हुर्के–जामु सडक कालोपत्रे हुँदै

सुर्खेत: हुर्केदेखि तरंगा हुँदै जामु जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाका तीन वटा वडालाई जोड्नेगरी सडक कालोपत्रे गर्न थालिएको हो ।

बराहताल–८ हुर्केदेखि सुरु हुने सडकले कुम्भिकोट, तरंगाको केउरेनी, साझघाट, कुटा, चेपाङ हुँदै पञ्चपुरी नगरपालिकाको जामुसम्म जोड्ने भएपनि पहिलो चरणमा भने हुर्केदेखि साझाघाटसम्म कालोपत्र गर्न लागिएको हो । १६ दशमलव ५ किलोमिटर सडक कालोपत्रका लागि आज (बिहीवार) देखि काम सुरु भएको पूर्वाधार विकास निर्देशनालयका सवइन्जिनियर प्रेमचन्द पाण्डेले जानकारी दिए ।

सडक कालोपत्रेको जिम्मा खड्का कृष्ण–सेभेन शंकर जेभीले पाएको छ । तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ६१ करोड ५९ लाख ३० हजारमा ठेक्का सम्झौता गरेको हो । सम्झौताअनुसार २०८३ असार १५ गतेसम्म कालोपत्रेको काम सम्पन्न हुनुपर्नेछ ।

२०५४ सालदेखि सञ्चालनमा आएको उक्त सडक लामो समयसम्म पनि स्तरोन्नति हुन सकेको थिएन । कच्ची सडकमै नियमित सवारी साधन सञ्चालन हुँदै आएका छन् । जीर्ण सडकका कारण बराहताल गाउँपालिकाको वडा नं. ३, ४, ५, ६ र ८ का नागरिकहरूले सास्ती भोग्नु परिरहेको छ । उनीहरू दैनिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडक कालोपत्र भएपछि बाह्रैमहिना यातायातको सहज सुविधा पाइने अपेक्षा स्थानीय नागरिकको छ ।

प्रकाशित मितिः   १९ आश्विन २०८०, शुक्रबार ०५:०१