प्रादेशिक भू–उपयोग नीतिमाथि छलफल

 

सुर्खेत: प्रादेशिक भू–उपयोग नीतिबारे छलफल गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा मंगलवार वीरेन्द्रनगरमा भू–उपयोग नीति–२०७९ सम्बन्धी छलफल गरिएको हो ।

कार्यक्रममा सिंजा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले माटो सुहाउँदो भू–उपयोग नीति बन्न नसकेको बताए । मन्त्रालयले तयार पारेको नीतिले पालिकाको भू–बनोटलाई नसमेटेको उनको भनाइ छ । ‘सरकारले निर्माण गरेको नीति स्थानीय नागरिकको आवश्यकता अनुसार बनेको देखिँदैन’ धितालले भने, ‘केही विषय परिमार्जन गर्नुपर्ने हुन्छ ।’

सोरु गाउँपालिका मुगुका अध्यक्ष धर्मबहादुर शाहीले अहिलेको भू–उपयोग नीति कार्यान्वयनमा चुनौती रहेको बताए । सरकारले भूगोल नहेरी सुर्खेतलाई प्रतिनिधित्व गर्नेगरी नीति निर्माण गरेको उनको आरोप छ । पालिकामा बस्ती व्यवस्थापन चुनौतीको विषय बनेको भन्दै भू–उपयोग नीतिले यो विषय नसमेटेको बताए ।

गुर्भाकोट नगरपालिका सुर्खेतका प्रमुख हस्त पुनले नीति अपूरो रहेको बताए । उनले भने, ‘यो नीतिले सबै विषय समेट्न सकेको छैन । यसैलाई आधार मानेर पालिकाले भू–उपयोग नीति बनाउने योजना बनाएको छ ।’

कर्णालीका ७९ वटै पालिकामा पुगेर प्रादेशिक भू–उपयोग नीति तयार पारिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यो नीतिले व्यवस्थित आवास क्षेत्र, औद्योगिक क्षेत्र र कृषि क्षेत्रहरूको पहिचान गरी सोहीअनुरूप पूर्वाधार विकास र सेवा प्रवाहको व्यवस्था गर्ने जनाइएको छ । यूएनडिपीको आर्थिक तथा प्राविधिक सहयोगमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रादेशिक भू–उपयोग नीति निर्माण गरेको हो ।

जग्गा वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महŒवका विषय समेटिएको छ । भौगोलिक अवस्था, भूमिको क्षमता एवम् आवश्यकताका आधारमा जग्गाहरूको वर्गीकरण गरेर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रत्येक स्थानीय तहको भू–उपयोग क्षेत्र नक्सा र त्यसको विवरण तयार पारेको छ ।

मन्त्री भीमप्रकाश र्शाले भू–उपयोग नीति कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको जनाए । नीति कार्यान्वयनका लागि आवश्यक गृहकार्यसहित निर्देशिका, कार्यविधि तयार पारेर तत्काल कार्यान्वयनमा ल्याइने उनको भनाइ छ । शर्माले भने, ‘बसहमा उठेका सवाललाई समेटेर नीति कार्यान्वयनको चरणमा लैजाने हो । कर्णालीको भूगोल र माटो अनुरूपको नीति बनेको छ ।’ उक्त नीतिले लक्ष्य तथा उद्देश्य हासिल गर्न २० वटा नीतिलाई अवलम्बन गरेको छ ।

प्रकाशित मितिः   २४ आश्विन २०८०, बुधबार ०५:०१