नेतृत्व चयनका लागि मतदान

सुर्खेत: नेकपा (एमाले) कर्णाली प्रदेशको नेतृत्व चयनका लागि मतदान भएको छ । सर्वसम्मतको प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि मतदानमार्फत् नेतृत्व छनोट हुन लागेको हो । दुई वटा प्यानल चुनावमा होमिएका छन् । आइतवार दिउँसो ढिला गरेर सुरु भएको मतदान राति यो समाचार तयार पार्दासम्म जारी रहेको छ ।

यसैबीच प्रदेश सदस्यमा ४४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनका लागि तोकिएको कोटाभन्दा धेरै उम्मेदवारी नपरेको र केही उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि ४४ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध हुनेहरूमा सुर्खेतबाट पूर्णबहादुर शाही, मानबहादुर खत्री, दीपा चन्द, हरिकला राना, लक्ष्मीकुमारी शाही र चन्द्रकला बुढा छन् । जुम्लाबाट धनकृष्ण पाण्डे, भिमबहादुर थापा, जयबहादुर खत्री, नन्दराम रोकाय र चुक्की शाही निर्वाचित भएका छन् ।

यस्तै हुम्लाबाट जयबहादुर शाही, मंगल लामा र रूपा शाही निर्विरोध निर्वाचित हुँदा डोल्पाबाट पूर्णबहादुर डाँगी, विष्णुबहादुर रोकाया, पासाङ लामु रोकाय, धनचन्द्र बैजी, विश्वचन्द्र डसाल र चन्द्राकुमारी बुढा छन् । मुगुबाट डबलबहादुर रोकाय, सोनाम छिरिङ्ग लामा, सुन्तला बुढा, कर्णबहादुर मल्ल, राजबहादुर कार्की र राज्यलक्ष्मी मल्ल पनि निर्विरोध सदस्यमा चयन भएका हुन् ।

त्यसैगरी दैलेखबाट तप्तकुमारी खड्का, सर्वराज महतारा, डा. रमेशकुमार आचार्य तथा रूकुम–पश्चिमबाट कर्णबहादुर वली, गंगाराम चनारा, रचना मल्ल, गणेशकुमार विक र टंकप्रसाद वली निर्विरोध भएका छन् । सल्यानका घनश्याम शर्मा, जीतबहादुर चलाउने, आशा वली, वुद्धिबहादुर केसी र सरिता हमाल छन् भने जाजरकोटबाट ताराकुमारी विष्ट शाक्य पनि निर्विरोध निर्वाचित भएकी हुन् ।

जनजातितर्फ चन्द्राकुमारी थापा मगर र छप्साङ लामा, अल्पसंख्यकमा पदमबहादुर माझी पनि निर्विरोध भएका छन् । लेखा समितिको उपाध्यक्षमा अमरबहादुर चन्द, सदस्यमा कमलाकुमारी शाही, कृष्णाकुमारी मल्ल, मिजाश मल्ल निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मितिः   १५ आश्विन २०८०, सोमबार ०५:०२