इलाका प्रहरीलाई मुद्दा दर्ताको अधिकार
सुर्खेत: पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय बाबियाचौरले मुद्दा दर्ता गरी अनुसन्धान गर्ने अधिकार पाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मुद्दा दर्तासहित अनुसन्धानको अधिकारको अनुमति दिएको हो ।
प्रतिनिधिसभा सदस्य हृदयराम थानीले इलाका प्रहरी कार्यालय बाबियाचौरलाई मुद्दा दर्ताको अधिकार दिन पहल गरेका थिए । उनले २०७९ चैत १६ गते गृह मन्त्रालयमा निवेदन दर्ता गरेका थिए । पश्चिम सुर्खेतको भौगोलिक अवस्थाअनुसार वीरेन्द्रनगर नै पुग्न असहज हुने भन्दै थानीले इलाका प्रहरी कार्यालयमा नै मुद्दा दर्ताको अधिकारको व्यवस्था गरिदिन अनुरोध गरेका थिए ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी अपराध अनुसन्धान विभाग अन्वेषण तथा योजना शाखाको ४ असोज २०८०, चलानी नम्बर १६०१ को पत्रानुसार ईलाका प्रहरी कार्यालय बाबियाचौरलाई मुद्दा दर्ता गरि अनुसन्धानको प्रक्रिया अगाडि बढाउने अधिकार प्राप्त भएको हो । कार्यालयले मुद्दा दर्ता गरी आवश्यक प्रक्रिया अगाडि बढाउने अधिकार प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
इलाका प्रहरी कार्यालयसँग मुद्दा दर्ता र अनुसन्धानका लागि पर्याप्त स्रोत समेत भएकाले अब उक्त कार्य पश्चिम सुर्खेतबाटै सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जनाए । ‘कार्यालयमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन आवश्यक कार्यालय भवन, व्यारेक भवन, महिला तथा पुरुष हिरासत कक्ष, सवारी साधनलगायतका पूर्वाधारहरू पर्याप्त भएको र उजुरीको दर्ता संख्यामा पनि उल्लेख्य रहेको भन्ने व्यहोरा अवगत भएको हुँदा सर्वसाधारणलाई सहजरूपमा सेवा उपलब्ध गराउन तथा प्रभावकारी ढङ्गले अपराध नियन्त्रण तथा अनुसन्धान गर्न अनुमती प्रदान गरिएको छ’ थापाद्वारा जारी पत्रमा उल्लेख छ ।
साझा बिसौनी ।