तीन महिने प्रगति सार्वजनिक
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तीन महिने उपलब्धि सार्वजनिक गरेका छन् । मंगलवार पत्रकार सम्मेलन गरेर चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा प्रदेश सरकारबाट सम्पादन भएका कार्य प्रगति सार्वजनिक गरेका हुन् ।
कार्यप्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शर्माले न्यून बजेट र जनशक्तिको अभावका बीच प्रदेश सरकारले कर्णालीका जनताहरूको आर्थिक सम्पन्नता र सामाजिक न्यायको प्रत्याभुतिमा अहोरात्र खटिरहेको बताएका छन् । उनले भने, ‘न्यून बजेट, कम जनशक्ति अभावकाबीच काम गरिरहेका छौँ । सरकारले जनभावनाअनुसार नै काम अघि बढाइएको छ ।’
चालु आर्थिक वर्षको नीति तथा बजेट निर्माण र स्वीकृति भइ कार्यान्वयनको चरमा रहेको, लगानी सम्मेलनको तयारी भइरहेको, आफ्नो स्वीजरल्याण्ड भ्रमणमा प्रदेशको आर्थिक विकासका लागि प्रस्ताव तयारी गरी लगानीका लागि छलफल भइरहेको, विभिन्न खाले प्राकृतिक विपदमा परी क्षति पुगेका कृषकहरूलाई ६ करोड राहत उपलब्ध गराउन गरिएको निर्णयलाई मुख्यमन्त्री शर्माले आफ्ना प्रमुख उपलब्धिमा राखेका छन् ।
त्यसैगरी यस अवधिमा प्रदेशसभाबाट कर्णाली प्रदेश विनियोजन ऐन, कर्णाली प्रदेश आर्थिक ऐन, कर्णाली प्रदेश निजामती सेवा ऐन तथा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन पारित भएको, तीन वटा सभामा दर्ता भइ विषयगत समितिमा छलफल भइरहेको तथा नौ वटा विधेयकको मस्यौदा निर्माण गर्ने कार्य भइरहेको मुख्यमन्त्री शर्माले जनाए ।
प्रदेश सरकारले लिएको ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’को उद्देश्य पूरा गरी सरकारलाई जनउत्तरदायी बनाउनका लागि प्रदेश सरकारले सम्पादन गरेका कार्यहरूलाई मुख्यमन्त्री शर्माले ४४ बुँदामा समावेश गरेर कार्यप्रगति सार्वजनिक गरेका छन् । पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनका क्षेत्रमा पनि प्रदेश सरकारले चरणबद्ध रूपमा योजना बनाएर काम गरिरहेको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको चरणमा रहेको छ । दश हजारलाई रोजगारी दिने योजना कार्यन्वयनको चरणमा रहेको उनले जानकारी दिए । प्रदेश सरकारको यो कार्यक्रम प्रक्रियाकै चरणमा रहेकाले देखिनेगरी काम गर्न बाँकी नै रहेको मुख्यमन्त्री शर्माको भनाइ छ ।
प्रकाशित मितिः १ कार्तिक २०८०, बुधबार ०७:३७
साझा बिसौनी ।