महिनावारी स्वच्छताका लागि घोषणापत्र

सुर्खेत: मर्यादित महिनावारी स्वच्छता व्यवस्थापनका लागि सुर्खेत घोषणापत्र जारी गरिएको छ । वीरेन्द्रनगरमा दुई दिनसम्म चलेको स्थानीय तहका जनप्रतिनिधिहरूको भेलाले मंगलवार १२ बुँदे घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा छाउपडी तथा छुवाछुत प्रथा पूर्णरूपमा उन्मूलन गर्न ‘महिनावारी हुँदा पर हैन घर’ भन्ने नारालाई कार्यान्वयन गराउने प्रतिबद्धता जनाइएको छ । यस्तै मर्यादित महिनावारी व्यवस्थापनलाई विद्यालयको पाठ्यक्रममा समावेश गरेर पठनपाठन गराउने, छाउपडीप्रथाविरुद्ध बाल क्लब, किशोरी सञ्जाल र महिलाकै नेतृत्व तथा सहभागितामा विद्यालय र समुदायमा एकीकृत रूपमा अभियान सञ्चालन गर्ने, वातावरणीय प्रदुषणको विषयलाई मध्यनजर गर्दै प्रयोग भइसकेका महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी सामग्री विसर्जनको लागि प्रदुषणरहित प्रविधिलाई अबलम्बन गर्ने र जैविक सामग्रीहरू प्रबद्र्धन गर्नेलगायतका घोषणा गरिएको छ ।

मर्यादित महिनावारीका लागि कर्णाली एलाइन्स(कदम)ले नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षहरूको दुई दिने भेला आयोजना गरेको थियो । कार्यक्रममा कर्णालीका २४ पालिकाका प्रतिनिधिसहित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २४ आश्विन २०८०, बुधबार ०५:०२