कुडा कर्णालीका

कर्णालीमा लगानी

कर्णाली प्रदेशमा उद्योगधन्दाको प्रशस्त सम्भावना रहेको छ । यद्यपि, यहाँको भौगोलिक कठिनाइ र अन्य पूर्वाधारको अभावमा अपेक्षित लगानी हुन सकेको छैन । यही विषयमा केन्द्रित भइ कर्णाली उत्सवको चौथो संस्करणमा कर्णालीमा लगानी सत्रको आयोजना गरिएको थियो । छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल (तत्कालीन बरिष्ठ उपाध्यक्ष), गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. बलराम पाठक, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही र चेम्बर अफ कमर्स कर्णाली प्रदेशका अध्यक्ष लक्ष्मण न्यौपाने छलफलमा सहभागि भएका थिए । सत्रको सहजीकरण पत्रकार निर्मला शर्माले गरेकी थिइन् ।

 


चन्द्र ढकाल

हामीले २२ वर्ष अघि आइएमई स्थापना गरी नेपालमा औपचारिक तबरबाट रेमिट्यान्स भिœयाउन सुरु गरेको हो । जसले गर्दा वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूलाई नेपालमा पैसा पठाउन धेरै सजिलो भयो । यो एउटा महŒवपूर्ण खुड्किलो हो ।

अर्को, नेपालमा साँच्चै सम्भावना भएको क्षेत्र भनेको पर्यटन हो । पर्यटन विकासका लागि हामीले सातै प्रदेशमा पर्यटन पूर्वाधार बनाउनुपर्छ भनेर काम गरेका छौँ । हामीले काठमाडौंको चन्द्रागिरीलाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लागेका छौँ । अन्य प्रदेशमा पनि हामी यस्तै परियोजनाको खोजीमा छौँ ।

नेपालको हाइड्रोपावर क्षेत्रमा प्राय धेरै व्यावसायिक घराना लागेको छ । हामी पनि एनआरएनएसँग संयुक्त रूपमा लागेका छौँ । निजी क्षेत्रको छाता संगठनको नेतृत्वमा रहँदा मैले ७७ जिल्लामा कम्तीमा ७७ वटा सम्भावित आयोजनाहरू सञ्चालन गर्ने लक्ष्य लिएको छु । ति परियोजना पर्यटन, कृषि वा पूर्वाधारसँग सम्बन्धित हुन सक्छन् र त्यस्ता आयोजनाको स्वामित्व स्थानीय जनतालाई समेत दिनुपर्छ । यसले स्थानीय आर्थिक विकासलाई समेत प्रवद्र्धन गर्छ ।

कर्णालीमा अवसर हुँदाहुँदै पनि धेरै लगानी हुन सकेको छैन । नेपालमा लोकतन्त्र आएपनि सरकारले सरोकारवालाहरूसँग पर्याप्त छलफल गर्न सकेको देखिँदैन । कार्यान्वयन गर्नुपर्ने नीति एउटा हुन्छ तर काम अर्कैतिर हुन्छ । नीति परिमार्जनको अभ्यास पनि समय सापेक्ष हुन सकेको छैन । पूर्वाधार विकास या लगानीका विषयमा झनै पर्याप्त छलफल हुन सकेको छैन । अर्कोतर्फ सरकारी नीति नागरिकले बुझ्नेगरी नै आउँदैन । जसले गर्दा सोचेजस्तो नीतिगत परिणाम निस्कँदैन । यस्तै विभिन्न मन्त्रालय, विभाग र निकायबीच सहकार्य नहुँदा लगानीकर्ता उत्साहित हुन सकेका छैनन् ।

वास्तवमा कर्णाली प्रदेश धेरै सम्भावना भएको ठाँउ हो र यहाँ लगानी गर्ने सवालमा हामी धेरै अघि बढिसकेका छौँ । यद्यपि, सरकारी तवरबाट हुने प्रक्रियागत झन्झटका कारण चाहेको समयमा काम हुन सकेको छैन । विकास निर्माणका लागि सरकारी प्रक्रियाहरू जति छोटो हुन सक्यो त्यति छिटो हुन्छ ।

हामीले कर्णालीको चिसापानीमा एक डेढ वर्षको बीचमा केवलकार सञ्चालनमा ल्याउने तयारीमा छौँ । यस्तै कर्णालीका अन्य क्षेत्रमा समेत पर्यटन पूर्वाधार विकासको काम अघि बढाएका छौँ । म कर्णालीको विकासमा सहकार्य गर्न सदैव तत्पर छु ।


 

जीवा लामिछाने

नेपालमा व्यापार स्थानान्तरण गर्नुपर्छ भनेर हामीले सानिमा हाइड्रोपावर सुरु ग¥यौँ । त्यसपछि सानिमा बैंक तथा बीमा कम्पनीलगायत केही अस्पतालमा पनि लगानी गरेका छौँ । हाल सानिमा ग्रुप अन्तर्गत हामीले तीन वटा जलविद्युत आयोजना सम्पन्न गरेका छौँ । हामीकहाँ लगानीमैत्री नियम कानुन त छन् तर पनि सोचेजस्तो लगानी आकर्षित हुन सकेका छैनन् । गैरआवासीय नेपाली ऐन २०६४ ले विदेशमा बस्ने नेपालीहरूको लगानीलाई वैदेशिक लगानी सरह मान्ने भनेको छ । तर विधिको शासनको अभाव छ ।

यस बुलबुले उद्यानमा पञ्चायतकालमा नै ३४ विघा जग्गामा उद्यान बनिसकेको छ र यसमा उर्वर जमिन पनि छ अनुकूल मौसम छ यति सब हुँदा पनि हामीसँग इच्छा शक्ति नभएको हो कि जस्तो मलाई लाग्छ । यहाँ पनि हामीले धेरै काम गर्न सक्छौँ । यो सब गर्न कानुन र व्यवहारबीच तालमेल छैन । कर्णाली प्रदेशमा लगानीका धेरै सम्भावनाहरू छन् । हामीले लगानीको लागि पहिलो प्रोजेक्टको रूपमा केही तयारी गरेका छौँ । कर्णालीमा विकासका सबै सूचकमा पछाडी छन् । यसका लागि अरु प्रदेशको बराबरमा नपुग्दासम्म कर्णालीलाई विशेष सुविधाहरू दिएर यहाँ उद्योग खोल्न प्रेरित गर्नुपर्छ ।

 

 


 

डा. बलराम पाठक

राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेशमा विभिन्न शाखामार्फत् मागबमोजिम लगानी गर्ने गरेको छ । यद्यपि, यहाँ लगानीका क्षेत्र धेरै छन् । त्यसका लागि यहाँको सम्भाव्यता अध्ययन गरेर थप लगानी गर्नुपर्छ ।

बैंकले उद्यम स्थापनामा लगानी नगरेसम्म जनताको जीवनस्तर उठाउन सकिँदैन । तर लगानी गरिसकेपछि त्यसको प्रतिफल कति आउँछ भन्ने कुरा महŒवपूर्ण हुन्छ । जनताले धेरै सेवा सुविधाको अपेक्षा गर्छन् तर लगानीकर्ताले मुनाफा हेर्छ । यसका लागि लगानीमैत्री वातावरण बनाउनुपर्छ । त्यसमा सरकारले सुरक्षा प्रबन्ध पनि मिलाउनुपर्छ ।

कर्णालीको कुरा गर्दा सरकारले छुट्याएको पैसा पनि समयमै खर्च हुन सकेको देखिँदैन । कूल बजेटको ३०/४० प्रतिशत मात्र लगानी भएको छ । यसले के देखाउँछ भने पैसा भएर पनि हामी लगानी गर्न सक्दैनौँ । प्रतिफल पाउने त कुरै भएन । हाम्रा नियम कानुनहरू पनि लगानीमैत्री छैनन् । सरकारले यसमा विशेष ध्यान दिनुपर्छ । बढ्दो भ्रष्टाचार हाम्रो अर्को समस्या हो । यसले धेरै प्रगति हुनबाट हामीलाई रोकेको छ । लगानीमैत्री वातावरण बनेमात्र औद्योगिकीकरण सुरु हुन्छ । विभिन्न क्षेत्रमा लगानी भित्रिएमा सबै क्षेत्रको समविकास हुन्छ ।

बैंकको ब्याज कति हुने भन्ने कुरा माग र पूर्तिमा भर पर्ने कुरा हो । पैसाको माग धेरै भए व्याज पनि धेरै हुन्छ र माग कम हुँदा ब्याजदर पनि कम हुन्छ । कर्णाली प्रदेशमा प्रशस्त लगानीको सम्भावना छ । दुध, अण्डा, मासु, फलफूल, तरकारी आदिमा लगानी गर्न सकिन्छ । अर्को महŒवपूर्ण क्षेत्र भनेको जलविद्युत र पर्यटन नै हो । कर्णाली प्रदेशमा जलविद्युतको विकासबाट दैनिक एक अर्ब ५० करोड रूपैयाँ कमाउन सकिन्छ ।

यहाँ सजिवनबाट डिजेल निकाल्ने परियोजना तथा हर्बल क्षेत्रमा लगानी गर्न सकिन्छ ।


 

लक्ष्मण न्यौपाने

लगानीको पहिलो शर्त हो मुनाफा । जहाँ मुनाफा हुन्छ त्यहाँमात्र लगानीकर्ता आउने हो । त्यसैले कर्णालीमा लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले विशेष ध्यान दिनुपर्छ । कर्णालीमा लगानीका धेरै सम्भावनाहरू छन् । यहाँ ढुङ्गा, तामा र फलामका खानी छन् । हामीले समग्र प्रदेश विकासको गुरुयोजना निर्माण गर्नुपर्छ भन्ने लाग्छ ।

कर्णालीको विरासतलाई जोगाउँदै विभिन्न सामाजिक तथा आर्थिक क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धानमा ध्यान दिनुपर्छ । कर्णाली खस भाषा र संस्कृतिको उद्गम क्षेत्र हो । यसलाई हामीले पर्यटनको आधार बनाउनुपर्छ । पर्यटनको विकास नै समृद्ध कर्णालीको स्रोत हो । त्यसका लागि हामीले यहाँका पर्यटकीय स्थलहरूको जगेर्ना गर्दै जानुपर्छ । सडक सञ्जाल र बिजुली विकासको क्षेत्रमा सरकारले लगानी गर्नुपर्छ । प्रदेशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई पनि सँगसँगै हिँडाउनुपर्छ ।

 


 

 

पदमबहादुर शाही

कर्णाली प्रदेशमा लगानीको प्रशस्त सम्भावना छ । यहाँ उच्च मूल्य भएका कृषिजन्य उत्पादन छन् जुन अन्यत्र हुँदैन । कर्णालीमा जलश्रोतको उत्तिकै सम्भावना छ । र, यो जडिबुटीको भण्डार नै हो । यहाँ करिब सात सय प्रकृतिका जडिबुटीहरू पाइन्छ ।

पर्यटनका हिसाबले हेर्दा यहाँ दुई वटा राष्ट्रिय निकुञ्ज छन् । ¥याफ्टिङ र प्याराग्लाइडिङजस्ता साहसिक पर्यटनका साथै धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना छ । जनशक्तिको उपलब्धता पनि कर्णालीको विकासमा सहयोगी हुन सक्छ । त्यसका लागि कर्णाली प्रदेशस्थित विश्वविद्यालयहरूसँग सहकार्य गरेर दक्ष जनशक्ति निर्माणमा निजी क्षेत्रले चासो देखाउनुपर्छ ।

हाम्रो प्रमुख समस्या भनेको आवश्यक पूर्वाधारको कमी हो । यसका अलावा लगानीकर्ताहरूलाई नीतिगत अन्यौल पनि कायमै छ । कर्णालीमा सञ्चालन हुने ठूला आयोजना भनेका चौकुने सिमेन्ट उद्योग र माथिल्लो कर्णाली जलविद्युत आयोजना हो । तर ति दुवै आयोजनाको अवस्था नाजुक छ । उक्त आयोजनाहरू छिटो निर्माण गर्नेतर्फ ध्यान दिनुपर्छ ।

हामीले भोगेको अर्को ठूलो समस्या भनेको प्रदेश सरकार र स्थानीय सरकारसँग निजीक्षेत्रको सहकार्य हुन सकेको छैन । सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ । कर्णालीको समग्र विकासमा निजी क्षेत्रको योगदानलाई समेट्नुपर्छ ।

प्रकाशित मितिः   २४ आश्विन २०८०, बुधबार ०५:०४