राति ब्युँझिने लेकसाइड
कीर्तिपुर लहनाको बार्दलीबाट हुस्सुले ढाकिएको चन्द्रागिरीलाई चोर औंलाले देखाउँदै पहल असिमले भनेको थियोे, ‘दाजु, काठमाडौं आएर पनि राजधानीका हेर्नलायक ठाउँ घुमघाम गर्ने अवसर खासै जुरेको छैन ।’
‘औसतमा ऊ भन्दा बढी नै घुमे पनि राजधानीका सबै ठाउँ म पनि कहाँ पुगेको छु र ?’ उसले सोधेका यावत् प्रश्नहरूको खलियानमाथि उभिएर मनमा जिज्ञासा जाग्यो । काठमाडौंको अनुहारै नदेखेर मर्ने सुदूर गाउँका ती चेहराहरूलाई सम्झिएँ । सुन्दा हल्का लाग्ने पहलका गहन कुराले मन बाउँणियो । अहो ! राजधानीका खाल्डोभित्र रहेका ऐतिहासिक ठाउँलाई हेरेर मर्न अझै बाँकी रहेछ । ढुङ्गाको चोटले तरंगित भएको तलाउझै मन तरंगित भयो । तरंगको छायाँले भौतारिएको माछाझै मन त्यसै–त्यसै दौडिरह्यो ।
‘कलिङ महोत्सव’ सकिन आजको रात मात्रै बोनसको रूपमा बाँकी थियोे । १८ गतेको दिनलाई आ–आफ्नो तरिकाले उपयोग गर्ने सहमति अनुसार गुरु महेन्द्र मल्ललाई बसेकै ठाउँ ठमेलमा छोडेर बाहिरियौँ पहल र म । ऊ सुन्धारा हेमन्त हेमलकको कोठा लाग्यो र म भक्तपुर ठूलीदिदीको घर ।
महेश के भट्टराई सुर्खेतदेखि सरुवा भएर भक्तपुर गठ्ठाघर पुगेको धेरै दिन भएको थिएन । उनीहरूको मन पनि सुन्धारा अडिएन छ । साँझ नेपाल–भारतको क्रिकेट खेल हेर्न हेमन्त र पहल पनि सुन्धाराबाट गठ्ठाघर पुगिसकेका रहेछन् । महेशले खबर गरेको थियो, गठ्ठाघर आउन मलाई पनि । अर्कोदिनको बिहानै पहलले फोन ग¥यो, ‘दाजु अब नुवाकोट जाने होइन ? फर्कनु प¥यो त ।’
‘अरे यार, भक्तपुर आएर पनि भक्तपुर दरबार हेरेर फर्किनस् भने तँ यहाँ आएको के सार भयो ?’ ऊ प्रति मेरो ठाडो प्रश्न थियोे । जवाफलाई इन्कार नगरी ऊ पनि भक्तपुर दरबार हेर्न हेमन्तसँगै पुगेको थियोे । पंतिmकार यहाँभन्दा अघि एक्लै नपुगेको पनि होइन भक्तपुर स्क्वायर । तर समूहमा जानुको आनन्द बेग्लै हुने रहेछ । विहङ्गम भक्तपुर स्क्वायरका संरचना र आँखा लोभ्याउने वास्तुकलालाई क्यामेरामा कैद गर्दै छाँयाछवि खिच्नुको आनन्दले भ्रमणलाई सुनमा सुगन्ध थप्ने रहेछ । सुनमा सुगन्ध छर्न महेशले धित नमरुन्जेल तस्वीर खिचिरह्यो वर्काइफर्काइ । भक्तपुर दरबार हेरेर मन भरिएन, आँखा अघाएनन् । जति हेरे पनि हेहिरहँु लाग्यो । पुर्खाले अमूल्य निधि हामीमाँझ छोडेर गएकोमा गर्व पनि लाग्यो । तर २०७२ सालको भुइचालोले ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण अझै नभएको देख्दा सरकार र राज्यप्रति आक्रोशको ज्वालाले मन पोल्नुसम्म पोल्यो ।
गुरु महेन्द्र मल्लको फोन नआएपनि हुन्थ्यो । यही सोचेर मोबाइललाई अफ नगरी साइलेन्ट मोडमा राखेको थिएँ । मोबाइल साइलेन्ट मोडमा भएपनि गुरुको फोन आएको रहेछ । मेरो फोन रिसिभ नभएपछि पहलसँग गुरुको कुराकानी भएछ ।
साहित्य संगम नुवाकोटले ‘भाषाको बकपत्र’ माथि चर्चापरिचर्चा तथा कविलाई सम्मान गर्ने योजना बनाएको खबर संगमकी अध्यक्ष सुमित्रा सुमीजीले हप्तादिन अघि सुर्खेत हुँदा नै सुनाउनुभएकोले नुवाकोट जानु त थियोे नै । भक्तपुर दरबारअघि स्तम्भमा विराजमान भूपतीन्द्र मल्लको शालिकलाई श्रद्धाभावले नमन गर्दै हामी बाहिरियौँ ।
आफ्नै छायाँलाई आफैले पच्छाए जसरी नुवाकोटबाट सुमित्राजीले फोनद्वारा पच्छाई रहनु भएको थियोे । र, पुग्नु थियोे रसुवा पनि । पहिलोपटक रसुवा पुग्दा सुमीजीका आमाबुबालाई भेट्न आउने प्रतिबद्धता गरेर फर्केको थिएँ । आमाको माया बिर्सन रसुवा नगई नहुने थियोे र भनेको बचन पूरा पनि गर्नु थियोे । संसारमा आमाभन्दा कुनै ठूलो शब्द रैनछ । आफ्नी आमाको स्वर्गवासपछि उहाँलाई सम्झेर पटकपटक रुने गरेको छु एकान्तमा । आँसु पनि अनायासै झर्ने रहेछन् यादहरूमा । आँसु झर्नलाई भौतिक चोट लाग्नु पर्ने रहेनछ । मन काटिएपछि आँसु त झरी बनेर बर्सिने रहेछन् । सुमीजीको आमालाई भेटेर म केही क्षण भएपनि मेरी आमाकै ममता अनुभूत गर्न हतारिएको थिएँ । रसुवा पुग्न मन बर्खाको भेलझै उद्देलित थियोे । हामीसँग समय पर्याप्त थिएन, पोखरा पनि जानु थियोे । समयलाई मिचेर समयको व्यवस्थापन गर्नु अपरिहार्य बनेको थियोे ।
१२ बजेको वयस्क धुपसँगै गौशालाबाट हाम्रो गाडी चावहिल हुँदै अगाडि बढ्यो । हामी चढेको गाडीले अञ्जानमा ट्राफिक नियमको केही अंश पालना नगरेपछि ट्राफिकले हामीलाई उक्त बाटो जान दिएन । हामी महाराजगन्ज, बालुवाटर, पुतलिसडक, माइती घर, त्रिपुरेश्वर हुँदै अर्को बाटो कलंकी पुग्यौँ । गुर्जधारा पुगेपछि साहित्यकार ओम रिजालको कल आएको थियोे फर्कनु सँगै जाउँला भन्दै हुनुहुन्थ्यो । रसुवा पुगेर फर्किन गाह्रो हुने भएपछि हामी काठमाडौंबाट उम्केका थियौँ ।
नुवाकोट मेरो लागि दोस्रो यात्रा थियो भने पहल र महेन्द्र मल्ल गुरुको लागि पहिलो । बैँसले उन्मुक्त युवतिका पोटिला ओठजस्तै गल्छी नुवाकोट सडको आकृति देखेपछि मल्ल गुरु खुसीले रमाउनु भएको थियोे । आह ! सडक त यस्तो पो हुनुपर्छ ।
गुरु मोबाइलमा भिडियो बनाउन व्यस्त हुनुभयो । हामी वारिपारिका दृष्य हेर्न मस्त । देविघाट पुगेपछि नुवाकोटको भूबनोट पनि फराकिलो हुँदै फैलिएको छ । विदुर भित्रिने जोसुकै यात्रीलाई आफ्नो छातिमाथी राखेर नुवाकोट स्वागत गर्न जुटिरहेको छ । वारिपारी दुई पहाडको बिचमा अवस्थित विदुर नगरपालिका र नुवाकोटको मुटु भएर बगेको त्रिशूली नदी नुवाकोटको सुहाग बोकेर उर्लर्दै बगेको छ दख्खिन् । कोलनी गाउँको फेदमा उत्पादित २१ मेगावाटको त्रिशूली जलविद्युत आयोजनाले नेपालका विभिन्न सहरलाई रोशनी छरेर उज्यालो प्रदान गरेको छ ।
नुवाकोट पुग्दा पौने चार भएको थियोे । घाम फिकुरे लेकको थाप्लो माथि उभिएर पट्यार मार्दै थियोे । त्यही समय सुमित्राजीको घर पुग्यौँ हामी । उहाँ विद्यालयबाट फर्किसक्नु भएको थिएन । बरु हाम्रो बाटो कुरेर बसिरहेका थिए उहाँका छोरा सविन रिमाल । सविनलाई लिएर नुवाकोट माझगाउँ लाग्यौँ । किस्पाङ्ग गाउँपालिका नुवाकोट र उत्तरगया गाउँपालिका रसुवाको शिरमाथी छ फिकुरी लेक । उत्तर फर्केको फिकुरे लेक तल त्रिशुली हेरेर टोलाइरहेको छ । उत्तरगयाका पहाडबाट कलकल बग्ने झरनाहरू यौवनको उन्माद जल पोखेर जो–कोही आगन्तुकको मन लोभ्याइरहेका छन् । तिनै झरनाहरूको उन्मुक्त यौवन देखेर झरनाको आडैमा पूर्व फर्केको गाउँ देखाउँदै महेन्द्र गुरु भन्दै हुनुहुन्छ, ‘पहल बाबु जग्गा किनेर घर यतै बनाउनु प¥यो क्या । झरना हेर्दै बुढेसकालको जीवन बिताउन खुब आनन्द आउने थियो हई ।’ गुरुका कुरामा उसले स्वर उच्चारण गरेन, बरु घोसो मुण्टो हल्लाउँदै समर्थन जनायो ।
फलुका खोला नुवाकोट र रसुवा जिल्लालाई छुटाउने सिमाना हो । पुल कटेसँगै सानो बजार छ । बजारमै छ इलाका प्रहरी पोष्ट । ठाउँको नाम थाह नभएपछि प्रहरीलाई नै सोध्ने तरखरमा थियौँ । ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ भनेझै, रोकिने सवारीसाधनलाई ट्राफिक प्रहरी जवानले इशारा गरेपछि हामी चढेको सवारी नरोकिने कुरै भएन । उनको चेकिङ्ग र हाम्रो सूचना जानकारीपश्चात् हामी अघि बढ्यौँ । केही अघी पुगेपछि बाटोमै पर्ने रहेछ बोकटीटार । उत्सुकता जाग्यो र सोधिहालेँ सविन बाबुलाई, ‘बाबु पोष्टबहादुर बोगटी(दिवाकर) को गाउँ यही त होइन कहिले ?’ चोर औंला देखाउँदै उनले भने, ‘ऊ त्यही घर हो अंकल ।’ बाटो छेउमै पर्ने रहेछ उनको घर । अलि माथि उक्लिएपछि भेटियो माझगाउँ र पुगियो गन्तव्यमा ।
आमा र बुबा पर्खेर बस्नु भएको थियोे । बुवाले घरभित्रबाट चिनीलाई जित्ने रसुवाका गुलिया केरा ल्याउनुभयो । आमाले खुवाउनु भयो सर्वत पानी । घर छोडेर हिँडेको पनि आठ दिन पुगिसकेको थियोे । भोलि लिखुमा हुने कार्यक्रम सकेर फर्कनु थियोे पोखरा । आमाबुबाको रसुवामै बास बस्ने करबललाई अर्को पटकको लागि जगेडा राख्दै मन त्यतै छोड्दै फर्कियौँ विदुर ।
नुवाकोटको प्रमुख पर्यटकीय गन्तव्य हो, नुवाकोट दरबार । पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान नुवाकोटबाटै सुरु भएको थियोे । नुवाकोट पुगेपछि दरबार पुुगिएन भने यात्रा खल्लो मात्रै होइन नुवाकोट पुगेकै आभास हुँदैन । लिखु गाउँपालिका क्षेत्रपाल मा.वि. मा हुने कार्यक्रममा जानु पर्ने भएर पनि हो, बिहान सात बजेनै हामी नुवाकोट दरबार पुगिसकेका थियौँ । केही समयको दरबार अवलोकनपश्चात् हामी कार्यक्रमस्थलमा रमना भयौँ ।
बटारबाट पुर्वत्तोर लागेपछि जंगलको छेवैछेउँ अघि बढ्याँै । केहीअघि पुगेपछि भेटियो लिखु गाउँपालिकाको गेट । गेटमा लेखिएको छ, ‘लिखु गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत छ ।’ यहीबाट छुटिने रहेछ विदुर नगरपालिका र लिखु गाउँपालिकाको सिमाना । कल्लेरी पहाड र महादेवथान पहाडको बिच भागमा अवस्थित छ चौघडा बजार । पूर्वबाट पश्चिम दिशा बग्दै आएको लिखु खोला, त्यही मिसिन्छ तादी नदीमा । चौघडा, पोखरे, बगैँचा, गडखाल, कट्टीछाप । लिखु गाउँपालिका अन्तरगत पर्ने गाउँहरूका नाम हुन् । तिनै गाउँहरूको नाभी चिर्दै मध्यभागमा बगेको छ तादी नदी । विशाल फाँटको छातिमा फस्टाएको छ धानको फसल । फराकिलो छाति र विशाल मन लिएर उभिएको छ लिखु भ्याली ।
समुन्द्री सतहबाट गोसाइँकुण्डको उचाई ४३२५ मिटर हो भने सुर्यकुण्ड ४९०० मिटरको उचाइमा रहेको कुरा एक जना स्थानीयले बताउनुभएको थियो । तादी नदीको उद्गम स्थान सूर्यकुण्ड र सूर्यकुण्डको संस्कृत नाम सूर्यमती रहेछ । सूर्यमती र त्रिशूली नदीको संगमस्थलहो देवीघाट । देवीघाटकै किनारमा छ जाल्पादेवी मन्दिर । परापूर्वकाल एक जना माझी देवीघाटमा जाल खेल्ने क्रममा उसको जालमा पटक–पटक ढुङ्गा अल्झेको र देवीले सो ढुङ्गालाई मन्दिर बनाएर स्थापना गर्ने हुकुम दिएपछि माझिले सोही मुताविक मन्दिर स्थापना गरेको र उक्त मन्दिरको नाम जाल्पादेवी रहन गएको कुरा जनश्रुतीको जिब्रोमा बासनै बसेको छ ।
चौघडा बजार उछिन्दै अघि बढेर केही समयको अन्तरालपछि क्षेत्रपाल मावि पुग्यौँ । २०३१ सालमा स्थापना भएको विद्यालय बोर्डमा खुइलिन लागेको तिथीमिति देखाउँदै आगन्तुकलाई सूचना प्रवाह गरिरहेको छ आफ्नो इतिहासको । गेटमा कुर्सी लगाएर विद्यालयको सुरक्षा गरिरहेकाछन् पाले दाइ ।
काठमाडौंबाट कार्यक्रममा सहभागी हुन आउनु भएका साहित्यकार बद्री उप्रेती ४२ वर्षपछि आफू पढेको विद्यालयमा खुट्टा टेक्न पुग्नुभएको रहेछ । विद्यालयको माटोमा दण्डवत प्रणाम गरेपछि उहाँ भन्दै हुनुहुन्थ्यो, ‘सर म पढेको विद्यालय यही हो ।’ कार्यक्रमकै लागि त्यहीँ भेटिनु भयो हसिलो चेहरामा मेरा परम मित्र विष्णु भण्डारी पनि ।
भौतिकवादी नियम अनुसार जहाँ ध्वंस हुन्छ त्यहाँ निर्माण हुन्छ । २०७२ को भुकम्पले विद्यालको भौतिक संरचना ध्वस्त भएपछि ध्वस्त क्षेत्रपाल मावि पुनर्निर्माण भएर नयाँ हुलियामा उभिएको रहेछ । नयाँ संरचनाको निर्माणपश्चात् विद्यालयको मुहार फेरिएको कुरा पालेदाई हामीलाई सुनाउँदै हुनुहुन्थ्यो ।
साहित्य संगम नुवाकोटले ‘१२ महिना, १२ गाउँपालिका’ कार्यक्रम गर्ने निर्णय अनुसार आजको कार्यक्रमको सहआयोजक क्षेत्रपाल मावि थियोे । शनिवारको दिन भएर पनि होला विद्यालयको प्राङ्गणमा मान्छे नभएपछि सन्नाटा छाउनु स्वभाविकै थियोे । निर्धारित समय घर्किदै थियोे, मान्छेहरूको उपस्थित न्यून थियोे । साहित्यकार ओम रिजालसँग आउनु भएका कवि प्रज्जवल अधिकारी, सायर विद्या निर्दोष पहाडी, संगमका पदाधिकारीहरू, विद्यालयका कर्मचारी र हाम्रो समूहबाहेक स्थानीय साहित्यकार र दर्शक श्रोताहरूको उपस्थिति नभएपछि सुमित्रा सुमीलाई कौतुहल लाग्नु स्वभाविकै हो । खाना खाइवरी क्यान्टिनको दलिनमा उभिएर दाँतमा अड्केको च्याउको त्यान्द्रो सिन्काले कोट्टाउँदै थिएँ । कानमै आएर सुमीजीले कानेखुसी गर्नु भयो, ‘सर मान्छे नहुने भए । लाज हुने भयो हाम्रो !’ जवाफमा मैले भनेँ, ‘अध्यक्षज्यू, साहित्यिक कार्यक्रम राजनीतिक र साँस्कृतिक कार्यक्रम जस्तो कहाँ हुन्छ र ! मान्छेको उपस्थिति धेरै भयो भने सफल, थोरै भयो भने असफल भन्ने कुरा साहित्यमा हुँदैन ।’ यही भनेर सुमीजीलाई सान्त्वना दिने प्रयत्न गरेँ । ‘त्यो त हो सर’ टाउको हल्लाउँदै सुमीजीले विद्यालयको मैदानमा मुस्कानका टुक्राहरू छर्नु भयो ।
हतार–हतारमा खरानी कलरको स्कारपियो विद्यालयको परिसरभित्र छि¥यो र गएर रोकियो कपुरको बोटमुनी । हुल त्यतै मोडियो । आउनु भएको रहेछ आजकी प्रमुख अतिथि तथा लिखु गाउँपालिकाकी उपाध्यक्ष सुभद्रा अधिकारी । त्यति बेरसम्म मान्छेहरूको पनि उपस्थिति बढ्दै थियोे । उहाँसँगै हामीहरू पनि सबै ओइरियौँ सभाहलभित्र ।
‘भाषाको बकपत्र’ माथि साहित्यकार ओम रिजालको सटिक समीक्षात्मक टिप्पणीसहित श्रष्टाहरूले गजल, मुक्तक र कविता सुनाउने प्रक्रिया सुरु भयो । विशेष कामको लागि प्रमुख अतिथि बाहिरिनु पर्ने भएकोले सम्मानित श्रष्टा महेन्द्रकुमार मल्ललाई सम्मानपत्र अर्पण गर्दै उहाँ बाहिरिनु भयो । छवि ओझा दाइ भने प्रमाणपत्रमा नाम लेख्न र उपस्थिति श्रष्टाहरूको उपस्थिति गराउनमै व्यस्त थिए । क्षेत्रपाल माविका प्रधानाध्यापक हरीप्रसाद पाण्डे सरको योगदान अतुलनीय रह्यो । तीन दर्जनभन्दा बढी श्रष्टाहरूका रचना सुन्दा सुन्दै घामले त्रिशूली पार गरेको थाह भएन । पोखराबाट अमृतजीको फोनको रिङ्ग बजिरहेको थियोे । कार्यक्रम लम्बाएर भएपनि हामीलाई नुवाकोट बास बसाउने सुमित्राजीको योजना मनमा थियोे । क्यार्नु समयले दास बनाएपछि फर्कनुको विकल्प नहुने रहेछ । गह्रौँ मनका साथ सुमीजीले कार्यक्रम समापन गरेसँगै अर्को पटक छवि दाजुको घरमा खाना खाने वचन दिएर पोखरा फर्कियौँ ।
क्षेत्रपाल छोडेर पोखरा हिँड्न लाग्दा पौने पाँच भइसकेको थियोे । निर्धारित समय भन्दा हामी आधाघण्टा ढिला थियौँ । कुरिनटार आसपास नजिकै पहिरोले बाटो अवरुद्ध पारेको थियो । मुग्लिन कटेर आबुखैरेनी पुग्दा झमक्कै रात परिसकेको थियोे । बिजुलीको प्रकाशले उज्यालो देखिने ठाउँबाहेक टाढाको बस्तु देखिने अवस्था थिएन । हामी एक्लेफाँट पुग्दा पोखराबाट अमृत गुरुले फोन गर्नु भएको थियोे ।
‘कता पुग्नुभो गुरु ?’
‘एक्लेफाँट, खाना यतै खाएर आउँछौं । पोखरा पुग्दा २ बज्छ । हामी होटेलमा बस्छौँ, बिहान सम्पर्क गर्छौँ नि तपाईंलाई ।’
अमृत गुरु भन्दै हुनुहुन्थ्यो, ‘त्यस्तो हँुदैन । तपाईंहरू जति बजे पोखरा पुगेपनि फरक पर्दैन, म रिसिभ गर्न आइहाल्छु ।’ उहाँले पारिवारिक सद्भाव बाँडेपछि हामी ढुक्कले आफ्नै घर जाँदैछौँ जस्तै गरेर हिँडिरह्यौँ राति राति । तनहुँ पुग्दा दमौली बजार निदाइसकेको थियोे । ठूलठूला बोर्डमा लेखिएको ठेगानाले मात्रै दमौली पुगेको आभाष भयो । उबडखाबड कच्ची बाटोको सास्तीले बाटो काटेको महसुस नभए पनि हामी अमृत गुरुले भनेको समय भन्दा दुई घण्टा अघि पोखरा सहर पुग्यौँ । पोखरा मस्त निद्रामा सुतेको थियोे तर अमृत गुरु हाम्रै इन्तजारमा जागाराम बस्नु भएको रहेछ, सिमानाको रक्षार्थ पोस्टमा खटिएको सिपाहीझंै । हुन त उहाँ एक सेवा निवृत्त सिपाही पनि हो । आज उहाँ सिमानाको रक्षा गर्न नभएर पाहुनाको स्वागार्थ खटिनु भएको थियो आफ्नै घरमा । मोबाइलको एक घण्टीमै फोन रिसिभ भएपछि हामीलाई लिन उहाँ राती १२ बजे बुद्ध चोक आउनु भएको थियोे । भन्दै हुनुहुन्थ्यो, ‘अरे तपाईंहरू त धेरै चाँडो पुग्नु भयो ।’ उहाँको कारलाई पच्छाउँदै मल्लगुरुको कार पछि लाग्यो र आजको यात्राले विराम लियो अमृत गुरुको घरको आगनमा पुगेर । कार्यक्रम भोलि साँझ पाँच बजे हुने भएपछि हतार थिएन हामीलाई । सुतियो विन्दासले निद्रादेवीलाई काखमा राख्दै ।
हतार नभएकाले आरामसँग अबेर उठियो । आमा र म्याडमको खुल्ला स्वभावले अमृतजीको घर आफ्नै घरझै लाग्यो । आमा कुरा सुनाउँदै हुनुहुन्थ्यो विहान, ‘तपाईंहरूलाई घर ल्याउन भनेर अमृत एक झपक पनि निदाएन नि बाबु ।’ बुढेसकालमा पनि आमाको सक्रियता देखेर हामीलाई पनि हौसला जाग्यो । मैले मेरी दिवंगत आमाको छायाँ अमृत गुरुको आमामा पाएँ । उहाँको घरमा बसुन्जेल आमाको न्यास्रो बिर्सिएँ ।
जीवनको पहिलो यात्रा थियोे मेरो लागि पोखरा । पोखरा घुमेर अघाउनु पनि थियो । हामीलाई आफ्नै कारमा राखेर अमृत गुरुले पुर्याउनु भयो सराङ्गकोट । घरबाट निक्लदा माछापुच्छ्रे्रको केही अंश घलेचोकबाट देख्ने अवसर जुरेपनि सराङ्गकोटको भ्युटावरबाट सङ्लो माछापुच्छ्रे हेर्ने सपना कुहिरोको कारणले पुरा हुन सकेन । पोखरा सहर र फेवाताल भने धित मरुन्जेल हेर्यौं । पोखराका ऐतिहासिक ठाउँहरूको बारेमा ब्रिफिङ्ग भने अमृत गुरुले मजैले दिनु भयो । तुलनात्मक रुमले आज पोखरामा गर्मी बढेको थियोे रे । त्यही भएर पनि होला सराङ्गकोटमा पर्यटकहरूको उपस्थिति थिएन । पोखराको आकाशमा प्यारासुट पनि उडेका थिएनन् । आकाश रित्तो थियोे । फेवातालमा डुङ्गा सवार नहुँदा चहलपहल थिएन । मौनताको क्यान्भासमा उभिएर फेवा निलो आकाश नियालिरहेको थियोे । सरुभक्तको ‘पागल बस्ती’ देख्ने अवसर अमृत जीले जुराई दिनु भयो । प्रकृतिको आँचलमा सजिएर पारीको ह्वाइट गुम्बा नियाल्दै ‘ॐ माने प्यामे हुम’ भजन गाइरहेछ पागलबस्ती । पागलबस्ती भित्र बसोम्बास गर्ने रहेछन् सुन्दर मनभएका मान्छेहरू । जहाँ न पाप छ, न तेरो–मेरो । न रिस न अहंकार ।
केहीछिन सराङकोटको बसाइपछि ओरालो झ¥यौँ । लाग्यौं विन्द्यबासिनी मन्दिर, बागबजार, बग, दिप हुँदै बाटुलेचौर महेन्द्र गुफा । बाटुलेचौर झलकमान गन्धर्वको जन्म भूमि हो । झलकमानलाई श्रद्धाभावले नमन नगरी मनले मानेन । गुफा भित्र भने पर्यटकहरूको भिडभाड नै थियोे । गुफाभित्रको आद्रताले बाहिर निक्लन मन मानिरहेको थिएन । गुफा अवलोकनपश्चात् घर पुगेर हतार–हतार फर्कियौँ कार्यक्रमस्थल हिमालयन रिडर्स कर्नर न्युरोड । पोखरेली साहित्यकारहरूको उपस्थिति भइसकेको थियोे । ढिलो नगरी समयमै सुरु भएको कार्यक्रममा सम्भवतः पहिलोपटक सहभागी हुन पाउँदा खुसी लाग्यो । उक्त कार्यक्रमको अनुसरण जोकोहीले गर्न जरुरी छ । ‘भाषाको बकपत्र’ माथि डा. इश्वरमणि अधिकारी सरको सटिक समीक्षापछि उक्त कृति भित्रबाटै रीता अधिकारी ऋतुले सुन्दर आवाजमा कविता वाचन गर्नु भएको थियोे । कृतिकार महेन्द्र मल्ल सरको भनाइसहित कविता र गजल वाचनपश्चात् निर्धारित समयमै कार्यक्रम सकिएको थियो । यस्ता सुन्दर कार्यक्रमको साक्षी अक्सर कमै बस्न पाइन्छ ।
लेकसाइडको रात्रीकालीन बखान नसुनेको होइन । आज त्यही पुगेर लेक साइडको रात्रीकालीन रहस्य बुझ्नु थियोे । कार्यक्रमस्थलबाट सिधै लाग्यौं लेकसाइड । युरोपको सहर जस्तो लाग्ने लेकसाइडको ऋृङगार कुनै दुलहीको भन्दा कम थिएन । डान्सबारहरूमा नाचगान चलिरहेको थियोे । मान्छे आआफ्नो सुरमा व्यस्त । कुनै भय र त्रास छैन । दिउँसो सुतेर रातमा पो ब्यँुझिने रहेछ लेकसाइड । कृष्ण जन्मअष्टमी भएर पनि होला सडक बाहिर भक्तजनहरू कृष्णको भक्तिगानामा लिन थिए । फेवा किनारमा सञ्चालन क्याफेका स्टाफहरू पाँच सयमा दुईव टा वियर भन्दै ग्राहक फकाउँदै थिए ।
सबैको उद्देश्य भोलिनै सुर्खेत पुग्ने भएकाले साँझको भोजन ग्रहन पछि हामी सबै चाडै निदायौँ । बिहान चार बजे पोखरा छोड्ने योजना बनाए पनि हामीले उक्त योजनालाई पच्छाउन भने सकेनौं । के–के गर्दा पाँच बजिहाल्यो । अमृतजी, म्याडम र आमासँग हतार–हतार विदा माग्दै पृथ्वी चोक पुगेपछि दक्षिण स्याङ्जा जाने बाटो मोडियौँ । पोखरा ब्युँझिने तरखरमा थियोे । एक घण्टाको हिँडाइपछि पुग्यौं स्याङ्जा जिल्लाको सिमाना ठुलढुङ्गा । मान्छेहरूको चहलपहलले गाउँ बस्ती ब्यँुझिए पनि स्याङ्जाका पहाडहरू कुइरोको सिरक ओडेर गुटुमुट निदाइरहेका थिए । बक्ररेखा जस्तो बाटोमाथी हिँड्दा सवारी साधनको स्पिड हुने कुरा भएन । ‘कस्ता मोडहरू है’ भनेर मैले के भनेको थिएँ, ‘यहाँ त के मोड छन् र अलि अघि पुगेपछि छन् मोडहरू’ यही भनेर तर्साउँदै हुनुहुन्थ्यो मल्ल गुरु । किनभने पोखरा–स्याङ्जा मेरो पहिलो यात्रा थियोे । यहाँको भुगोलको बारेमा मलाई जानकारी हुने कुरा पनि भएन ।
जंगलको यात्रा काटेर पुग्यौँ पेदीखोला हुँदै पुतलीबजार, राङखोला । त्यहाँ पुग्दा बिहानको साढे सात बजेको थियोे । दुमसाइलो भुबनोट । वरिपरि डाँडाकाँडा । पेदीखोलादेखि वालिङ्गसम्मको भुबनोट उपत्यका बनेर फैलिएको छ । उर्वर माटो र त्यही माटोमा झुलेका छन् धानका लहलह बालाहरू । २०५५÷०५६ सालतिरको कुरा हो, भर्खर–भर्खर गुटुमा मोटरबाटो पुगेको थियोे । जुम्ला–कालीकोट बाटो पुगेको थिएन । गुटु एक व्यापारिक केन्द्र बनेको थियोे त्यतिबेला । स्याङ्जा पुतलीबजारबाट व्यापारको शिलशिलामा लक्ष्मी प्रधान दिदी आउनु भएको थियोे । हाम्रै घरमा थियोे उहाँको पसल । तिहारमा मलाई टीका लगाएपछि उहाँ धरम दिदी बन्नु भएको थियो मेरो । काठमाडौं–बुटवल आउँजाउँ गर्दा भान्जा अमर र दिदीले स्याङ्जा आउन निम्तो दिए पनि दिदीको घर पुग्ने अवसर पुगेको थिएन । आज दिदीकै घरको आगन भएर हिँड्दा पनि एकछिन झरेर भेट्ने समय नभएकाले बटौली नपुगुन्जेलसम्म मन पिरोलिरह्यो दिदीको सम्झनाले ।
त्रिशूल, जैसीडाँडा, हेलु, हुँदै वालिङ बजार पुग्यौँ । वालिङ बजार गुलावी कलरको जामा लगाएर उभिएको छ । वालिङका घरहरू एउटै रंगको आवरणमा सजिएकोले सहर सुन्दर देखिन्छ । सहरको सुन्दरता भनेकै सफासुघर र पृथक पहिचान हुनु हो । त्यही सुन्दरतामा चम्किएको छ वालिङ बजारको महक । सहरको पुछार भाग हुँदै बगेको छ आँधिखोला । पाक्ने तरखरमा छन् धानका बालाहरू । आँधिखोला देखेपछि त्यही पुरानो गितको स्मरण भयो ।
आँधिखोला उर्लेर आयो
आउने थिँइन मायाले बोलायो…
पंतिकार भने गुलाबी वालिङ सहरमाथि नजर पोख्दै गल्याङ्ग पुग्यो । जहाँ प्रतिकूल अवस्था हुन्छ एड्भेन्चरका सम्भावनाहरू त्यहीभित्र लुकेका हुन्छन् । त्यही सम्भावनाको खोजीमा होला गल्याङको खोचमा बग्ने आँधिखोलामाथी आकासे झोलुङ्गे पुल निर्माण भएको । पर्यटकहरूको मन लोभ्याउन तत्लिन छ उक्त फलामे लहरो । हामी पनि सो पुल देखेर त्यही ठाउँमा केहीबेर अल्झियौँ । पुलमा उभिएर मल्ल गुरु र पहलले टिकटक बनाए, मैले भने तस्बिर खिचँे ।
कैलालीको भासुभीरको भुबनोट र गल्याङ भिरको भुबनोट एउटै–एउटै छ । भीर देखेर मन डरायो । डरैरडमा यात्रा अघि बढ्यो पहरामा । सानासान मोड–कुइनेटाहरू उछिन्दै झ¥यौ राम्दी । खोचमा अवस्थित छ राम्दी बजार । बजारको पैतला छुँदै आडैमा बगेको छ गण्डकी नदी । त्यही नदी माथि छ राम्दीपुल । पुतली बजार र वालिङ जस्तो चौडा र फराकिलो नभएपनि साघुरो खोचमा पहिचान बोकेर स्वागत गरिरहेकोछ हरकोही आगन्तुकलाई राम्दी । यही पुल हो, यही हो ठाउँ हो, यही माटो हो । नारायण रायमाझीले शब्दमा उनेर लेखेको अजर अमर गितः
राम्दी पुल तरने बित्तिकै, बाँचे भेट मरे त यत्तिकै…
राम्दीपुल नै हो स्याङ्जा र पाल्पा जिल्लाको सिमाना जोड्ने । पुल तरेपछि बाउँफेरो हाल्दै उकालो हुँदै उक्लियौ आर्यभञ्ज्याङ । इन्द्रको वहान गजराज हात्तिको मेरुदण्ड जस्तो ठाउँमा अवस्थित छ आर्यभञ्ज्याङ । आर्यभञ्ज्याङ पुग्दा मान्छेहरू आफ्नै लयमा व्यस्त थिए । ढाकरमा तरकारी बोकेर झरी रहेका थिए माथि गाउँदेखि तल किसान ।
आर्यभञ्ज्याङ पछि छोडेर अघि बढेपछि केही समयमा तल फाँटमा देखियो पाल्पाको सुन्दर ठाउँ माडी । वरिपरि ठूलठूला भवनहरू छन् बिच भागमा छ उर्वर भूमि । माडी पाल्पा जील्लाको सबैभन्दा अन्न उत्पादन गर्ने क्षेत्र हो । अझै अघि बढेपछि घाम, छायाँ र कुइरोको आँचलमा मुस्कुराइरहेको देखियो सुन्दर तानसेन बजार ।
मल्ल गुरुका पनि गुरु रहेछन् त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख टंकप्रसाद भट्टराई । सुर्खेत क्यामपसबाटै भट्टराई सरले प्राध्यापन पेशा सुरु गर्नु भएको रहेछ । हामी पोखरा हुँदा नै पाल्पा आउन मल्ल गुरुलाई निम्तिो दिइसक्नु भएको थियोे । तानसेनमा खानाखाने पक्का भएसँगै टंक सरले पच्छ्याइरहनुभएको थियोे मल्ल गुरुलाई । क्याम्पसकै प्राङ्गणमा भेट भयो उहाँसँग । खुबै मज्जाको हुनुहुँदो रहेछ टंक सर । अचेल नेपालका केही सहरहरूमा होटल पौवा एक ब्राण्ड बनेको छ । पौवा होटेल तानसेनमा पनि आफ्नो उपस्थिति जनाइरहेको छ । आजको अतिथि सत्कार पौवामा हुने भएपछि हामी पनि सरको पछिपछि त्यतै लाग्यौं । डाइनिङ्ग टेवलमै अतित–वर्तमानका बारेमा केही भलाकुसारी भए । कर्णाली प्रदेशको वर्तमान अवस्था र मध्यपश्चिम विश्वविद्यालयप्रति सरको चाँसो र चिन्ता थियोे ।
सुर्खेतप्रति भट्टराई सरको ममता अझै पनि घटेको रहेनछ । उहाँको दिलको भित्तामा सुर्खेतको माया अल्झीबसेको रहेछ । कुरा सुन्दा यसो लाग्थ्यो सुर्खेतबाट नफर्किने मन हुँदाहुँदै पनि भट्टराई सर पाल्पा फर्कनु भएको रहेछ । यतौ बसौँ भन्दै हुनुहुन्थ्यो सर । घर छोडेको पनि एघारौं दिन भइसकेको थियोे । पहलले लिएको विद्यालयको बिदा पनि सक्किसकेको थियोे । महेन्द्र गुरु क्याम्पस जानु पर्ने र पंतिकार नियमित आफ्नै कार्यक्षेत्रमा फर्कनु पर्ने भएकाले हामी बिदाबारी हुँदै बटौली झ¥यौँ ।
तानसेनबाट बटौली झर्न चालीस मिनट लाग्यो होला । तेह्र गते साँझदेखि हामी सँगै थियाँै । हाम्रो यात्राका एक सारथी थिए सिकन्दर यादव । उनी बुटवलबाट छुट्टिएर पूर्व लाग्दै थिए, हामी पश्चिम । एउटा चुम्बकका दुई विपरित ध्रुव भएर हामी बटौली बसपार्कबाट छुट्टियौं । अघिसम्मको पहाडी यात्रामा गर्मीको कुनै महसुस थिएन । बटौली झरेपछी मधेस लाग्यो । बाहिरी हावा खाएर हिँड्ने स्थिति थिएन । एसीको हावा खाँदै कार महेन्द्र राजमार्ग माथि एकनासले दौडिरह्यो । जानेबेलाको जस्तो उत्साह फर्कदा नहुने रहेछ । गोरुसिङ्गे अघि पुगेपछि एउटा क्याफेमा आएर यात्रा अडियो । शरीरमा आएको आलस्य कफिको चुस्कीमा मेटायौँ र आलस्य भगायौँ ।
धानखोला पुग्दा चार बजिसकेको थियोे । जानेबेला भन्दा तीव्र थियोे कारको गति । गुरुको ड्राइभिङमा कन्फिडेण्ट उत्तिकै । कालाकाटे हुँदै भालुवाङ पुग्ने तरखरमा थियौँ हामी । बजारमा नयाँ आएका गित र कलाकारप्रति गुरु मल्ल र पहलको उत्तिकै ज्ञान रहेछ । म भने त्यस मामिलमा उहाँहरू भन्दा धेरै पछि रहेछु । कलाकारहरूकै कुरा चलिरहँदा कारमा समीक्षा अधिकारीको गित बजिरहेको थियोे । म मौन थिएँ । गितका कतिपय शब्दहरूले छोएपछि मान्छेलाई रुने बनाउने रहेछ । गित सुनेपछि मलाई पनि अधिकारीका गितका शब्दहरूले भावुक बनायो । हामी पुग्यौं भालुबाङ्ग । पुलमुनि बगिरहेको छ पूर्वबाट पश्चिम दिशा हुँदै राप्ती नदी । नदीको किनारमा निदाइरहेको छ सेतो बगर । राप्ती नदीमा उर्लीरहेका छाल देखेपछि माइली दिदी र भिनाजुको सम्झनाले छाति पोल्यो । मन बाउँणियो, हररर आँत जल्यो । भक्कानिएको मनबाट परेलीका डिल हुँदै आँसु गाडीको सिटमा खसेको चाल भएन ।
कोरोनाले दुई वर्षअघि दिदी–भिनाजुको मृत्यु भएको थियो । यही राप्ती नदी किनारबाट तल सिधनियामा उहाँहरूको भौतिक शरीर समाधिष्ट भएको थियोे । यिनै उर्लेका राप्तीका लहरमा भान्जा दिवसले कफिनमा बेरेर अस्तु बगाएको थियो । मेरो मन भने दिदी–भिनाजुको अस्तु खोज्न उर्लेका छालहरूमा डुबेर तलै दौडियो ।
आफ्नो नयाँ पहिचानसहित लुम्बिनी प्रदेशको राजधानी हुने सुरसारमा खुट्टा टेक्दै गरेको छ दाङको देउखुरी । देउखुरी उपत्यकाको शीरमाथि उभिएको छ चुरे पहाड । बलगम तन्किएझैँ लमतन्न फैलिएको छ राप्ती उपत्यका पूर्वदेखि पश्चिमसम्म । म भने निलो आकाशको क्यानभासमा पश्चिमबाट पूर्वतर्फ बढीरहेका बादलका थुम्काहरूलाई कल्पनाको कुचीले जोड्दै–छुट्टाउँदै दिदीको आकृति चुपचाप बनाउँदैछु आकाशमा । वायुयानको गतिमा गुरु महेन्द्र मल्लले कार हाँकीरहनु भएको छ । कारमा बजीरहेको संगीतको धुनमा पहल मौन छ । हामी लमही, कुसुम, कोहलपुर, छिन्चु हुँदै सुर्खेत पुग्यौँ । आवास क्षेत्र पुग्दा घण्टाघरको घडीले साइरन बजाएपछि थाहा भयो रातको १० बजे पो सुर्खेत पुगिएछ ।
प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार ०५:०३
धिरेन अनुपम ।