरहेको छ । चोरी, बहुबिवाह, कर्तव्य ज्यान र सार्वजनिक मुद्दामा अदालतले दोषी ठहराएर कैद सजाय र जरिमानाको फैसला सुनाइएका कसुरदार धमाधम समातिन थालेको उनको भनाइ छ ।
अनुसन्धानलाई प्रभावकारी र अदालतको फैसला कार्यान्वयन, पीडितलाई न्याय अनुभूति तथा दोषीलाई कानुनी दायरामा ल्याउन घटना लगत्तै संलग्न व्यक्ति पक्राउ गर्ने रणनीति लिएको ढकालले जनाए । ‘प्रहरी युनिट, स्थानीय तह, सरकारी कार्यालय र अन्य संयन्त्र परिचालन गरी अन्य फरार कसुरदारको पनि खोजी भइरहेको छ’, उनले भने ।
प्रकाशित मितिः १३ कार्तिक २०८०, सोमबार ०५:०५
रजनी याेगी ।