यात्रुलाई सास्ती

घटस्थापनासँगै यस वर्षको दसैँ पनि घरघरमा भित्रिसकेको छ । अध्ययन वा कामका सिलसिलामा घरबाहिर रहेकाहरू दसैँ मनाउनका लागि आ–आफ्ना घर फर्कदैछन् । विशेष गरेर शहरबाट गाउँ जानेहरूको संख्या ठूलो छ । मानिसहरूको भिडभाड बढेको छ । केही दिनयता बसपार्कको दृश्य नै बदलिएको छ । दसैँ नजिकिएसँगै यात्रुहरूको चाप ह्वात्तै बढेको छ । वीरेन्द्रनगर बसपार्कमा पनि जता हे¥यो त्यतै मानिसहरूकै ताँती देखिन्छ । कोही लाइनमा उभिएका छन्, कोही यताउता दौडिरहेका छन् । कोही कसैलाई पर्खिरहेका छन् भने कोही हतारमा देखिन्छन् । दसैँ मनाउन घर फर्किनेहरूको भिडले बसपार्कमो बेग्लै रौनक छाएको छ ।

यद्यपि, यही रौनकबीच यात्रुहरूलाई सास्ती पनि भएको छ । कतिले टिकट नै पाएका छैनन् । टिकटै लागि बसपार्क धाइरहनु परेको उनीहरूको गुनासो छ । घटस्थापनासँगै यात्रुको चाप बढेको छ । यात्रुको चाप बढ्दा टिकट काट्न समेत घण्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । अध्ययन, जागिर र व्यवसायको लागि जुम्ला, कालीकोट, दैलेख, मुगु, डोल्पा, हुम्ला, रूकुमपश्चिम, सल्यान, जाजरकोटलगायतका जिल्लाका नागरिकहरू सुर्खेतमा रहेका छन् । रोजगारीका लागि भारत र अध्ययनका लागि विभिन्न जिल्ला पुगेका विद्यार्थीहरूको घुइचो पनि उत्तिकै देखिन्छ । बसपार्कमा विशेष गरि दैलेख र कालिकोटको टिकट काउन्टरमा यात्रुको भिड बढी नै थियो । सबै भन्दा बढि दैलेख जाने यात्रुहरू हुने गर्दछन् । सुर्खेतबाट दैलेखका विभिन्न ठाउँका लागि नियमित रूपमा दैनिक २८ वटा बस छुट्ने गर्दछ । तर दसैँको बेलामा थप गाडीको व्यवस्था गरिएको छ । नियमित क्यु भन्दा बाहेक प्रत्येक रुटमा १०–१२ वटा गाडी थप गरिएको छ । कर्णालीका दशवटै जिल्लामा प्रत्येक रुटमा नियमित क्यु भन्दा १०–१२ गाडी थप गरिएको जनाइएको छ । शनिवार कर्णाली रजमार्गमा नियमीतभन्दा करिब ३० प्रतिशत बढी गाडी गुडेका थिए । आइतवार, सोमवारदेखि त्यो भन्दा बढी चाप हुनसक्छ । यस्तै नेपालगञ्जबाट सुर्खेत आउने गाडीमा सीट क्षमताभन्दा बढी यात्रु ल्याउँदा आइतवार मात्र १७ वटा गाडी बबईमा रोकिएका थिए ।

हरेक वर्ष दसैँको समयमा घर फर्किने नागरिकहरूले अनेक सास्ती बेहोर्नुपर्दछ । न हवाई सेवाको यात्रा सहज रूपमा गर्न पाउँछन् न सडकयात्रा सहज हुन्छ । टिकट पाउनकै लागि कैयन् दिन बसपार्क धाउनुपर्ने अवस्था त एकातिर छँदैछ अर्कोतिर सवारी साधनको संख्यासमेत न्यून हुँदा अझ अप्ठेरो हुने गरेको छ । त्यसमाथि यस्तो समयमा दुर्घटनाको जोखिम पनि बढि हुने गरेको छ । त्यसैले यात्रुहरूलाई सहज सेवा प्रदान गर्न सवारी साधनको संख्या थप्नुका साथसाथै क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति निरुत्साहित गरेर दुर्घटनाको जोखिम न्यूनिकरण गर्न उत्तिकै जरुरी छ ।

प्रकाशित मितिः   ३० आश्विन २०८०, मंगलवार ०५:०३