वृक्षारोपण र संरक्षण

विभिन्न दिवस होस् या अभियान र नयाँ कामको थालनी गर्दा वृक्षारोपण गर्ने गरिएको छ । वृक्षारोपण प्रकृति संरक्षणको महत्वपूर्ण कार्य हो । यसले वातावरणीय सन्तुलन बिग्रन नदिन र हरियाली जोगाई राख्न मात्रै भूमिका खेल्दैन पहिरो रोक्न, पानीको स्रोत बढाउन लगायतका अनेक फाइदा पु¥याउँछ । यही कारण पनि वृक्षारोपणका कार्यहरू हुँदै आएका छन् । पछिल्लो समय विभिन्न दिवसको अवसर पारेर तथा अभियानकै रूपमा समेत वृक्षारोपण गरिँदै आएको छ । सरकारी कार्यालय, बैंक, विभिन्न संघसंस्था, समूहहरूले सडकका छेउछाउ र खुल्ला चौरमा विभिन्न समयमा विभिन्न प्रजातीका बिरुवा रोप्छन् । तर यसरी रोपिएका लाखौँ बिरुवाको अवस्थाबारे भने त्यसपछि कसैलाई अत्तोपत्तो हुँदैन । विरुवा रोप्ने तर संरक्षणमा कसैले ध्यान नदिने गरेको पाइन्छ ।

व्यक्ति, समूह, संघ–संस्थाले सार्वजनिक, सरकारी तथा निजी जग्गामा रोपेका बिरुवा केही समयपछि हराउने गरेका छन् । संरक्षणको स्पष्ट आधारविना जथाभावी रोपिएका लाखौँ बिरुवा यत्तिकै हराउँछन् । बोटबिरुवा रोप्ने व्यक्ति र संस्थालाई समेत त्यसको जानकारी हुँदैन । पछिल्लो समय स्थानीय सरकारले समेत सहरी हरियाली प्रवद्र्धनका लागि हजारौँ संख्यामा बिरुवा रोप्दै आएको छ । रोपिएका बिरुवाको संरक्षण भने हुन सकेको छैन । वृक्षारोपण कार्यक्रमहरूका उद्देश्य बिरूवा रोप्नु त हुँदै हो प्रकृति संरक्षणमा योगदान पु¥याउनु पनि हो । तर सबै कार्यले उद्देश्य प्राप्ती गर्दैनन् । हरेक वर्ष विभिन्न ठाउँमा गरिने वृक्षारोपण पनि त्यस्तै एक दृष्टान्त हो । वृक्ष रोप्ने तर त्यसको संरक्षण नगर्ने प्रवृत्ति फैलिदो छ । यसरी रोपिने बिरूवा कति बाँचे र कति मरे भन्ने एकिन तथ्यांक भने कुनै निकायले राख्दैनन् । जोसुकैले वृक्षारोपण गर्ने हुँदा न लगाउने तरिका मिल्छ, न त लगाएका बिरूवाको अवस्थाबारे हेरफेर गरिन्छ । जसका कारण बर्सेनी रोपिने लाखौं बिरूवामध्ये मुस्किलले आधा मात्रै जोगिन्छन् । बिरूवा रोप्नेहरू बढ्दै गए पनि संरक्षणमा भने कसैको ध्यान पुगेको पाइँदैन । हरेक वर्ष एउटै स्थानमा वृक्षारोपण गरिनु र त्यहाँ बुट्यान क्षेत्र नबढ्नुले यसरी गरिने वृक्षारोपण औचित्यहीन भएको पुष्टि गर्छ ।

जथाभावी रूपमा वृक्षारोपण गरिँदा बिरूवा नबाँच्ने, जलवायु, माटो र प्राविधिक कुरा नमिल्ने लगायतका समस्याहरू देखिने गरेका छन् । वन विज्ञहरूका अनुसार बिरूवा संरक्षणमा उमार्दादेखि नै प्राविधिक कुरामा ध्यान दिनुपर्छ । उपयुक्त स्थान, रोप्ने तरिका र वस्तुभाउबाट समेत बचाउनुपर्ने हुन्छ । यसतर्फ रोप्नेहरूको ध्यान नै पुग्दैन । वृक्षारोपण गर्नु राम्रो हो तर रोपिएका बिरूवा सर्न र हुर्कन पाउने गरी संरक्षण गर्नु पनि वृक्षारोपण गर्नेहरूको दायित्व हो ।

प्रकाशित मितिः   १४ आश्विन २०८०, आईतवार ०५:०३