खेल पूर्वाधार निर्माणमा तीव्रता
सुर्खेत: कर्णाली प्रदेशमा खेल पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी वर्ष आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको हो । प्रतियोगिताकै लागि प्रदेशका जिल्ला–जिल्लामा पूर्वाधार निर्माणको काम सुरु गरिएको छ ।
भएका पूर्वाधारलाई मर्मत–सुधारसहित नयाँ पूर्वाधारको विकास गर्न लागिएको हो । कुन जिल्लामा के–के पूर्वाधार बनाउने र त्यसका लागि कति बजेट लाग्छ भन्ने विषयमा अध्ययन गरिएको थियो । दैलेख र रूकुमपश्चिममा भएका कभर्डहलको मर्मत गरिने कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । उनका अनुसार कभर्डहल मर्मतका लागि लागत अनुमान तयार भएको छ । रूकुमपश्चिममा कभर्डहलका लागि करिब २२ लाखको लागत अनुमान छ । तत्काल कभर्डहल मर्मतको काम सुरु गरिने जिल्ला खेलकुद विकास समिति रूकुमपश्चिमका अध्यक्ष शैलेस शर्माले बताए । ‘तत्काल कभर्डहल मर्मतको काम सुरु गर्छौँ’ उनले भने, ‘करिब २२ लाखको लागत अनुमान रहेको छ । दशौँ राष्ट्रिय खेलकुदको मापदण्डमा कभर्डहल मर्मत गरिनेछ ।’ २०७२ मा रूकुमपश्चिममा कभर्डहल निर्माणको काम थालिएको थियो ।
यस्तै दैलेखमा बनेको कभर्डहलको समेत मर्मत गर्न लागिएको छ । राष्ट्रिय मापदण्ड अनुसार कभर्डहल मर्मत गरिने भएको हो । मर्मतका लागि १५ लाखको लागत अनुमान तयार भएको सदस्य सचिव सञ्ज्यालले जानकारी दिए । कभर्डहल मर्मत गरेर तयारी खेलसमेत खेलाइने छ ।
जुम्ला र हुम्लामा पनि खेल मैदान निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको सञ्ज्यालले जानकारी दिएका छन् । जाजरकोट र कालीकोटमा थप बजेटको व्यवस्था गरेर नयाँ कभर्डहल निर्माणको प्रक्रिया अघि बढाइएको छ । पालिकास्तरमा पनि खेलकुदका संरचना निर्माण भइरहेका छन् । रूकुमपश्चिमको सानी भेरी गाउँपालिकाले पालिकास्तरीय रंगशाला निर्माण सुरु गरेको छ । तीन तहका सरकारको संयुक्त लगानीमा खेलकुद रंगशाला बनाउन लागिएको हो । प्रदेश सरकारको २० लाख र संघीय सरकारको १५ लाख, गाउँपालिकाको १३ लाख लागतमा खेलकुद रंगशाला निर्माण गरिएको हो । पालिकास्तरीय खेदकुद रंगशालाको काम भइरहेको गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले बताए । २०७८ बाट खेलकुद रंगशालाको निर्माण थालिएको हो । डिपीआरअनुसार १३ करोडको लागत अनुमान छ ।
प्रदेश रंगशालाको ६५ प्रतिशत काम सम्पन्न
वीरेन्द्रनगरस्थित प्रदेश गौरवको रंगशाला निर्माणको काम पनि अन्तिम चरणमा पुग्न थालेको छ । हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको छ । अन्तर्राष्ट्रियस्तरको कभर्डहलको ‘स्टक्चर’ को सबै काम सम्पन्न भएको छ । फुटबल मैदानको काम पनि सकिएको छ भने प्याराफिट निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको छ । अहिले आन्तरिक भित्रि बाटो निर्माण, पार्किङ स्थल निर्माण, व्यापारिक सटर निर्माण र मार्सल आट्र्सको कभर्डहल निर्माणको काम धमाधम भइरहेको छ ।
प्रदेश रंगशालामा १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ । फुटबल मैदानका साथै भलिबल कभर्डहल, एथलेटिक्स ट्रयाक र स्विमिङ पुल निर्माणका काम भइरहेका छन् । त्यस्तै, भीआईपी प्याराफिटको दुईतले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङसहित एक हजार पाँच सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण हुने परिषद्ले जनाएको छ ।
प्रदेश रंगशालामै ह्यान्डबल र बासकेट बललगायत खेलका लागि आउटडोर पनि बनाइनेछ । निर्माण थालिएका सबै संरचना प्रतियोगिता हुनुअगावै पूर्णरूपमा तयारी अवस्थामा राखिने गरी तयारीमा लागेको हो । सञ्ज्यालका अनुसार प्रदेश रंगशाला २०८१ जेठ ११ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । तोकिएको समयसिमाभित्र निर्माणाधीन रंगशाला सम्पन्न हुने दावी सदस्य सचिव संज्यालले गरेका छन् । हालसम्म तोकिएकै समयमा कामहरू भइरहेको समेत उनले जानकारी दिए ।
रंगशालाको वित्तीय प्रगति ६० प्रतिशत भएको जनाइएको छ । हालसम्म ९० करोड खर्च भइसकेको भइसकेको छ । रंगशाला निर्माण सम्पन्न गर्नका लागि एक अर्ब ४७ लाख ४७ हजार ६ सय रूपैयाँ लागत लाग्ने छ ।
चार्डपर्वमा पनि काम नरोकिने दसैँ–तिहार जस्ता चार्डपर्वमा समेत रंगशाला निर्माणको काम नरोकिने भएको छ । एक÷दुई दिन केही कामदार विदामा गएपनि काम भने चलिरहने परिषद्का सदस्य सचिव सञ्ज्याल बताउँछन् । अहिले रंगशालामा करिब डेढ सयको हाराहारीमा कामदार छन् । तोकिएमै मितिमा काम सम्पन्न गर्नका लागि काम रफ्तारमा भइरहेको उनको भनाइ छ । कामदार थप गर्ने उपकरण ल्याउने लगायतका काम चलिरहेको छ । सञ्ज्याल भन्छन्,‘रातदिन, चार्डपर्व नभनेर काम गरिरहेका छौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न पूर्वाधार नै प्रमुख भएकाले त्यसै अनुरूप काम भइरहेको छ ।’
प्रकाशित मितिः ३० आश्विन २०८०, मंगलवार ०५:०५
रजनी याेगी ।