कर्णाली राजमार्ग

साँघुरा घुम्ती फराकिलो बनाइँदै

 

सुर्खेत: कर्णाली राजमार्गमा रहेका साँघुरा घुम्ती (मोड) फराकिलो बनाइने भएको छ । सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको साङ्गेतडासम्मका साँघुरा मोड फराकिलो बनाउन लागिएको हो । पेट्रोलियम पदार्थ अन्वेषणका लागि ठूला उपकरण ल्याउनुपर्ने भएपछि मोड सुधार गर्न लागिएको हो । सरकारले अन्तिम चरणको पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेको छ ।

सडक साँघुरो हुँदा उपकरणसहितका ठूला गाडी ल्याउन समस्या हुनेभएकाले सडक फराकिलो पार्न लागिएको जनाइएको छ । कर्णाली राजमार्गका धेरै घुम्ती साँघुरो भएकोले सवारी साधन चलाउन गाह्रो हुने गरेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले कर्णाली राजमार्गमा रहेका साँघुरा मोड सुधार गर्ने भएको हो । मोड सुधारका लागि कार्यालयले गंगामाला बडिमालिका एम.एम. जेभिसँग ठेक्का सम्झौता गरेको छ । अबको एक हप्तामा काम सुरु गर्नेगरी प्रक्रिया अघि बढाइएको कार्यालयका इन्जिनियर अशोक चौधरीले जानकारी दिए । भदौ २७ गते ठेक्का आह्वान गरेको कार्यालयले साइट सर्वेको काम सम्पन्न गरेर असोज १० गते ठेक्का सम्झौता गरेको हो । तीन करोड ८५ लाखमा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार ६ महिनाभित्रमा मोड सुधारका काम सम्पन्न गनुपर्नेछ ।

पेट्रोलियम पदार्थ अन्वेषण आयोजनाले बाङ्गेसिमलदेखि साङ्गेतडासम्मका मोडहरूमा सर्वे गरिसकेको छ । १७ स्थानमा मोड सुधार गनुपर्ने देखिएको सर्वे अध्ययनबाट औल्याइएको छ । आयोजनाले अध्ययन गरेका स्थानमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले फेरि सर्वे गरेको थियो । के कति कटिङ गर्ने, कति मोड सुधार गर्ने लगायतका सर्वे भएका छन् । सम्झौता अनुसार कर्णाली राजमार्गको ८५ किलोमिटर सडक हँुदै उपकरण ल्याउने ठाउँका मोडहरू सुधार गरिनेछ । उपकरण ल्याउँदा आवश्यक परे अन्य स्थानमा समेत मोड सुधार गरिने छ ।

 

जलजलेमा चिनियाँ टोलीको क्याम्प

अन्तिम चरणको पेट्रोलियम पदार्थ अन्वेषण गर्नका लागि चिनियाँ कम्पनीले जलजलेमा क्याम्प निर्माण गर्ने भएको छ । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेको छ । मुआब्जा विवाद समाधान भएसँगै साइट निर्माणका काम थालिएको पेट्रोलियम पदार्थ अन्वेषण आयोजना प्रमुख दिनेश नापितले जानकारी दिए । उनका अनुसार अन्तिम चरणको अन्वेषणका लागि चिनियाँ टोलि नेपाल आइसकेको छ ।

पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको श्रीस्थान, नाभिस्थानलगायतका क्षेत्रमा अन्वेषणका लागि भैरवी गाउँपालिका–१ स्थित जलजलेमा क्याम्प निर्माण गरेर काम अघि बढाइने छ । नेपाल र चीनबीच भएको सम्झौताअनुसार अन्तिम चरणको अन्वेषणको काम हुन लागेको हो । यसअघि दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको आयोजना प्रमुख नापितले बताए । उनका अनुसार तेस्रो चरणअन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइनेछ । चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ । उनले भने, ‘अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ पछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । त्यसैका आधारमा उत्खनन् योजना अघि बढ्ने छ ।’

फागुनभित्रै ड्रिलिङ गरिसक्नुपर्ने भएकाले एकहप्तामा मुआब्जा वितरण गरिसक्ने उनले जानकारी दिए । दैलेखमा २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको अन्तिम चरणको कामको सम्झौता यही फागुनमा सकिदै छ । अहिले जग्गा अधिग्रहण, सडकको स्तरोन्नतिलगायत काम अघि बढेकाले चीन सरकारको अन्वेषणात्मक टोली दैलेख आएर अन्वेषणात्क ड्रिलिङको काम सुरु गर्नेछ । साइट निर्माणको काम भने तत्काल सुरु हुने भएको छ ।

प्रकाशित मितिः   १५ आश्विन २०८०, सोमबार ०५:०५