न्यायिक समितिप्रति विश्वास बढ्दै
सुर्खेत: न्यायिक समितिलाई संविधानले देवानी प्रकृतिका विवाद स्थानीय तहबाट निराकरण गर्नसक्ने अधिकार दिएको छ । स्थानीयस्तरमै विवाद समाधान गर्न थालिएपछि न्यायालयमा धाउनुपर्दा सास्ती भोग्नुपर्ने समस्याबाट नागरिकलाई सहज भएको छ । न्यायिक समितिले स्थानीयस्तरमा हुने विवाद खासगरी देवानी प्रकृतिका मुद्दाहरू अंशवण्डा, साँध मिचिएको, घरेलु झै–झगडा, लेनदेन आदि विषयहरू निरूपण गर्ने अधिकार पाएको छ । पछिल्लो समय न्यायिक समितिप्रति नागरिकको विश्वास बढ्दै गएको पाइएको छ ।
पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १० की एलिना पुन दुई वर्षअघिदेखि चल्दै आएको लेनदेनको झगडा हालै टँुङ्गिएपछि खुसी छिन् । ‘दुई वर्षदेखि म र मेरो छिमेकीबीच लेनदेनसम्बन्धी विवाद थियो । हामी कहिल्यै मिल्न सकेनौँ, दुवैलाई आफ्नै कुरामात्र जायजजस्तो लाग्ने’, एलिनाले भनिन्, ‘नगरपालिकाको न्यायिक समितिमा गयौँ, दुवै पक्षलाई राखेर छलफल गरियो । हामी दुवै खुसी भयौँ र हाम्रो सम्बन्ध पनि सुध्रियो ।
दुई वर्षअघि एलिनाले छिमेकीलाई ५७ हजार रूपैयाँ सापटी दिएकी थिइन् । उनीहरूबीच बेला–बेला विवाद भइरहने गरेको थियो । न्यायिक समितिमा पुगेपछि आफूहरूबीचको समस्या समाधान भएको उनले बताइन् । ‘न्यायिक समितिले यस्ता झगडा मिलाउँछ भन्ने सुनेर मैले निवेदन दर्ता गराएँ र हाल आएर मेलमिलापका माध्यमबाट सधैँका लागि झगडा टँुङ्गिएको छ’, उनले भनिन्, ‘सबैभन्दा ठूलो कुरा त मन मिल्नु रहेछ । हामीबीचको मनमुटाव अब सकिएको छ ।’
भेरीगंगा नगरपालिका वडा नं. ९ का कृष्णबहादुर कामीलाई पनि लेनदेनकै विषयमा विवाद यसैगरी आइलाग्यो । एकहप्ता अघि मात्र लेनदेनसम्बन्धी उनको विवाद न्यायिक समितिबाट सजिलै समाधान भएको छ । न्यायिक समितिमा निवेदन आइसकेपछि सुरुमा विवादित पक्षलाई बोलाउने र विषयवस्तुमाथि छलफल गरेर दुवै पक्षलाई सँगै राखी दुवैको सहमतिमा निकास खोज्ने र विवाद मिलाउने गरेको भरीगंगा नगरपालिकाकी उजुरी प्रशासक यामुना गिरीले बताइन् । पछिल्लो समय गाउँघरमा हुने यस्ता स–साना विवाद न्यायिक समितिको सहयोगमा मिलापत्र गरिँदै आइएको छ ।
न्याय सम्पादन सहज बनाउन थुप्रै असल अभ्यास थालेको भेरीगंगा नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक धनसरा बोहराले बताइन् । नगरपालिकाले उजुरी प्रशासक राखेर काम गरिरहेको भन्दै उनले काम गर्न सहज भइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘वडास्तरमा मेलमिलापकर्ता, मेलमिलाप संयोजक, मेलमिलाप केन्द्र स्थापना गरेका छौँ । वडाका विवाद वडामै समाधान हुन्छन् । वडाले नसकेका विवाद नगरपालिकामा आउँछन् ।’
नगरपालिकामा गतवर्ष ६२ वटा मुद्दा न्यायिक समितिमा दर्ता भएका थिए । त्यसमध्ये लेनदेनका मात्र २७ वटा मुद्दा दर्ता भएको समितिले जनाएको छ । गतवर्ष ६२ मुद्दा दर्ता भएकोमा ५२ मुद्दाको मिलापत्र गरिएको थियो । चालु आवमा नगरपालिकामा १२ वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये पाँच वटा मुद्दा लेनदेनका रहेका छन् ।
यस्तै दैलेखको गुराँस गाउँपालिका वडा नं. ३ की विन्द्रा शाहीको लेनदेनको विवाद स्थानीय न्यायिक समितिबाट समाधान भयो । उनको छिमेकीसँग भएको लेनदेनसम्बन्धी विवाद हालै टुँगिएको हो । तीन वर्षअघिदेखि पैसा लेनदेनको विषयमा विवाद हँुदै आएको थियो । गाउँपालिकाको न्यायिक समितिमा पुगेपछि आफूहरूबीचको समस्या समाधान भएको शाहीले बताइन् । सोही वडाका पर्वत खत्रीको विवाद पनि स्थानीय मेलमिलाप केन्द्रबाट समाधान भएको छ । पशुचौपायाले बाली खाइदिएपछि छिमेकीसँग पटकपटक विवाद हुनेगरेको उनले बताए । यस विषयमा छलफल र मेलमिलाप गराउँदै आए पनि क्षणिक मात्र हुनेगरेको थियो । खत्रीले भने, ‘लामोसमयदेखिको विवाद मिल्यो । हाम्रो सम्बन्ध पनि राम्रो भयो ।’ मेलमिलापको माध्यमबाट समस्या समाधान भएको उनले बताए ।
घरेलु हिंसा र लेनदेनका उजूरी धेरै
दैलेखको गुराँस गाउँपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्ममा कूल १४ वटा उजुरी दर्ता भइसके । न्यायिक समितिका संयोजक सिवाकुमारी खड्काले साउनदेखि हालसम्म १४ वटा उजुरी आएको जानकारी दिइन् । न्यायिक समितिमा आएका उजुरीमध्ये पाँचवटा मुद्दा मिलापत्र भएका छन् । सो गाउँपालिकामा न्यायिक समितिमा आएकामध्ये सबैभन्दा धेरै सात उजुरी लेनदेनका रहेको संयोजक खड्काले बताइन् । जग्गा विवाद बाटोघाटो, घरायसी झै–झगडा, कुलोपानी, खेतीपाती नोक्सानीलगायतका मुद्दा रहेको न्यायिक समितिले जनाएको छ ।
गाउँपालिकामा गत आर्थिक वर्षमा ५८ उजुरी दर्ता भएका थिए । त्यसमध्ये न्यायिक समितिको निर्णयबाट २९ र मेलमिलापको माध्यमबाट १५ वटा गरी ४४ मुद्दा मिलापत्र गरिएको थियो । गतवर्ष परेका मुद्दामध्ये घेरलु हिंसाका मुद्दा धेरै थिए । १५ वटा घरेलु हिंसाका मुद्दा न्यायिक समितिमा परेका थिए । आएका उजुरीलाई मेलमिलापको नीति अपनाएर मिलाउने गरिएको संयोजक खड्काको भनाइ छ । गाउँपालिकाले न्याय सम्पादनलाई प्रभावकारी बनाउन उजुरी प्रशासक समेत नियुक्त गरेको छ ।
प्रकाशित मितिः १९ आश्विन २०८०, शुक्रबार ०५:०५
रजनी याेगी ।