परीक्षण उडानमै अलमल

कर्णाली प्रदेशका दुई वटा विमानस्थल निर्माण सम्पन्न भइसकेर पनि सञ्चालनमा आउन सकेका छैनन् । पटक–पटक परीक्षण उडानको कार्यतालिका प्रभावित हुँदै आएको छ । कालीकोटको सुनथराली र डोल्पाको मसिनेचौर विमानस्थल शनिवार परीक्षण उडान गर्ने भनिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले असोज १३ गते दुई वटै विमानस्थलको एकैपटक परीक्षण उडान गर्ने बताएका थिए । तर मन्त्री किराँतीले भने अनुसार उडान हुन सकेन । यो दोस्रो पटक स्थगित गरिएको हो । यसअघि गत भदौ १३ गते गर्ने भनिएको परीक्षण उडान पनि स्थगित गरिएको थियो । जहाज अभाव र प्राविधिक तयारी नपुगेको भन्दै परीक्षण उडान स्थगित गरिएको जनाइएको छ । निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन नहुँदा नागरिकले सहज यातायात सेवा पाउन सकेका छैनन् । उडान गराउन भने विभिन्न वहानामा आलटाल हुँदै आएको छ ।

कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नं. १ मा रहेको सुनथराली विमानस्थलमा २०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो । विमानस्थल निर्माण कार्य सम्पन्न भएपनि नियमित सञ्चालनमा आउन सकेको छैन । पुनः परीक्षण गरेर नियमित गर्ने तयारी गरिएको छ । ३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ । तर परीक्षणकै ढिलाइ भइरहेको छ । वैशाख १, भदौ १३ र असोज १३ गरेर तीन पटक परीक्षण उडानको तालिका स्थगित भएको छ । शनिवार नै सुनथरालीसँगै डोल्पाको मसिनेचौर विमानस्थलको पनि परीक्षण उडान गर्ने जनाइएको थियो । तर अन्तिममा स्थगित गरिएको छ । निर्माण कार्य सम्पन्न भइसक्दा पनि मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर, अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन । डोल्पामा हवाई यातायातको लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ ।

नागरिकलाई सहज सेवा प्रदान गर्नका लागि विभिन्न पूर्वाधार निर्माण गर्ने गरिएको छ । सडक यातायातको सहज पहुँच नभएका कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा विमानस्थल निर्माण गरिएको हो । तर निर्माण भइसक्दा पनि विममानस्थल सञ्चालनमा ल्याउन बेवास्ता र लापरबाही हुने गरेको छ । यसले गर्दा न त बनाइएका पूर्वाधार उपयोगमा आएका छन् न नागरिकले सेवा पाएका छन् । दुवै विमानस्थलमा परीक्षण गरेर नियमित उडानका लागि सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   १५ आश्विन २०८०, सोमबार ०५:०३