मुगु घटना : पाँच दिनसम्म पनि फेला परेन प्रमाण
सुर्खेत: मुगुमा एकै परिवारका चार जनाको शव भेटिएको घटनाको प्रहरी अनुसन्धान चलिरहेको छ । तर घटना भएको पाँच दिन बितिसक्दासम्म पनि उक्त घटना हुनुको कारण प्रहरीले पत्ता लगाउन सकेको छैन । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको हुनसक्ने आकलन गरिए पनि कुनै प्रमाण फेला परेको छैन । जसले गर्दा प्रहरी कुनै टुँगोमा पुग्न समेत सकेको छैन ।
शुक्रवार मुगुको छायानाथरारा नगरपालिका–६ मुन्दु गाउँमा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज बोहोरा, आठ महिनाका रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको शव एकैसाथ फेला परेको थियो । प्रहरीका अनुसार शव शुक्रवार भेटिए पनि बुधवार नै घटना भएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापासहितको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो । थप अनुसन्धानका लागि शनिवार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको अर्को टोली पनि मुगु पुगेको छ भने जुम्लाबाट समेत प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा खटाइएको छ ।
सामुहिक हत्या भएको हुनसक्ने देखिएपछि आइतवार कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालसमेत घटनास्थल पुगेका छन् । चार दिनदेखि प्रहरीले घटना भएको पूरै गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ । यद्यपि, सोमवारसम्म पनि घटनाको कारण पत्ता लगाउने गरी कुनै प्रमाण फेला पर्न सकेको छैन । प्रहरीले निरन्तर विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछसहितको अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा कुकुरको प्रयोग समेत गरिएको छ । प्रयोग गरिएका कुकुरले समेत अहिलेसम्म घटनासँग सम्बन्धित कुनै सुराक फेला पार्न सकेका छैनन् ।
जिल्ला प्रहरीका कार्यालय (मुगु) का प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले हालसम्म घटनाको कारण र त्यसमा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला नपरेको जानकारी दिए । यद्यपि, अनुसन्धान भइरहेको उनले जनाए । ‘हामीले उच्च निगरानीसहित अनुसन्धान गरिरहेका छौँ’ थापाले भने, ‘हालसम्म कुनै प्रमाण फेला परेको छैन ।’ प्रहरीले स्थानीयवासीसँग घटनाका बारेमा सोधपुछ गर्नुका साथै घटनास्थलमा प्रमाणका रूपमा भेटिनसक्ने सबै सामान नियन्त्रणमा लिएको छ । अनुसन्धानका सबै विधि अपनाइएको प्रहरीले जनाएको छ ।
शुक्रवार आफ्नै घरभित्र श्रीदेवीसहित चार जनाको शव फेला परेको थियो । केही दिनदेखि नै घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले शुक्रवार बिहान ताला फोडेर हेर्दा चारै जनाको शव भेटिएको थियो । श्रीदेवीका गहना र मोबाइल फोनसमेत भेटिएको छैन । घटनाको प्रकृति हेर्दा लुटपाट गर्ने उद्देश्यले हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको आकलन प्रहरीको छ । घटनास्थल रगताम्मे रहेको हुनाले हत्या नै भएको दाबी गरिएको छ ।
वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिवार घर आइपुगेपछि सोही दिन चारै जनाको शव पोष्टमार्डमका लागि जिल्ला अस्पताल (मुगु) मा पु¥याइएको छ । दीपक वैदेशिक रोजगारीका लागि गत वर्ष कतार पुगेका थिए । दसैँका दिन श्रीदेवी र दीपकबीच भिडियोमा पनि कुराकानी भएको थियो । दीपकले हत्यारा पत्ता नलागेसम्म आफ्ना श्रीमती र छोराछोरीका शव नबुझ्ने अडान लिएपछि पोस्टमार्टम हुन सकेको छैन । घटनास्थल मुन्दु गाउँ मुगु सदरमुकाम गमगढीदेखि एक घण्टाको पैदल दुरीमा पर्छ ।
प्रकाशित मितिः १४ कार्तिक २०८०, मंगलवार ०५:०५
साझा बिसौनी ।