सडक स्तरोन्नति तीव्र
मदन भण्डारी राजमार्गअन्तर्गत सुुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सडक स्तरोन्नतिको कामले गति लिएको छ । धुलियाबिट–भेडाबारी सडक खण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ । राष्ट्रिय राजमार्गको मापदण्डअनुसार सडक निर्माणको काम भइरहेको हो । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ । तीन किलोमिटर सडक कालोपत्रे गर्नका लागि काम सुरु गरिएको छ । बाँकी बोटेचौरदेखि चिङ्गाडसम्मको करिब २५ किलोमिटर सडकखण्डको स्टक्चरको काम ९० प्रतिशत सकिएको छ । उक्त खण्डमा ८० प्रतिशत ग्रावेलको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । अब मेसिनको काम मात्र बाँकी छ । राजमार्गमा कालोपत्रे भइरहेको सडक दुई लेनको बन्नेछ । अहिले औषत चार मिटर चौडाइ रहेको सडकलाई स्तरोन्नति गरेर नौ मिटर बनाउन लागिएको हो ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उक्त सडक खण्डमा अहिले निर्माण कार्य धमाधम भइरहेको छ । करिब ५२ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ । दसैँ अगाडि नै तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । अब करिब २५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि तयार भएको छ । थोरै मात्र स्टक्चरको काम बाँकी छ । आयोजना अन्तर्गत सुर्खेत र गुर्भाकोट खण्डमा रुख कटानको काम सकिएको छ । रुख कटानको काम सकिएलगत्तै निर्माणको कामले गति लिएको हो । लेकवेशी खण्डमा समेत काम भइरहेको छ । सडकखण्डमा १२ वटा मोटरेवल पुल निर्माणको काम धमाधम भइरहेको छ । जसमध्ये दुई वटा पुल निर्माण सम्पन्न भएका छन् । छुट्टा–छुट्टै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको छ । पुलको ठेक्का सम्झौता फरक–फरक निर्माण कम्पनीसँग गरिएको छ । सात वटा पुलको ठेक्का भएकोमा दुई वटा पुल निर्माणको काम सकिएको छ भने पाँच वटा पुलको फाउन्डेसनको काम सम्पन्न भएको बताइएको छ । अबको तीन महिनामा पाँच वटा पुल निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ ।
स्तरोन्नति भइरहेको सडक खण्डले पूर्वी सुर्खेतका मुख्य व्यापारिक केन्द्रहरूलाई जोेड्छ । यस क्षेत्रमा वीरेन्द्रनगर, लेकवेशी र गुुर्भाकोट नगरपालिकाका भू–भाग पर्दछन् । राजमार्ग अन्तर्गत ३५ किलोमिटर क्षेत्र पूर्वी सुर्खेतमा रहेको छ । पहिल्यै बनेका सडकलाई जोडेर स्तरोन्नतिको काम भइरहेको हो । विगतमा निर्माणको काममा ढिलाइ हुँदै आएको छ । तर पछिल्लो समय गति पाएको छ । यसलाई ढिला नगरी निर्धारित म्यादभित्रै काम सम्पन्न गर्नेगरी अघि बढाउन जरुरी छ ।
प्रकाशित मितिः १९ आश्विन २०८०, शुक्रबार ०५:०३
सम्पादकीय ।