इआइएमै अल्झियो फुकोट–कर्णाली

सुर्खेत: फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना वातावरणीय प्रभाव मूलयांकन (इआइए) मै अल्झिएको छ । विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगेको प्रतिवेदन उक्त मन्त्रालयले स्वीकृत गरेको छैन । इआइए स्वीकृत नहुँदा अध्ययनका सबै काम सकेर पनि आयोजनाले ‘जेनेरेसन लाइसेन्स’ पाउन सकेको छैन ।

विद्युत उत्पादन कम्पनीले इआइए प्रतिवेदन स्वीकृतिका लागि करिब नौ महिना अघि ऊर्जा मन्त्रालय पठाएको थियो । ऊर्जाले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाएको दुई महिना पुगिसकेको छ । वन मन्त्रालयले स्वीकृति दिएपछि प्रतिवेदनले अन्तिम रूप पाउने छ ।

आयोजनाको विस्तृत डिजाइन र अध्ययन पूरा गरिसकेको आयोजना प्रमुख हिरामान वाइबाले जानकारी दिए । ‘हामीले सम्भाव्यता, डिटेल डिजाइन, बिडिङ डकुमेन्टलगायतका काम सकिसकेका छौँ’ उनले भने, ‘इआइए रिपोर्ट स्वीकृति हुने अन्तिम चरणमा छ ।’

२०७५ सालमा आयोजनाको सर्वेक्षणका लागि विद्युत विकास विभागले अनुमति दिएको थियो । कालीकोटमा निर्माण हुने चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चार वर्ष लगाएर तयार भइसकेको छ । सन् २०२२ मै डीपीआरको काम सकिएको थियो । डीपीआर र इआइएको काम सम्पन्न भएको आयोजना प्रमुख हिरामान वाइबाले बताए । तर इआइए प्रतिवेदन मन्त्रालयमा अड्किएको छ ।

प्रस्तावित आयोजनाको बाँधको दायाँतर्फको भाग सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ३ मा पर्छ । बायाँतर्फको भाग खाँडाचक्र नगरपालिका वडा नं. ११ मा रहनेछ । मुख्य बाँधको उचाइ जगदेखि एक सय ६० मिटर तथा नदीको पिधको स्तरबाट एक सय नौ मिटर हुनेछ । बाँधको माथिल्लो भाग (क्रेस्ट) को लम्बाइ तीन सय १३ मिटर र चौडाइ दश मिटर हुनेछ ।

प्रस्तावित आयोजनाका केही पूर्वाधारका काम भने भइरहेका छन् । कार्यालयको भवन निर्माण, गेष्ट हावस निर्माण, वाल निर्माण र पहुँच मार्ग विस्तारलगायतका काम धमाधम भइरहेका छन् । पावर हावस भने यसअघि नै निर्माण गरिसकिएको छ । आयोजना प्रमुख वाइबाका अनुसार इआइए स्वीकृत हुने वित्तिकै ‘जेनेरेसन लाइसेन्स’ का लागि विद्युत विकास विभागमा अनुमतिका लागि निवेदन पेस गर्नेगरी काम भइरहेको छ ।

९२ प्रतिशत जग्गा अधिग्रहण

आयोजना निर्माणका लागि भने जग्गा अधिग्रहण भइसकेको छ । ९२ प्रतिशत जग्गा अधिग्रहणको काम सकिएको छ । दोभान क्षेत्रबाहेकको जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको छ । हालसम्म करिब नौ सय रोपनी जग्गा अधिग्रहण भइसकेको वाइबाले बताए । जग्गा अधिग्रहणमा ४५ करोड रूपैयाँ खर्च भइसकेको छ । आयोजनाका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण हुनेछ ।

कालीकोटको सानीत्रिवेणी गाउँपालिका–३ सिस्नेगाडामा पाँच सय २० मिटरको परीक्षण सुरुङ खनेर एक सय ६० मिटर अग्लो बाँध निर्माण गरी १३.५ किलोमिटर सुरुङबाट सानीको भौतेगाडामा निर्माण हुने विद्युत आयोजनामा जोड्ने योजना छ । निर्माण सुरु भएको पाँच वर्षभित्र पूरा गरिने छ । विद्युतको अधिकतम् माग हुने समयमा सञ्चालन गर्ने उद्देश्यका साथ यो आयोजना निर्माण गर्न लागिएको हो ।

 

९२.३ अर्ब लागत अनुमान

आयोजना निर्माणको जिम्मा भने भारतीय सरकारी कम्पनीले पाएको छ । नेपालको सरकारी कम्पनी विद्युत उत्पादन कम्पनीले बनाउन लागेको यो आयोजनामा अब भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इण्डिया लिमिटेडको पनि लगानी हुनेछ । विद्युत उत्पादन कम्पनी र एनएचपीसी इन्डिया लिमिटेड कम्पनी मिलेर छुट्टै कम्पनी खडा गरी सोहीमार्फत आयोजना निर्माणको काम अघि बढाउने तयारी भएको आयोजना प्रमुख वाइबाले जानकारी दिए । एमओयूको मस्यौदाअनुसार एनएचपीसीको ५१ र भीयूसीएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी छ । आयोजनाको व्याजदरसहित ९२ अर्ब रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मितिः   १ कार्तिक २०८०, बुधबार ०७:४१