नेकपाका संस्थापकप्रति मेरो चासो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल, सन् १९४९ मा भारतकाे कलकत्तास्थित श्यामबजारकाे याैटा बंगालीको घरको दाेस्राे तलामा भयो । संस्थापकहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी हुनुहुन्छ । मोतीदेवी श्रेष्ठ (अझैसम्म विवादमा रहेको नाम)लाई समेत गणना गर्दा पाँच जना हुनुहुन्थ्यो । उहाँहरूमध्ये संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मैले कहिल्यै देखिनँ, तर उहाँका केही पुस्तकहरू भने पढेको छु ।

नरबहादुर कर्माचार्य हाम्रो आन्दोलनको सदैव अगुवा हुनुहुन्थ्यो, उहाँको सरल मिजासप्रति म सदैव अनुगृहीत छु । कहिल्यै पनि रिसाउनु भएको मलाई थाहा छैन, सदैव भेटघाटमा मृदुभाषी हुनुहुन्थ्यो ।

निरन्जन गोविन्द वैद्यलाई सबैभन्दा नजिकै भएर चिन्ने मौका पाएको छु । पञ्चायत कालको चालीसको दशकमा भोटाहिटीस्थित प्रगतिशील पुस्तक भण्डारमा उहाँ सदैव रहनुहुन्थ्यो, म बराबर पुस्तक किन्न गइरहन्थेँ र अहिलेसम्म पनि उहाँले दिएका पुस्तक मसँग सुरक्षित नै छन् । खासगरी चिनियाँ कम्युनिष्ट पार्टीका दस्तावेज, माओका संकलित रचनाको त्यहाँ खुबै बिक्री वितरण हुन्थ्यो । लगभग त्यो पसल खगेन्द्र संग्रौला दाइको गोदामघर भने पनि हुन्छ । किनकि दाइले अनुवाद गरेका जम्मै माओका संकलित रचनाहरू ‘याङ मो’को युवाहरूको गीत (उपन्यास)लगायतका कृतिहरू अन्यत्र पाइदैनथे, किन्नका लागि त्यहीँ जानुपर्ने हुन्थ्यो ।

वैद्यजीले ती रचनाहरू यति सस्तोमा दिनुहुन्थ्यो कि झोलाभरि किताब किन्ने पैसा एक प्लेट मःम किन्ने भन्दा पनि कम पथ्र्यो । अनि उहाँसँग कतिपय बेला कम्युनिष्ट पार्टीको इतिहासका कुरा हुन्थे, उहाँले आफू कसरी पुस्तक पसले भएँ भन्ने कुरा रोचक ढंगले सुनाउनुहुन्थ्यो । उहाँकै भनाइमा, ‘पुष्पलालले कामको जिम्मेवारी बाँडफाँड गर्दा प्रगतिशील पुस्तक पसल खोल्नुपर्छ भनेर प्रस्ताव गरेपछि कसै न कसैले त्यो जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना भयो । नारायण विलासले मसँग लगानी गर्ने पैसा छैन भनेर पन्छिनु भयो । नरबहादुर कर्माचार्यले म पूर्वकालीन हुन्छु किताब बेच्ने आइडिया छैन भन्ने विचार राख्नुभयो । त्यसपछि यो जिम्मेवारी पुष्पलालले मलाई सुम्पिनु भो र मैले घरमा सल्लाह गरेर केही पैसाको जोहो गरेँ र पसल खोलेँ, सबै पार्टीकै नीतिअनुसार भएको हो । पछि पार्टीको विभाजन भयो, छिन्नभिन्न भयो, म यहीँ पसल चलाउन थालेँ’ भन्नुहुन्थ्यो ।

मोतीदेवी श्रेष्ठलाई मैले कहिल्यै देखिनँ र चिन्ने कोशिस पनि गरिनँ । जहाँसम्म नारायण विलास जोशीको कुरा छ, उहाँ बाहुन जोशी हो कि नेवार जोशी हो, अनि उहाँको घर कहाँ हो, कहिलेसम्म पार्टीको काममा लाग्नुभो, अझै जीवित हुनुहुन्छ वा बितिसक्नुभो मेरो मानसपटलमा घुमिरहेको छ, कसैले यसको उत्तर दिउन् भन्ने चाहन्छु म । अहिलेसम्म गुगलका विभिन्न साइटहरूमा खोजेँ त्यसले पनि उहाँको कुनै हुलिया बताउँदैन । उतिबेला यही कुरा वैद्यलाई सोधेको भए पनि अवश्य भन्नुहुन्थ्यो होला । तर कहिल्यै मलाई त्यससम्बन्धी चासो भएन ।

वैद्यले जीवनको अन्तिमकालमा भोटाहिटीबाट पसल सारेर कमलपोखरी (पुतलीसडक चोकको थोरै माथि)मा पसल गर्दासम्म पनि म बराबर उहाँको पसलमा किताब किन्न गइरहन्थेँ । उहाँको ऋणी त हामी छदैछौँ तर पनि व्यक्तिगतरूपमा केही पैसा जम्मा रू.१४०÷– (एकसय चालीस अन्दाजी) किताबको उधारो मैले तिर्नै बाँकी थियोे र उहाँ बिरामी परेर पसल बन्द भयो । पसल बन्द भएपछि जानै छाडियो, एकैचोटि उहाँको निधनको खबर सुनेपछि आर्यघाटसम्म अन्तिम विधाइका लागि गएको छु । यो ऋण उहाँले स्थापना गरेको कम्युनिष्ट पार्टीमा लागेर जति सकिन्छ पसिनाले तिर्दै जानेछु । यो पीडा अब त लगभग बिर्सिएँ, तैपनि त्यतिबेला केही महिना मलाई यसले साह्रै पछुतो बनाइरह्यो ।

सितिमिति म उधारो किताब किन्दैनथेँ, तर त्यसदिन के प¥यो भने लियो टाल्सटायको ‘आन्ना कारेनिना’ उपन्यास हिन्दी संस्करण लगभग एक पिस मात्रै बचेको रहेछ । ‘अरु कसैले लान सक्छ, लग्ने भए लानुस्’ भनेर उहाँको अनुरोध भएपछि लिएँ । त्यसदिन जसलाई उहाँसँगको अन्तिम भेटको दिन भन्ने गरेको छु मैले, गोर्कीको ‘योगेर बुलिचोव’ र अरूहरू(नाटक), चिनियाँ गुनिलो कथा भाग–१÷२, लुसुनको आह क्युको साँचो कथा आदिआदि पनि किनेँ । सबै किन्दा अलिकति पैसा अपुग भयो । फेरि त्यतिबेला किताब अलिकति महँगा पनि हुन थालिसकेका थिए । बहुदलीय व्यवस्थाको पुनरागमनभन्दा अगाडि पञ्चायतकालसम्म सेवामुखी जनचेतना अभिवृद्धिका दृष्टिकोणले किताबको मूल्य धेरै सस्तो थियोे तर अब सबैतिर छ्ययापछ्याप्ती पसलहरू खुलेका थिए र उहाँले पनि किताबमा निलो प्रिन्ट वा स्टिकर टाँसेर नयाँ मूल्य कायम गरेकाले पहिलाभन्दा केही महँगो पर्न गएको थियोे । त्यसरी त्यो दिन अलिकति नगद र अलिकति उधारो गर्नुपर्ने भयो । म फेरि उहाँको पसलमा बराबर गइरहने स्थायी ग्राहक भएकाले उहाँ र मेरा बीचमा गहिरो मित्रता भनौँ वा विश्वासको वातावरण सिर्जना भएको थियोे । अन्यथा उहाँ सितिमिति उधारो नदिने साहुजीमध्ये पर्नुहुन्थ्यो ।

त्यसरी मैले वैद्यका पसलबाट लिएका किताबको सदुपयोग गरिरहेको छु । अहिलेसम्म पनि किनेर पढ्ने भन्दाभन्दै थन्क्याएर राखेकामध्ये केही किताबहरू छन् जसलाई कहिल्यै पढ्ने मन जागेन । त्यसमध्ये मिखाइल लेर्मन्तोभको हाम्रो जमानाको चरित्र नायक उपन्यास, दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’(किमरुख र गोरिल्लाहरूको कथा भएको) उपन्यास र अरू केही पर्दछन्, तिनका दुई चार पाना पल्टाएर निन्द्रा लागेपछि चटक्कै छाडेको छु । धेरैपटक पढेर पनि अझै पढुँ–पढुँ लाग्ने चाहिँ गोर्कीको ‘आमा’ नै हो । यसरी मलाई कम्युनिस्ट साहित्यका अनमोल किताब किन्न उत्प्रेरित गर्ने निरञ्जन गोविन्द वैद्य र यस्तै अर्को पुतलीसडकस्थित पैरवी पुस्तक पसल नजिकैको प्रगति पुस्तक पसल (नाम यस्तै केही हो अहिले बिर्सिएँ)मेरा ज्ञानका विश्वविद्यालय सरह छन् ।

-बलभद्र भारती

प्रकाशित मितिः   २० आश्विन २०८०, शनिबार ०५:०४