खेल पूर्वाधार विकास
आउँदो वर्ष कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । कर्णालीले पहिलो पटक यति ठूलो खेलकुद प्रतियोगिता आयोजनाको अवसर पाएको छ । त्यसका लागि तयारी पनि सुरु भइसकेको छ । विशेष गरेर पूर्वाधार निर्माणका काम अघि बढिसकेका छन् । प्रतियोगितालाई लक्षित गरेर प्रदेशमा खेल पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । प्रतियोगिताकै लागि प्रदेशका जिल्ला–जिल्लामा पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । भएका पूर्वाधारलाई मर्मत–सुधारसहित नयाँ पूर्वाधारको विकास गर्न लागिएको हो । कुन जिल्लामा के–के पूर्वाधार बनाउने र त्यसका लागि कति बजेट लाग्छ भन्ने विषयमा अध्ययन गरिएको थियो ।
खेलकूद पूर्वाधारमा कर्णाली कमजोर छ । पर्याप्त पूर्वाधार छैनन् । नयाँ बनाउनुपर्नेछ । एक वर्षभित्र दशौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक सबै पूर्वाधार तयार पारिसक्नुपर्ने चुनौती छ । दैलेख र रूकुमपश्चिममा भएका कभर्डहलको मर्मत गरिने भएको छ । कभर्डहल मर्मतका लागि लागत अनुमान तयार भएको छ । रूकुमपश्चिममा कभर्डहलका लागि करिब २२ लाखको लागत अनुमान छ । दशौँ राष्ट्रिय खेलकुदको मापदण्डमा कभर्डहल मर्मत गरिनेछ । यस्तै दैलेखमा बनेको कभर्डहलको समेत मर्मत गर्न लागिएको छ । राष्ट्रिय मापदण्ड अनुसार कभर्डहल मर्मत गरिने भएको हो । मर्मतका लागि १५ लाखको लागत अनुमान तयार भएको छ । कभर्डहल मर्मत गरेर तयारी खेलसमेत खेलाइने छ । जुम्ला र हुम्लामा पनि खेल मैदान निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । जाजरकोट र कालीकोटमा थप बजेटको व्यवस्था गरेर नयाँ कभर्डहल निर्माणको प्रक्रिया अघि बढाइएको छ । पालिकास्तरमा पनि खेलकुदका संरचना निर्माण भइरहेका छन् । रूकुमपश्चिमको सानी भेरी गाउँपालिकाले पालिकास्तरीय रंगशाला निर्माण सुरु गरेको छ । तीन तहका सरकारको संयुक्त लगानीमा खेलकुद रंगशाला बनाउन लागिएको हो ।
पूर्वाधारविना खेलकुद प्रतियोगिता सञ्चालन गर्न सम्भव छैन । वीरेन्द्रनगरस्थित प्रदेश गौरवको रंगशाला निर्माणको काम पनि अन्तिम चरणमा पुग्न थालेको छ । हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ । अन्तर्राष्ट्रियस्तरको कभर्डहलको ‘स्टक्चर’ को सबै काम सम्पन्न भएको छ । फुटबल मैदानको काम पनि सकिएको छ भने प्याराफिट निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको छ । अहिले आन्तरिक भित्रि बाटो निर्माण, पार्किङ स्थल निर्माण, व्यापारिक सटर निर्माण र मार्सल आट्र्सको कभर्डहल निर्माणको काम धमाधम भइरहेको छ । कामको गति हेर्दा निर्धारित समयभित्रै आवश्यक पूर्वाधार तयार हुने अपेक्षा गर्न सकिन्छ । विनाकुनै अवरोध काम भएमा कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर सफल हुनेछ ।
प्रकाशित मितिः १ कार्तिक २०८०, बुधबार ०७:३८
सम्पादकीय ।