प्रदेश अस्पतालमा एमआरआई उपचार सुरु
सुर्खेत: कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक प्रविधिको एमआरआई मेसिनबाट बिरामीको उपचार सुरू गरिएको छ । करिब दुई महिनासम्म मेसिन जडान र प्रोसेसिङ प्रोग्रामहरू इन्स्टल गरेपछि शुक्रवार अस्पतालका निर्देशक डा. डम्बर खड्काले एमआरआई सेवा सुरु गरेका हुन् । यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ ।
अस्पतालका निर्देशक खड्काले सुर्खेतमै एमआरआई मेसिनबाट उपचार हुने भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता अन्त्य हुने बताए । यो मेसिनबाट दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन उच्च गुणस्तरको छ ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उपलब्ध गराएको थियो । उक्त मेसिन नेपाली रूपैयाँ २९ करोड ७१ लाख परेको हो । मेसिन २०२३ मा निर्मित भएर परीक्षण गरिएको मेसिन हो । चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायू, मेरुदण्ड, हार्डजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाइ उपचार गर्न सजिलो हुन्छ ।
ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको संक्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ । एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने गर्छ । अत्याधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत पहिचान गर्न सकिन्छ ।
प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार १७:१०
साझा बिसौनी ।