हिल्सा र जुफालमा ‘हिमाली सहर’

बसाइँसराइ घटाउन हिमाली क्षेत्रमा नयाँ सहर निर्माण गरिँदै

सुर्खेत: हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ५ र ६ लाई नयाँ हिमाली नमुना सहर बनाउने काम अघि बढाएको छ । निर्माण गरिने सहरले पर्यटन विकास गर्ने तथा छरिएर रहेको बस्तीलाई एकीकृत गरी सहरीकरण गर्ने उद्देश्यले कार्यक्रम अगाडि बढाइएको हो ।

हिमालबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०७९/०८० मा सरकारले ल्याएको योजना अन्तर्गत हिल्सामा नयाँ सहर निर्माणको काम थालिएको हो । पूर्वाधारसहित योजनाबद्ध सहरीकरण गरी व्यवस्थित कृषि, शैक्षिक, पर्यटन तथा अन्य सेवाहरूको विकास गर्न सरकारले योजना अघि सारेको थियो । हिल्सा नाका हुँदै मानसरोवर कैलाशको दर्शन गर्न जाने पर्यटकका लागि लक्षित गरी सडक तथा भवन निर्माण भइरहेका छन् ।

सरकारले आर्थिक वर्ष २०७९/०८० मा दुई करोड बजेट विनियोजन गरेको थियो । त्यसमध्ये एक करोड बजेट खर्च भएको छ । हिमाली सहर आयोजनाको काम सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले गरिरहेको छ । आयोजनाका इन्जिनियर चन्द्रबहादुर खड्काले नयाँ सहर निर्माणका लागि यो वर्ष बजेट कटौती भएको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा दुई करोड बजेट विनियोजन भएकोमा यो वर्ष ४० लाख मात्र विनियोजन भएको छ । यो वर्षका लागि टेण्डर आह्वान गर्ने तयारी भइरहेको उनले बताए । जग्गा विवाद र बजेट अभावका कारण लक्ष्य अनुसार काम हुन नसकेको उनको भनाइ छ । सडक कालोपत्रे, आवश्यक भौतिक संरचना लगायतका काम भइरहेका छन् ।

यस्तै संघीय सरकारले ‘नयाँ हिमाली सहर’ निर्माणका लागि डोल्पाको ठूलीभेरी नगरपालिकाको जुफालमा काम थालेको छ । हिमाली क्षेत्रको बसाइँसराइ कम गर्ने उद्देश्यले हिमाली सहर बनाउने योजनासहित काम सुरु भएको हो । आर्थिक वर्ष २०७९/०८० बाट जुफालमा काम थालिएको छ । सरकारले हिमाली सहर निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो । जुफालमा हिमाली सहर अन्तर्गत बाटो निर्माणका काम गरिनेछ । बेरोजगारी न्यूनीकरण गर्न नयाँ सहरी योजना सहयोगी सावित हुने अपेक्षा समेत गरिएको छ । आयोजना सुरु भएको वर्ष कामले गति लिन सकेन । उक्त आर्थिक वर्षमा सरकारले दुई करोड बजेट पठाए पनि ३० लाख बजेट मात्र खर्च भएको छ । अन्य बजेट भने फ्रिज भएको हो । जग्गा विवादले लक्ष्य अनुसारको काम गर्न नसकिएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले जनाएको छ ।

तराई झर्ने प्रवृत्ति घटाउने र थप सम्भावनाको खोजी गर्न नयाँ सहर निर्माणको योजना सरकारले अघि सारेको हो । गत वर्र्ष जग्गा विवादका कारण एक करोड ७० लाख बजेट फ्रिज भयो । यो वर्षका लागि अबको केही दिनमा नयाँ टेण्डर आह्वान गरिने सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार तराई तथा सहरी क्षेत्रमा केन्द्रित बसाइँसराइ कम गरी नयाँ र आधुनिक सहर विकास गर्ने रणनीति अनुसार काम थालिएको छ । ‘गत वर्ष योजनाअनुसार काम हुन भने सकेन’ इन्जिनियर खड्काले भने, ‘यो वर्षको लागि अबको केही दिनमा टेण्डर गरिदैंछ । विशेष गरेर तीन किलोमिटर सडकको ट्रयाक खोलिनेछ ।’ चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि सरकारले बजेट कटौती गरेको उनी बताउँछन् । गत वर्ष दुई करोड विनियोजन गरेको सरकारले चालु आर्थिक वर्षमा बजेट कटौती गरेर ४० लाख विनियोजन गरिएको छ ।

हिमाली पदमार्गमा निर्माण गरिने आधुनिक नयाँ सहरले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्ने विश्वास छ । नयाँ सहर निर्माणको उद्देश्य व्यवस्थित बस्ती विकाससँगै स्थानीय सम्भावनालाई उजागर गर्दै स्थानीय स्तरमै उद्यमशीलता र रोजगारी विकास गर्ने पनि रहेको छ । आधुनिक सेवा सुविधा खोज्दै सुगम क्षेत्रका सहरतिर जाने बासिन्दालाई स्थानीयस्तरमै आधुनिक सुविधा र रोजगारी दिएर बसाइँसराइ रोक्ने नयाँ सहर आयोजनाको उद्देश्य रहेको छ । एउटा आधुनिक सहरमा हुने सम्पूर्ण सुविधाहरू नयाँ सहरमा उपलब्ध गराउने तयारी भइरहेको हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए । उनका अनुसार पछिल्लो समय हिमाली क्षेत्रबाट पनि सहतिर बसाइँसराइ गर्ने क्रम बढ्दो छ । उनले भने, ‘सरकारले थालेको नयाँ सहर योजनाले आफूहरूलाई लाभ हुनेछ । सहर व्यवस्थित बन्दै गएको छ ।’

प्रकाशित मितिः   ३० भाद्र २०८०, शनिबार १७:१२