४० किलोमिटर सडक मर्मत गरिने
सुर्खेत: कर्णाली राजमार्ग र रत्न राजमार्गका सडकमा आवधिक मर्मत गरिने भएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले दुवै राजमार्गमा गरी करिब ४० किलोमिटर सडकमा आवधिक मर्मतको काम गर्ने भएको हो । नेपाल सरकारको १५ प्रतिशत र विश्व बैंकको ८५ प्रतिशत आर्थिक साझेदारीमा राजमार्गका सडक मर्मत गर्न लागिएको हो ।
आगामी असार मसान्तसम्ममा मर्मत गरिसक्ने गरी सम्झौता भएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले जनाएको छ । यसका लागि गत सोमवार तिरूपाते निर्माण सेवा घोराही दाङसँग ठेक्का सम्झौता भएको छ । भ्याट बाहेक नौ करोड २५ लाख बजेटमा ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार आउँदो असारसम्ममा आवधिक सडक मर्मतको काम गरिसक्नुपर्नेछ ।
अधिकांश सडकको अवस्था जीर्ण रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको छ । सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्नका लागि सडक मर्मत गर्न लागिएको हो । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको कार्यालयका इन्जिनियर अशोक चौधरीले जानकारी दिए । उनका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक छनोट गरिएको छ । उनले भने, ‘सडकअनुसार फरक–फरक किमिमको मर्मत गरिने छ । हामीले रत्न राजमार्ग र कर्णाली राजमार्गमा गरी करिब ४० किलोमिटर सडकको आवधिक मर्मत गर्नेछौँ ।’ सकेसम्म दसँै अगाडि नै काम सुरु गर्न निर्माण कम्पनीलाई भनिएको उनले बताए । जनशक्ति र सामग्री उपलब्ध भए दसँै अगाडि नै काम सुरु हुनेछ ।
कर्णाली राजमार्गको बाङ्गेसिमलदेखि–बड्डीचौरसम्म र मैनखोलादेखि तल्लोडुङ्गेश्वरसम्म आवधिक मर्मतको काम गर्न लागिएको छ । रत्न राजमार्ग अन्तरर्गत कोहलपुर–सुर्खेत खण्डको हर्रे छेउछाउका सडकमा मर्मत गरिने कार्यालयले जानकारी दिएको छ । दुई वटा राजमार्गका तीन खण्डमा सडक आवधिक मर्मत गरिनेछ । कर्णाली राजमार्गका दुई खण्ड र रत्न राजमार्गको एक खण्डमा सडक मर्मत गर्न लागिएको हो । सडक सतह मर्मत, नाला मर्मत, गिटी छर्ने र रिसिङलगायतका काम हुनेछन् ।
अन्य मर्मतभन्दा फरक सडकमा मर्मत गर्न लागिएको कार्यालयले जनाएको छ । सो मर्मतमा सडकको एक तह थप हुने छ । सामान्यतया सडक निर्माण गरिएको पाँच÷छ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ । कर्णाली राजमार्गमा आवश्यकता अनुसार मर्मत हुन नसकेकाले अहिले प्राथमिकतामा राखेर मर्मत गर्न लागिएको हो । अहिले मर्मत गर्न लागिएको सडकमा कर्णाली राजमार्गको बाङ्गेसिमलदेखि –बड्डीचौरसम्म र मैनखोलादेखि तल्लोडुङ्गेश्वर र रत्न राजमार्गको हर्रे आसपासका क्षेत्र रहेका छन् । कामको अनुगमन संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले गर्नेछ । २०८० असोजमा सम्झौता भएकोमा आवधिक सडक मर्मतको काम आगामी २०८१ असारसम्ममा गरिसक्नुपर्नेछ । मर्मत योजना अन्तर्गत सडकका खाल्डा खुल्डी पुर्ने, वाल मर्मत तथा नाला मर्मत गर्ने लगायतका काम गरिने कार्यालयले जनाएको छ ।
यसैबीच संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले सडक मर्मत गर्न थालेको छ । धुलियाविटदेखि बाङ्गेसिमलसम्मको चारलेनको सडकका खाल्डाखुल्डी पुर्ने काम धमाधम गरिरहेको छ । बीचबीचमा परेका खाल्डाखुल्डीले सडक जीर्ण बनेको भन्दै मर्मत गर्न लागिएको जनाइएको छ । वीरेन्द्रनगरको प्रतिष्ठाको रूपमा लिइएको यो सडकमा अहिले धमाधम काम चलिरहेको कार्यालयका इन्जिनियर अशोक चौधरीले बताए । उनका अनुसार मुख्य सडकका खाल्डाखुल्डी पुर्ने काम लगभग सकिएको छ ।
वीरेन्द्रनगरको चारलेनको खडकमा परेका खाल्डाखुल्डीले सवारी आवतजावतमा समस्या हुने गरेको भन्दै मर्मत थालिएको उनले बताए । कार्यालयको सडक मर्मत गर्ने वार्षिक कार्यक्रम अनुसार नै वीरेन्द्रनगरका खाल्डाखुल्डी पुर्ने काम सुरु भएको हो ।
प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार ०५:०५
साझा बिसौनी ।