इन्काउण्टर
खाना खाएर वेसिनमा हात चुठ्दै गर्दा उसले आफूलाई अगाडिको ऐनमा हे¥यो । छातीमा लड्किएको नेमट्यागलाई दुरुस्त पा¥यो । ऐनामा अक्षर उल्टो देखिन्छ, अंग्रेजीमा लेखिएको थियोे उपेन्द्रमान शर्मा । उपेन्द्रले आफ्नो कुममा हे¥यो त्यहाँ थियो प्रहरीमा सेवा गरे बापत उसले बढुवामा पाएको दर्जा चिन्ह । रुमालले हात पुछ्दै क्यान्टिनबाट बाहिर निस्केको उपेन्द्रले चुरोट सल्काएर माथितिर धूवाँ फुक्दै आकाशभरी छरिएका तारा हेरिरह्यो । ठूलो पैसाको चलखेलले सरुवा र बढुवामा राजनीति घुसेर प्रहरी प्रशासन तहस नहस भएको मात्र होइन आत्मबल समेत खस्किरहेको छ । जनविश्वास हराइरहेको बद्नाम यो राजनीतिले देश बर्बाद पार्न थालेपछि देशभक्त सिपाहीहरू निकै चिन्तित छन । चर्चित एउटा घोटाला काण्डका कारण भर्खरै सरकार उतानो ढलेपछि सिनियर अफिसर्सको गोप्य मिटिङमा उपेन्द्रको पनि उपस्थिति थियो । त्यहाँ भएका थिए केही महत्त्वपूर्ण निर्णयहरू । पाकेटमा उसको फोन थर्थराएपछि झिकेर उपेन्द्र बोल्यो ।
“अँ भट्टजी भन्नुस त ।”
“सर टार्गेट निस्क्योरे ।”
“निगरानीमा को छ ?”
“टेकराज छ सर । रिपोर्टिङ गरिरहेको छ ।”
“फलो हिम् केयरफुल्ली । म क्यान्टिन बाहिर छु है ।”
“ओके सर ।” फोन विच्छेद हुँदै गर्दा त्यही फोन स्क्रिनमा उसले समय हे¥यो, ११ बजिरहेको थियोे ।
पुर्पक्षका लागि जेल चलान भएको एउटा अपराधी रातीराती जेलबाट निस्केर लोक दोहोरीमा तरुनीसँग नाच्छ रे । कहिले नाइटक्लब र डान्सबारमा रक्सी खाइ मातिन्छ फेरि होहल्ला मचाई मारपिटमा उत्रिन्छरे । कहिले क्यासिनोमा मजाले जुवा पनि खेल्छ रे भन्ने गुप्त जानकारी उपेन्द्रले नपाएको होइन । प्रहरीको मिलोमतो बिना यो कतै सम्भावना हुनै सक्दैन । हावा नचली पात कसरी हल्लियो होला ! यसमा जेल प्रशासनलाई थाहै नदिइ गुप्त अन्वेषण गर्दा समेत कुनै कैफियत भेट्न सकिएन । कैफियत फेला नपरे पनि यस्ता निकृष्ट काम चलाखीपूर्वक गरिन्छ भनी बुझ्न उपेन्द्रलाई कुनै पनि कठिन थिएन । अपराधीलाई दाइ सम्बोधन गरि नमस्कार भन्ने, अपराधीले दिएको चार पैसा दारूपानी र नानीमा खर्च गर्ने । अपराधीले लगाएको गुन वापत फोन चलाउन दिने, बाहिरभित्रको सेटिङ मिलाई सबै अनुकूल पारी दिने पनि प्रहरीकै बर्दी लगाउने दुष्टजन हुन भन्ने कुरा उपेन्द्रलाई सिधा थाहा थियो, तर दसी प्रमाण हात लाग्न सकिरहेको थिएन ।
बालुवा गिट्टीको थोक बिक्रेता, पेट्रोलपम्प, रेस्टुरेन्टलाई माध्यम देखाइ घर बंगला गाडी मोटर महङ्गा फर्निचर र बेहिसाब जिन्सी नगदसहित अकुत सम्पत्तिको मालिक थियो विशाल गुरुङ उर्फ मार्सल । कुनै नोकरी र विशुद्ध व्यापारबाट जोडिएको थिएन त्यो अवैध सम्पत्तिको थुप्रो । छोटोे अवधिमा नोकरी तथा व्यवसायबाट त्यत्रो आर्जन सम्भावना पनि हुँदैन । गुण्डाराजको आतंकले जनतालाई सताउदै लुटेर थपिदै थुप्रन गएको हो अपवित्र धन दौलत । हप्ता असुल गर्ने पुरानो सहज धन्दा कायमै थियोे मार्सलको । उसको अवैध सम्पत्तिको विरुद्ध अख्तियार र सम्पत्ति शुद्धीकरणमा मुद्दा नपरेको होइन, तर राजनीतिक छाया परेपछि यी निकायहरू पनि मस्त निदाउने गर्छन् ।
स्थापित एक राजनीतिक पार्टीको तल्लो कमिटीमा सक्रिय सदस्य थियोे मार्सल । समय अनुकूल पर्दासम्म उद्घाटन, शिलान्यास, समापन जस्ता कार्यक्रममा केन्द्रीय नेताहरू र मन्त्रीसँगै मार्सल मञ्चासिन भएका तस्बिर र खबर ठूला मिडियाले प्रशारण गरिरहेका घटना पनि छ्न । यस्ता घटना ले समाजमा अपराध गर्न छुट मिलेको मात्रै होइन आतंक मच्चाउन पनि हौस्याएको हो भन्ने ठहर छ प्रहरीको । कुनै काण्डबाट प्रहरीको गिरफ्तारीमा पर्नु र पूर्पक्षका लागि थुनामा जानु सामान्य कुरा थियोे मार्सललाई । उसका पक्षमा मुद्दा लड्न र जिताउन वकिल र न्यायाधीशको स्यालभाका मिलिसकेको हुन्थ्यो भने सरकारी वकिलले पनि मुद्दा कमजोर पारेर पेश गरिदिन्थ्यो । काला कोटेहरूले ठट्टामा भन्ने गरेका थिएरे मार्सलको मुद्दा लड्न पाउँदा मजा आउँछ दसैं आए जस्तै हुन्छ । गिरफ्तार हुनु थुनामा जानु अदालतबाट उन्मुक्ति पाएर सजायबाट जोगिनु मार्सलको नियमित प्रक्रिया जस्तै थियो । राजनीतिको आडमा उसको अपराध कर्म झांगिरहेको थियोे । हिरासत जेल अदालत जताततै मार्सल दाइ भन्दै अघिपछि हिँड्दै चाकरी गर्ने लाछिहरू कमी थिएनन् । केही जुनियर अफिसर्सले हात मिलाइ साथी भनी हिमचिम बढाएकोप्रति अस्वभाविक मानी सिनियरले मौखिक रूपमा सोधपुछ गर्दा के गर्नु सर भोलि यदि मन्त्री भयो भने हामीले सलाम ठोक्नै पर्छ भन्ने जवाफ दिएका थिएरे उनीहरूले ।
मार्सलले गरेका अपराधमध्ये केही मिसिल उपेन्द्रमानले पढेको थियो ।
१. एउटा निजी विद्यालय भित्र प्रिन्सिपलको कार्यकक्षमा मार्सलको ग्याङ पसेर आफ्नो इलाकामा विद्यालय संचालन गरेबापत उच्च सम्मान दिनुपर्ने भनी चर्को चन्दा माग गर्छन् । प्रहरीमा गुनासो पु¥याएको बुझेपछि अर्को दिनमा उनीहरू ले प्रिन्सिपलमाथि नै हातपात गरि विद्यालयमा तोडफोड पारिदिन्छन । मार्सलसहित सहयोगीहरू पक्राउ पर्छन् । प्रिन्सिपललाई मेलमिलापका लागि ठाउँ ठाउँबाट दबाब आउँछ र मिलापत्र गर्न बाध्य बनाउँछ । मिलापत्र पछि पनि मार्सल ग्याङ त्यही ढङ्गबाट आउँछन् धम्की दिन्छन् र चन्दा असुली छाड्छन ।
२. एकरात इलाका विस्तार गर्ने क्रममा मार्सल ग्याङको अर्को गुण्डा ग्याङसँग मारमुङ्ग्री हुन्छ । लडाइँमा खुकुरीको चोटले रक्तमुछेल भएको सहयोगी गुण्डा घोप्टे थापालाई तुरुन्त अस्पतालतिर दौडाइन्छ । घाउ चोटपटकको लागि पुलिसलाई खबर गर्नुपर्ने कानुनी व्यवस्था बारे डाक्टरले बोल्न पाउँदा नपाउँदै मार्सल ग्याङ गालीगलौजमा उत्रिन्छ । एकछिनमा अस्पतालका कर्मचारी डाक्टर नर्सहरू सबैजना भेलाजम्मा हुन्छ्न प्रहरी आइपुग्दा घोप्टे थापाको मृत्यु हुन्छ । मार्सल ग्याङ पक्राउ पर्छन् । “एइ बुझिराख डाक्टर अब तेरो बर्बादी सुरु हुन्छ ।” प्रहरीको बीचबाट औंलो ठड्याउँदै मार्सलले धम्की दिन्छ ।
केही दिनपछि डाक्टरलाई एउटा अन्जान नम्बरबाट फोन आउँछ । फोनले भन्छ– “तेरी छोरी हाम्रो कब्जामा छ पैसा ले छोरी लैजा । भुलेर पनि पुलिसलाई खबर गरिस भने छोरीको लास देख्छस् ।” क्याम्पस पढ्ने छोरी अपहरण गरि अत्यन्त ठूलो रकम मागेपछि डाक्टर छटपटिए । डाक्टरका आफन्त मार्फत गोप्य रूपमा खबर पुगेपछि प्रहरी तुरुन्त सक्रिय भयो । तीन दिनको प्रयासमा प्रहरीले छोरीको उद्धार मात्र गरेन मार्सल ग्याङका गुण्डाहरू लाई पनि पक्राउ ग¥यो । प्रहरीको हिरासतबाटै पनि मार्सलले बाहिर अपराध गर्न सक्छ भन्ने पुष्टि भयो । दुःखद कुरा दुई दिनपछि डाक्टरकी छोरीले आत्महत्या गरिन् । शव परिक्षण प्रतिवेदन नआउँदै डाक्टरले देश छोडेर गए ।
३. सन्ध्याकालीन गस्तीमा रहेको प्रहरी इकाईलाई नियन्त्रण कक्षबाट नजिकै पर्ने एक होटलमा लडाइँ झगडा भैरहेकोले अभियुक्त हरूलाई पक्राउ गर्ने आदेश हुन्छ । गस्ती प्रहरी घटनास्थल पुग्दानपुग्दै बबालीहरू केही भाग्छन भने केही नियन्त्रणमा पर्छन् ।
“ए, तेरा हाकिमहरूले त नमस्कार गर्छन भने तँ साले को होस मलाई समाउने ?” यसो भन्दै मार्सलले कार्की थरको प्रहरी सहायक निरीक्षकमाथि पिस्तोल पो ताक्छ । केही छिनमा नै थप प्रहरी बल आइपुग्छ र हतियार सहित सबै पक्राउ पर्छन् ।
झगडाको गुदि कुरो के रहेछ भने, निर्माण कम्पनीको कोही ठेकेदारलाई बोलपत्र नहाल्न मार्सल ग्याङको धम्की रहेछ । धम्कीका बाबजुद पनि ठेकेदारले बोलपत्र हालेछ । त्यही कारणले कुर्सी उठाइ आपसमा भकुराभकुर गर्न थालेपछि होटल साहुले प्रहरीलाई बोलाएको रहेछ । मुद्दा अदालत जानू अगावै ठेकेदार र मार्सलको मिलापत्र भएछ । कार्की ले मिलापत्र गर्न इन्कार गर्दागर्दै पनि दबाब झन झन जब्बर भएर आउन थालेछ । प्रहरीका माथिल्ला अधिकारीसँग भेटी कार्कीले आफ्नो गुनासो पोखेछ ।
“सर त्यसले डिउटीमा रहेको पुलिसको निधारमा गन ताकेको छ । यो पर्सनल मेटर मात्रै होइन सर, यसमा के पुलिसको इमेज जोडिदैन र ?”
“तिम्रो भनाइसँग सहमत छु भाइ । तर पुलिसलाई यति निरीह बनाएको छ की यो डर्टी पोल्टिक्स्ले हामीले चाहेर पनि कानुनको पालन गर्न नसक्ने भएका छौं । अडान छोडेर अहिले मिलापत्र गर बरु तिमीले मागेको वा चाहेको ठाउँमा सरुवा गरौंला ….।”
“सर त्यसोभए पुग्यो मलाई पुलिसको जागिर खान…।” कार्कीले आँसु झारेर सलाम हान्यो ।
“होइन होइन त्यस्तो नभन भाइ । यो अवस्था संधै रहिरहने छैननी । मेरो कुरा बुझेनौ….?”
कसैको सम्झाइ बुझाइ काम लागेन । हीनताबोधको कारण कार्कीले जागिरबाट राजीनामा दिएर गएछ ।
४. मार्सल ग्याङ एउटा पसलमा हप्ता उठाउन गएको थियो । मागेजति रकम दिन पसल साहुले आनाकानी गरिरहेको थियोे ।
“अघिल्लो हप्ता त दिएकै हो । गल्ला हेरे हेर्नुस यो हप्ता पुगेन बरु भोलिपर्सि….।”
“हाम्रो इलाकामा व्यापार गरेपछि पैसा पुग्दैन भनेर सुख पाइन्छ ? त्यसो भए पसल नखोल घरै बस ।”
“आजभोलि व्यापार पनि खास चलेको छैन ।”
“हामी त्यस्तो कुरा सुन्न आएको होइन । छोराछोरी बेच कि दिदी बहिनी धन्दामा राख हामीलाई त जसरी पनि पैसा चाहिन्छ ।” यस्तो सुन्नेबित्तिकै रिसले चेतकान हराएको पसले दुर्वाच्य बोल्नेमाथि ह्वात्तै जाइलाग्छ । ग्याङले उमाथी बगाले मुक्का बर्साउँछ । छोरो चिच्याउँदै कराएको सुनेर भित्रबाट बुढा बा आत्तिदै आउँछन् र छोराको गुहारमा ऊनी पनि जाइलाग्छन् । मार्सलले छात्तिमा धकेलेर ती बुढालाई भित्तामा पु¥याउँछ । टाउको ठोकिएर बुढा अचेत हुन्छन् । खैलाबैला गर्दै मान्छे आएपछि ग्याङ तितरबितर भै भाग्छ । बुढालाई हतारमा अस्पताल पु¥याइ इमर्जेन्सीमा भर्ना गरिन्छ । अवस्था जटिल भएको हुँदा इमर्जेन्सीबाट तुरुन्त आइसियु राखिन्छ । उता दुईदिन भित्र प्रहरीले मार्सल ग्याङ सबैलाई पक्राउ गर्छ । उपचार हुँदाहुँदै बेहोसीमा कठिनले सास फेरेका ती बुढा बाको चारौं दिनमा प्राणान्त हुन्छ । यसै कारणले मार्सल पुर्पक्षका लागि थुनामा जान्छ ।
उज्यालो बाल्दै अघिपछि भएर दुईवटा प्रहरीका जीप गाडी सँगसँगै आइरहेको देखिएपछि मिसिल पढेको सम्झना फेरि मनमै हरायो । गाडी आफू नजिकै रोकिएपछि चुरोटको ठुटो भुइँमा फाली जुत्ताले कुचेर निभायो र चढेर ड्राइभरको फ्रन्ट सिटमा बस्दै तानेर ढोका बन्द ग¥यो उपेन्द्रले । गाडीले फेरि आफ्नो रफ्तार लियो ।
“भट्टजी नयाँ के भैरहेको छ ?”
“टार्गेट डायमण्ड नाइटक्लबमा इन्ट्री भैसकेको छ सर । टेकराजको यो भर्खरैको रिपोर्टिङ हो ।” प्रहरी निरीक्षक अर्जुनदेव भट्टले बोलेपछि उसले ओंठ टोक्दै टाउको हल्लायो । अगाडि उज्यालोमा आँखा गाढ्दै सोचिरह्यो, थरीथरी झिलिमिली बत्ती बलिरहेको उज्यालो नाइटक्लबमा रसिक र उन्मादी रात मन पराउने साहु पैसावालहरू टेबल टेबलमा खादै पिउदै बसिरहेका होलान् । गीत संगीतमा कोही कोही नाचिरहेका होलान् । अर्धनग्न युवतीहरू खितखिताइ रहेका होलान् । तीमध्ये कतै एउटा टेबुलमा मार्सल र उसका सहयोगी रात्रीचरहरू रक्सी चुरोटमा बात मार्दैहोलान तरुनीसँग छाडा ठट्टा गर्दैहोलान, अट्टाहस हाल्दै होलान । रक्सीसँगसँगै तरुनीले अरु उत्साह थप्दै होलान ।रमाइलाका लागि आएकाहरूले छ्यालब्याल मनोरञ्जन लुट्ने होलान् ।
“मार्सल दाइ टाइम भो जाउँ जानुपर्छ ।” कोही एउटाले भन्नेहोला ।
“पख् न जाँ…। ”
“होइन दाइ एक घण्टा भनेको डेड् घण्टा हुन लाइसको “कोही अर्कोले जोड गर्नेहोला ।
“हो र !”
“हो दाइ पछि ढिलो हुन्छ फेरि ।” बाँकी रक्सी सिनित्तै पारेर मार्सल हिंडेपछि मात्र रात्रीचरहरू पछिपछि लाग्ने होलान् । उनीहरूलाई बोकेको मोटर जेलघरको बाहिरी गेटमा सुस्त रोकिने होला बिस्तारै गेट खुलेपछि एक एक गरि सबै भित्र छिर्ने होलान् । त्यसरी नै भित्रको अर्को ढोका खोलिने होला, ती मध्ये केही भित्रसम्म जाने होलान् । अन्तिममा मार्सल मात्र पस्न पाउने भित्रको सानो ढोका खोलिएर उ पसेपछि बन्द हुनेहोला ।
गाडीको गति सुस्त हुन थालेपछि अगाडि उज्यालोमा देखा पर्न आयो प्रहरी नायब निरीक्षक टेकराज बिष्ट, जसले हात तेर्साएर गाडी पार्किङको संकेत गरिरहेको थियो ।
“ए सेक्युरिटी भाइ एकछिन गेट…।”
“अहिले गेट खोल्न मिल्दैन टाइम बन्द भैसक्यो ।”
“ए गेट खोल हामी प्रहरी हौं ।”
“हजुर ! मैले पहिला माथि सोध्नुपर्छ सर…।”
“गेट खोल्छस् कि तेरो टाउको उडाइदिउँ साले ।” यसो भन्दै अर्जुनले पेस्तोल तेर्साएपछि भित्रबाट ताला खोल्न बाध्य भयो सेक्युरिटी गार्ड । एक एक गर्दै १६ जना प्रहरी भित्र पसे । अर्को मुलढोका खुलाउन प्रहरीलाई त्यति बाधा परेन । कार्यक्रम स्थलमा पुग्नलाग्दा पाखुरामा मासु हालेका दुई जना बाउन्सर ज¥याकजुरुक उठे ।
“रिल्याक्स बोयज् वीआर पोलिस ।” उपेन्द्रले भनेपछि उनीहरू अक्क न वक्क भए ।
“ए यो म्युजिक बन्द गर कसैले …।” अर्जुन कराएपछि मान्छे आकृष्ट हुँदै हैरान परे किनकि तीमध्ये केही प्रहरीको हातमा हतियार थियो ।
“म्युजिक बन्द गर भन्दा नसुनेको कि नटेरेको ? बन्द गर ।”
जोडले कराउँदै उपेन्द्र अगाडि बढेपछि संगीत रोकियो ।
“सुन्नुस दाजु भाइ बहिनीहरू ! तपाईंहरू आतंकित हुनु पर्दैन । हामी यहाँ जेलबाट भागी आएको अपराधीलाई पक्राउ गर्न आएका हौं । बरु तपाईंहरू….।”
प्रहरीले त्यसो भनेपनि अनिष्ठको आशंकाले मान्छेको मनमा भय र अनुहारमा आतंक बढ्न थाल्यो । आत्तिएर लुक्न खोज्नेहरू लुक्ने प्रयास गरिरहेका थिए भने निस्कन खोज्नेहरू प्रहरीको निगरानीमा हात माथि उठाउँदै बाहिर निस्किरहेका थिए ।
बिहानै अस्पताल प्राङ्गणमा भिडभाड थियो । समूह समूहका मान्छे आपसमा खासखुस गरिरहेका थिए । बर्दीधारी प्रहरी को उपस्थिति पनि बाक्लै थियो । अस्पताल भित्र पनि थोरै सन्नाटा थियो । पेटमा दुई छातीमा दुई र कुममा एक गरि शरीरमा पाँच गोलि लागेको । गोलीको कारण अत्याधिक रक्तस्राव भइ व्यक्तिको मृत्यु भएको भनी शवपरिक्षण पछि अस्पतालबाट लेखिएको कागजमा वरिष्ठ डाक्टरद्वारा सहि गरि छाप भयो । कोठाको पल्लो कुनामा एउटा अग्लो बेड थियोे जहाँ सेतो कपडाले ढाकेको लास सुताइएको थियो । डाक्टर केही भन्न खोज्दै गर्दा उपेन्द्र फोनमा व्यस्त थियो ।
“…हजुर । ब्याकअप पुग्छ सर ।”
“अनि कस्तो छ उपेन्द्र अहिले त्यहाँको सिचुयसन ?”
“खास प्रतिकूल छैन सर । बाहिर अलिअली क्राउड छ । डाक्टरसाब आइसक्नु भएको छ हामी प्रक्रियामै छौं । उता क्राइमसिन भट्टजीको कमान्डमा छ, फरेन्सिक टिम पनि आइरहेको छ…।”
“मलाई पलपलको रिपोर्ट चाहिन्छ है…।”
फोन वार्ता हुँदाहुँदै एक्कासी उपेन्द्रले बाहिर कोही जंगिएर कराएको सुन्यो ।
“पुलिसले ज्यादती गरेको छ, अब यो महंगो पर्नेवाला छ । हामी त्यसै छोड्दैनौ ….।” समर्थनमा दुई चारजना मान्छे चिच्याएर ताली बजाए । क्यामरा उठाउँदै पत्रकारहरू दारी पालेका ती कराउने व्यक्तितिर दौडिए । अब च्यापु वरिपरि माइक्रोफोन देखेपछि दारीवाला जोशिन थाले “प्रहरीले बाँच्न पाउने अधिकार खोसेर मानव अधिकारको गम्भीर उल्लंघन गरेको छ । नियन्त्रणमा लिन सक्ने अवस्था हुँदाहुँदै पनि आज निहत्था विशाल गुरुङलाई इन्काउन्टरका नाममा गोलीले भुटेर प्राण हरण गरेको छ ….।”
“पहिला गोली मार्सलले नै चलाएको भन्ने छ । उनीहरूसँग हतियार पनि त भेटियो ?” एउटा पत्रकारले फ्याट्ट सोध्यो ।
“फसाउनका लागि यो सब प्रहरीकै षड्यन्त्र हो । जेलमा थुनिएको थुनुवासँग कसरी हतियार हुनसक्छ ? यहाँ मानव अधिकारको ठाडो उल्लंघन भएको छ ।”
“हो ! राति जेलबाट बाहिर निस्केर त्यो नाइटक्लबमा उपद्रो मच्चाउनेसँग हतियार हुन्न कसरी भन्नू ? राति त्यसरी बाहिर निस्कन पाइन्छ ?” अर्को पत्रकार बोल्यो । पत्रकारको प्रश्न मा भिडबाट मान्छेले ताली बजाए ।
“त्यो अपराधको पनि कानुनी कारबाही खोज्नुप¥यो । मान्छे नै मार्न त भएननी ।”
“कानुनी कारबाही भन्नाले पुलिसले पक्रेर फेरि अदालतमा बुझाउने । अदालतले रिहा गरिदिने र समाजमा उसले फेरि अपराध दोहो¥याउने यही हो कानुनी कारबाही ?” भिडका मान्छेले तालिमाथी सिट्टी पनि बजाए ।
“मान्छेलाई पो मार्न हुँदैन, मान्छेका खुनपसिना लुटि खाने, मान्छे बाँच्न र गरि खान पाउने नैसर्गिक अधिकार खोस्ने, मार्सल गुरुङ जस्तो राक्षसलाई के पूजा गर्ने त ? एउटा मरेर दसजना बाँच्न पाउँछन् भने त्यो मर्नुपर्छ यो प्राकृतिक न्याय को सिद्धान्त पनि हो ।” फेरि अर्को पत्रकार बोल्दा सिट्टी र ताली बजाउदै समर्थनमा भिड कराउन र चिच्याउन थाल्यो ।
“त्यसोभए किन चाहियो त कानुन र संविधान ?”
“त्यो त गरिब र निमुखालाई पेल्न तपाईं जस्ता धूर्त नेताले तयार पारेको दस्तावेज हो । तपाईंकै आड भरोसामा एउटा गुण्डाले समाज पिरोलिरहेको थियो बुझ्नु भो ?”
“ए पत्रकार महोदय तपाईं पुष्टि गर्नसक्नुहुन्छ यो कुरा ?”
“पुलिस र अदालतले आजसम्म किन कानुनी सजाय तोक्न सकेन उसलाई ? तपाईंहरूको दबाब हुन्छ भन्ने पुष्टि हुँदैन ? उसले लुटेको धन मालमा तपाईंको पनि भाग लाग्छ भन्ने हामीले के नबुझेको हो र ?” समर्थनमा भिडले निरन्तरता दियो ।
“ ल पुष्टि गर्नुस अहिले भर्खर पुष्टि गर्नुस ।”
“तपाईंले अहिले जो मार्सल गुण्डाको वकालत गर्नुभएको छ त्यही नै पुष्टि होइन र ?” हुटिङमा भिडले वातावरण उचाल्यो ।
भिड उत्तेजित हुन लागेको चाल पाएर अप्रिय घटना घट्न सक्ने सम्भावनाको ख्याल राखी बाटो लागिहाल्न नेतालाई हात समाई एउटाले तान्यो । नेता फर्केर बोल्ने चेष्टा गर्दै थिए अर्कोले पनि त्यसरी नै अर्को हात समाइ तान्यो । उनीहरू मोटरमा बसे भिडले छेक्न खोज्दाखोज्दै मोटर दौडिहाल्यो । भिड भड्केर एकाएक नारा लगाउन थाल्यो ।
गुण्डा नेता मूर्दावाद नेपाल प्रहरी जिन्दावाद !
निकम्मा नेता चाहिदैन समाज भाँड्न पाइँदैन !
आवेगमा चढ्दै गरेको भिडलाई नियन्त्रणमा लिनु पनि फेरि प्रहरीकै दाइत्त्व हुन्छ । प्रहरी दस्ता चानोखो भइ भिडको नजिक उत्रिएपछि पत्रकारका क्यामेरा र माइक्रोफोनहरू उपेन्द्रलाई घेर्न थाले,उत्तेजित भिड पनि उसका कुरा सुन्नका लागि छिन् भरमै सामसुम मत्थर भयो ।
“सर यो घटना कसरी घटेको हो…?”
“बेलुका चार बजे पत्रकार सम्मेलन छ । हाम्रो प्रवक्ताबाट तपाईंको जिज्ञासा सम्बोधन हुनेछ । अहिले तपाईंहरू सबै ले शान्ति कायम राख्नुपर्छ ….।”
“थोरै केही बोलिदिनुस न सर …।”
“अहिले होइन प्लिज जोड नगर्नुस् …।” भिडले फेरि त्यही नारा दोहो¥यायो ।
गुण्डा नेता..
नेपाल प्रहरी …।
काम सकिएपछि फुर्सद लिएर सुस्ताउन एकान्त खोज्दै उपेन्द्र क्यान्टिनको दोस्रो तलामा गयो । झ्याल नजिक कुर्सी राखेर बसेको उसको अगाडि सानो टि–टेबल थियोे । टेबलको बायाँतिर कपमा चिया र दायाँतिर एउटा आस्ट्रे थियो, जहाँ सल्केको चुरोट मसिनो धूवाँमा पुत्ताइरहेको थियो । आजको घटनाले सामाजिक संजाल तताइरहेको हुँदा उ आफ्नो मोबाइल फोनमा आँखा एकोरो धसिरहेको थियो । घटना सम्बन्धिका अनगिन्ती टिप्पणीहरू प्रहरीको समर्थनमा थिए । कुनैकुनै टिप्पणी प्रहरीको तीखो विरोधमा पनि थिए ती विरोधमाथि अनगिन्ती गालीगलौज पोखिएका थिए । अगाडि भित्ताको टेलिभिजन स्क्रिनमा खबरको धुन बजेपछि मोबाइलबाट नजर झिकेर उसले टेलिभिजनमा टाँस्यो ।
“पूर्पक्षका लागि जेल गएका गुण्डा नाइके विशाल गुरुङ उर्फ मार्सल राति जेलबाट निस्केर डायमण्ड नाइटक्लबमा पसेको खबर गोप्य रूपमा प्राप्त भएपछि प्रहरी नायब उपरीक्षक उपेन्द्रमान शर्माको कमान्डमा गएको प्रहरीले पिछागर्दै जाँदा उक्त क्लबमा जम्का भेट भएको बताइएको छ । प्रहरीले आत्मसमर्पण गर्न पटकपटक चेतावनी दिंदा समेत अटेर गरि उल्टै प्रहरीमाथी अन्धाधुन्ध गोलि चलाएकोले जवाफी कारबाहीमा प्रहरीको गोलि लागि घाइते भएको अवस्थामा अस्पताल पु¥याउदा डाक्टरले मृत घोषणा गरिदिएको पनि खबरमा बताइएको छ । आज अपरान्ह चार बजे पत्रकार सम्मेल बाट प्रहरीले यस बारेमा विस्तृत जानकारी दिने भएको छ । यसपछि …..।”
टेलिभिजन समाचार सुन्दासुन्दै चुरोटको फेद ओंठमा च्यापेर लामो कस तानेपछि उपेन्द्रले धूवाँ झ्याल बाहिर फुरुरु फुकेर उडायो ।
प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार १७:०२
उमालाल आचार्य ।