सुनथराली र मसिनेचौर विमानस्थल: परीक्षण उडान फेरि स्थगित
सुर्खेत: कर्णाली प्रदेशका दुई वटा विमानस्थलमा गर्ने भनिएको परीक्षण उडान फेरि स्थगित गरिएको छ । कालीकोटको सुनथराली र डोल्पाको मसिनेचौर विमानस्थल शनिवार परीक्षण उडान गर्ने भनिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले असोज १३ गते दुई वटै विमानस्थलको एकैपटक परीक्षण उडान गर्ने बताएका थिए । तर मन्त्री किराँतीले भने अनुसार उडान हुन सकेन । यो दोस्रो पटक स्थगित गरिएको हो । यसअघि गत भदौ १३ गते गर्ने भनिएको परीक्षण उडान पनि स्थगित गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमण गएकाले परीक्षण उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । जहाज अभाव र प्राविधिक तयारी नपुगेको भन्दै परीक्षण उडान स्थगित गरिएको उनको भनाइ छ । पुनः नयाँ तालिका बनाएर कार्यक्रम गरिने जनाइएको छ ।
प्रधानमन्त्री दाहालद्वारा विमानस्थल परीक्षण उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । यद्यपि, दाहाल देश बाहिर रहेकाले कार्यक्रम स्थगित गर्नुपरेको मन्त्रालयले जानकारी दिएको छ । कालीकोट जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य दुर्गबहादुर रावतले प्रधानमन्त्री विदेश गएको र अन्य प्राविधिक तयारी नपुगेकाले स्थगन गर्नुपरेको बताएका छन् । असोज महिनाभित्रै परीक्षण उडान गर्नेगरी तयारी थालिएको उनको भनाइ छ । ‘प्रधानमन्त्री स्वदेश फर्किने बित्तिकै नयाँ कार्यतालिका सार्वजनिक हुन्छ,’ उनले भने, ‘मैले पर्यटन मन्त्रीसँग यस विषयमा जानकारी गराएको छु । उहाँले असोज महिनामै परीक्षण उडान गर्ने बाँचा दिनुभएको छ ।’ छिटो परीक्षण उडान गर्न सरकारलाई दबाब दिइरहेको रावतले बताए । हवाई यातायातको सम्बन्धमा संघीय सरकारले आलटाल गरिरहेको उनको भनाइ छ । निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन नहुँदा नागरिकले दुःख र हैरानी पाइरहेको उनले बताए ।
जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं. १ मा रहेको उक्त विमानस्थलमा २०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो । विमानस्थल निर्माण कार्य सम्पन्न भएपनि नियमित सञ्चालनमा आउन सकेको छैन । पुनः परीक्षण गरेर नियमित गर्ने तयारी गरिएको छ ।
२०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरिएको हो । त्यसको ६ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो । सरकारको योजनामा परेपनि निर्माणको काम भने नियमित हुन सकेन । बिचमा द्वन्द्वका कारण पनि विमानस्थल निर्माण कार्य अवरुद्ध भयो भने द्वन्द्वपछि पनि बिचमै अलपत्र छोड्दा लामो समयसम्म विमानस्थल सञ्चालन हुन नसकेको हो । ३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ ।
शनिवार नै सुनथरालीसँगै डोल्पाको मसिनेचौर विमानस्थलको पनि परीक्षण उडान गर्ने जनाइएको थियो । शनिवार परीक्षण उडान गर्ने तालिका रहेपनि अन्तिममा स्थगित गरिएको हो । निर्माण कार्य सम्पन्न भइसक्दा पनि मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर, अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन । त्रिपुरासुन्दरी नगरपालिमा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भइ २०७२ मा कालोपत्रे गरिएको हो । डोल्पामा हवाई यातायातको लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ ।
डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य बीरबहादुर शाहीले सरकारले पटक–पटक उडान परीक्षण स्थगित गरेर नागरिकलाई दुविधामा पारेको बताए । विभिन्न समयमा सरकारलाई आफूहरूले दबाब दिइरहेको भन्दै उनले सरकारले सुनुवाई नगरेको जानकारी दिए । उनले भने, ‘यो पटक गरेर सरकारले चार÷पाँच पटक परीक्षण उडानको मिति नै सारेको छ । नागरिकलाई निराश पार्ने काम सरकारको तर्फबाट भएको छ । छिट्टै विमानस्थल सञ्चालनमा ल्याउन हाम्रो माग छ ।’
प्रकाशित मितिः १४ आश्विन २०८०, आईतवार ०५:०५
साझा बिसौनी ।