बलात्कारीहरूको निशानामा बालिका

 

सुर्खेत: गत भदौ २ गते दैलेखबाट सुर्खेत झरेकी १५ वर्षीया बालिका बलात्कृत भइन् । अटो चालक अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाहीले उनलाई बन्धक बनाएर बलात्कार गरेका थिए । प्रहरीका अनुसार फुपुको घरमा पुर्‍याइदिन्छु भनेर शाहीले बालिकालाई होटलमा पु¥याएर बन्धक बनाइ जबरजस्ती करणी गरेका हुन् । उनी पक्राउ परिसकेका छन् ।

यस्तै भदौ ३० गते सुर्खेतमै अर्की एक १३ वर्षीया बालिका बलात्कृत भइन् । बिहान स्कुल जान लागेकी बालिकालाई अपहरण गरेर बलात्कार गरिएको हो । बालिका अपहरण गरी काँक्रेविहार जंगलमा लगेर बलात्कार गरेको अभियोगमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतमा भइरहेका बलात्कारका घटनाको श्रृंखला यतिमै भने रोकिँदैन । अघिल्लो घटना भएको हप्तादिन नबित्दै फेरि अर्की बालिका बलात्कृत भइन् । यही असोज ४ गते पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाकी १३ वर्षीया बालिका सामुहिक बलात्कारमा परेकी हुन् । प्रहरीका अनुसार छिमेकीको घरमा नाचगान हेर्न गएकी उनलाई गाउँकै तीन जना युवाहले पटक–पटक बलात्कार गरेका थिए । तीन जनाले बलात्कार गरेको, एक जनाले बलात्कारको प्रयास गरेको र थप एक जनाले उनीहरूलाई सघाएको बताइएको छ । उनीहरू पाँचै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसरी पछिल्लो समय बालिका बलात्कारका घटना लगातारजसो भइरहेका छन् । बलात्कृत हुनेमा अधिकांश १५ वर्षसम्मका बालिका छन् । कसैलाई अपहरण गरेर त कसैलाई बन्धक बनाएर बलात्कार गरिएको छ । होटलमा बन्धक बनाएर बलात्कार गरिएकी बालिका दैलेखबाट सुर्खेतमा रहेको फुपूको घर जाने भएर आएकी थिइन् । वीरेन्द्रनगर–४ कालागाउँमा फुपूको घर छ भन्ने थाहा भएपनि उनले घर भने देखेकी थिइनन् । फुपूको घर खोज्दै वीरेन्द्रनगर–६ को गणेशचोक नजिकै बाटो छेउमा उभिरहेकी बालिकालाई अटो चालक शाहीले घरसम्म पु¥याइदिने बताए ।

सुरेन्द्रको विश्वासमा परेर बालिका अटो रिक्सा चढिन् । अटो चालकले करिब दुई घण्टा अटोमा घुमाएपछि राति नौ बजेतिर घर फेला नपरेको भन्दै होटलमा पुर्‍याएको प्रहरीले जनाएको छ । ‘बालिकालाई बलात्कार गर्ने र हत्या गर्ने योजना अनुसारनै उसले सुरुमा जंगलतर्फ लगेको रहेछ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण शाहीले भने, ‘बालिकाले फुपूको घर जान यस्तो जंगलको बाटो जानु पर्दैन भनेर कराएपछि जंगलतर्फ नलगेर रिक्सा फर्काएको पाइयो ।’

होटलमा लगेर बालिकालाई ज्यान मार्ने धम्कीसहित बलातकार गरेको प्रहरीले जनाएको छ । डिएसपी शाहीले भने, ‘मैले भने अनुसार नमाने मारेर फालिदिन्छु भन्दै धम्की दिएर सुरुमा बलात्कार गरेको पाइएको छ ।’ सुरेन्द्रले राति बालिकालाई पनि जबरजस्ती मदिरा सेवन गर्न लगाएर पटक–पटक बलात्कार गरेको बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

अर्कोतर्फ दिनदाहाडै बालिका अपहरण गरेर बलात्कार गर्नेजस्ता जघन्य अपराध हुनुले बढ्दो अपराधको दृष्टान्त देखाएको छ । भदौ ३० गते बिहान स्कुल जान लागेकी बालिकालाई कँडेलले अपहरण गरेर काँक्रेविहारको जंगलमा लगी बलात्कार गरेको प्रहरी प्रवक्ता शाहीले बताए । उनकाअनुसार कँडेलले बालिकालाई अघिल्लै दिनदेखि पीछा गरिरहेका जनाए । डीएसपी शाही भने, ‘काँक्रेविहार जंगलमा पु¥याएपछि बालिकालाई कुटपिट गर्दै बलात्कार गरेको रहेछ ।’
अझ अर्को डरलाग्दो तथ्य के पनि छ भने उक्त युवकले यसअघि पनि अर्की युवतिलाई बलात्कार गरेका थिए । २०७९ कार्तिक ९ गते पूर्वी सुर्खेतकी एक युवतीलाई विवाहको प्रलोभनमा पारी वीरेन्द्रनगर ल्याएर एक होटलमा बलात्कार गरेर फरार भएको डीएसपी शाहीले जनाए । ती युवतीले भोलिपल्टै आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएपनि उक्त युवक पक्राउ परेका थिएनन् ।

पछिल्लो समय बलात्कार र जबरजस्तीकरणीका जघन्य अपराधको सिकार बालिकाहरू बनिरहेका छन् । अन्य उमेर समूहका महिलाभन्दा बालिका तथा किशोरीहरू बढी जोखिममा देखिएका छन् । प्रहरी तथ्याङ्कअनुसार बालिकामाथि हुने बलात्कारका घटना बर्सेनि बढ्दोक्रममा छन् । बलात्कारका बढीजसो घटनामा चिनेजानेका, नजिकका आफन्त र समाजले भरोसा गरेका व्यक्तिहरूकै संलग्नता देखिने गरेको छ । त्यस्ता कैयन् घटनामा परिवारका अभिभावक र सदस्यहरू नै संलग्न हुने गरेको पाइएको छ ।

प्रकाशित मितिः   ९ आश्विन २०८०, मंगलवार ०५:०५