अपराधको ग्राफ

महिलामाथि जघन्य प्रकारका अपराध भइरहेका छन् । हिंसाजन्य घटना नियन्त्रण हुन सकेको छैन । बलात्कारजस्ता बर्बर अपराध श्रृंखलाबद्ध रूपमा दिनप्रतिदिन बढ्दै गएका छन् । यस्ता घटनाले समाजलाई असुरक्षित बनाउँछ । महिला तथा बालिकाहरूले आफ्नै समाज सुरक्षित महशुस गर्न नसक्ने परिस्थितिको निर्माण हुँदैछ । महिलामाथि हुने हिंसाका प्रकृतिहरू फेरिँदै गएका छन् तर हिंसाको श्रृंखलामा भने कमी आउन सकेको छैन । हिंसाको रूप झन्झन् विकराल बन्दै गइरहेको छ । घरेलु हिंसाको चरम यातना खेप्दै आएका महिलाहरू पछिल्लो समय बलात्कार जस्तो जघन्य अपराधको सिकार बन्न थालेका छन् । दिन दहाडै बलात्कारको सिकार हुनु परिरहेको छ, त्यो पनि आफ्नै अभिभावक र साथीभाइबाट ।

पछिल्लो समय बलात्कार र जबरजस्तीकरणीका जघन्य अपराधको सिकार बालिकाहरू बनिरहेका छन् । अन्य उमेर समूहका महिलाभन्दा बालिका तथा किशोरीहरू बढी जोखिममा देखिएका छन् । प्रहरी तथ्यांकअनुसार बालिकामाथि हुने बलात्कारका घटना बर्सेनि बढ्दोक्रममा छन् । भदौ यता मात्रै सुर्खेतमा तीन वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । गत भदौ २ गते दैलेखबाट सुर्खेत झरेकी १५ वर्षीया बालिका बलात्कृत भइन् । अटो चालक अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाहीले उनलाई बन्धक बनाएर बलात्कार गरेका थिए । प्रहरीका अनुसार फुपुको घरमा पु¥याइदिन्छु भनेर शाहीले बालिकालाई होटलमा पु¥याएर बन्धक बनाइ जबरजस्ती करणी गरेका हुन् । यस्तै भदौ ३० गते सुर्खेतमै अर्की एक १३ वर्षीया बालिका बलात्कृत भइन् । बिहान स्कुल जान लागेकी बालिकालाई अपहरण गरेर बलात्कार गरिएको हो । बालिका अपहरण गरी काँक्रेविहार जंगलमा लगेर बलात्कार गरेको अभियोगमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले पक्राउ गरेको छ । यही असोज ४ गते पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाकी १३ वर्षीया बालिका सामुहिक बलात्कारमा परेकी हुन् । प्रहरीका अनुसार छिमेकीको घरमा नाचगान हेर्न गएकी उनलाई गाउँकै तीन जना युवाहले पटक–पटक बलात्कार गरेका थिए ।

यसरी पछिल्लो समय बालिका बलात्कारका घटना लगातारजसो भइरहेका छन् । बलात्कृत हुनेमा अधिकांश १५ वर्षसम्मका बालिका छन् । कसैलाई अपहरण गरेर त कसैलाई बन्धक बनाएर बलात्कार गरिएको छ । बलात्कारका बढीजसो घटनामा चिनेजानेका, नजिकका आफन्त र समाजले भरोसा गरेका व्यक्तिहरूकै संलग्नता देखिने गरेको छ । त्यस्ता कैयन् घटनामा परिवारका अभिभावक र सदस्यहरू नै संलग्न हुने गरेको पाइएको छ । बालिकाहरूमाथि बढ्दो असुरक्षा र अपराध नियन्त्रणका लागि सबै सरोकारवालाहरू सजग र सचेत हुन जरुरी देखिएको छ ।

प्रकाशित मितिः   १० आश्विन २०८०, बुधबार ०५:०३