भेरी पम्पिङ आयोजना टेन्डर आह्वान
सुर्खेत: भेरी पम्पिङ आयोजना निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको आयोजनाको पहिलो चरणको कामका लागि टेन्डर आह्वान गरिएको खानेपानी क्षेत्र पूर्वाधार सहयोग आयोजना प्रमुख सञ्जीवकुमार शाहले जानकारी दिए ।
टेन्डरको अवधि दुई महिना रहनेछ । तीन वर्षमा परियोजना सम्पन्न गर्नेगरी काम अघि बढेको भन्दै उनले परेका टेण्डरको छनोट गर्न थप तीन महिनाको समय लाग्ने जानकारी दिए । पाँच वर्षअघिदेखि भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउन विभिन्न अध्ययन र सर्भे भएका थिए । हाल वीरेन्द्रनगरमा वितरण गरिँदै आएको झुप्रा खोला, खरी र बोरी खोला लगायतको पानी अपुग भएपछि भेरी पम्पिङ आयोजना अघि सारिएको हो ।
टेन्डर प्रक्रियामा गएसँगै भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगरमा ल्याउने कामको थालली भएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । लामो अन्यौलताका बिच भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगर ल्याउने प्रयासले गति लिएको उनको भनाइ छ ।
विश्व बैंकको लगानीमा निर्माण गर्न लागिएको बहुप्रतिक्षित भेरी लिफ्ट खानेपानीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृतसँगै टेन्डर आह्वान गरिएको हो । अहिलेलाई पहिलो चरणको काम अघि बढेको छ । आयोजनाको डिजाइन तथा खरिद सम्बन्धी कागजातलाई परिमार्जन गरेपछि विश्व बैंकले सबै ठिक रहेको प्रतिक्रिया दिएपछि पहिलो चरणको काम सुरु गर्न लागिएको छ । आयोजनाको पहिलो प्याकेज अन्र्तरगत भेरी नदीमा इन्टेक, पानी प्रशोधन केन्द्र, प्रशारण लाइन, रिजर्भ ट्यांकी लगायतको काम गरिने छ ।
प्रकाशित मितिः १४ आश्विन २०८०, आईतवार ०५:०१
साझा बिसौनी ।