कलिङ साहित्य महोत्सवको सेरोफेरो

हप्तादिन अघिको खराब मौसम थन्किएर आकाश सफा भएसँगै भदौ १५, १६ र १७ गते काठमाडौंमा हुन लागेको कलिंग साहित्य महोत्सवमा सहभागी हुन पहल असीम, महेन्द्रकुमार मल्ल सर र पंतिकारका बीच मल्ल सरकै कारमा राजधानी जाने निधो पक्का भएको थियोे ।

आउने र जाने दिनको ठेगान नहुने रहेछ । आज, भोलि, पर्सी गर्दै काठमाडौं जाने दिन सम्मुखमै आइसकेको थियो । काठमाडौं जाने छिनोफानो भएपछि मन भने साहित्य महोत्सवमा सहभागी हुने सपना बोकेर हावामा बेलगाम दौडिरह्यो ।
‘यात्रामा निक्लनुपूर्व मलाई रातैभरी निद पर्दैन पहल बाबु’ तीन दिनअघि गुरु महेन्द्र मल्लले पलपसा क्याफेमा क्यापुचिनोको कप हातमा लिँदै स्वटीरको मेस उधारेझै कुराको मेस उधार्नु भएको थियोे । पहलले हँ मा हँ थप्यो । पंतिकारले त्यसको विपरित बोल्दै थप्यो ‘मलाई त त्यस्तो हँुदैन, निद परिहाल्छ ।’ केही बेरको कफीगफपछि हामी फाटफुटियौं ।

मध्यपश्चिम विश्वविद्यालयको गेटमा १३ गते बिहान ५ः३० मा पुग्ने सहमति अनुसार निर्धारित समय भन्दा अघिनै पहल र पंतिकार पुगिसकेका थियौँ । दिउँसो जस्तो चहलपहल बाटोमा थिएन । मर्निङवाकमा निस्कने मान्छे र फोर्समा जागिर खानको लागि दौंडको तयारीमा जुटेका युवायुवतीका पैतलाको आवाजले मात्रै बाटोमा चहलपहल बढेको थियोे । बसको कर्कस हर्नको आवाजले सुर्खेत बसपार्क मुख धुने तयारी गरिरहेको थियोे ।

चियासँग सिगरेट पिउनु असिमको आदत हो । त्यो आदतले मलाई पनि कहिलेकाहीँ असिम तलतलमा डुबाउँछ । चिया, सिगरेट, मदिरा र धुवासँग मिसिएका कुरा सुनौंसुनौं बनाउनु पहल असिमको अर्गानिक कला हो । एक कप कालो चिया पिइसकेपछि हाम्रो यात्रा अघि बढ्ने तरखरमा थियोे । पहल असिमले आकाशमा उडाएको धुवाको सर्को हावामा बिलिन नहँुदै गुरु महेन्द्रकुमार मल्ल सरको कार सुर्खेत क्याम्पसको गेट अगाडि आएर टक्क सेतो खरायोझै अडियो । हतार हतारमा झोलाहरू कारको डिक्किमा कोच्यौं । हाम्रो यात्राले औपचारिकता पायो । कार रत्नराजमार्गको छातिमा कावा खाँदै अघि बढ्यो । हामी पुग्यौँ छिन्चु हुँदै हर्रे ।

छाउगोठबाट मुक्त भएर घामको किरण ओढीरहेकी एक युवतीझैँ हर्रेका पाखापखेराभरी घामका किरण छरपष्ट पोखिएका थिए । हर्रेका चुचुरा भने एकतमासले बगिरहेको बबईका छाल नियाल्दै मुस्कान फिजाइ रहेको भान हुन्थ्यो । १२ किलोमिटर ओरालो झरेपछि पुग्यौं बबई बजार, सामान्य चियानास्तापछि अघि बढेको यात्रा ११ बजे धानखोला पुगेर सुस्तायो बिहानको खाना खानलाई ।

स्थलमार्ग हुँदै धेरै पटक काठमाडौंको यात्रा पनि गरियो । जहाजको सवारी भएर आकाशमा उड्दै राजधानी पनि झरियो । मोटरबाइकमा पनि गुडियो । तर यसपटको यात्राले मनमा रौनकता भने बेग्लै थपेको थियोे ।

बुटवलदेखि अघि लागेपछि गैडाकोटसम्मको उबडखाबड बाटोले दिनुसम्म सास्ती दियो । बाटाको छातिमा परेका खाल्डाखुल्डीको खतले कारको स्पिड पैदल यात्रीको भन्दा कम हुन्थ्यो । लाग्थ्यो बाटो पनि सवारी चालकसँग दुःखाईबाट छुट्करा पाउने याचना गरिरहेछ ।

बाइक चलाउने सीप भए पनि गाडी चलाउने सीप पहल र पंतिकारमा थिएन । हातमा सीप नभएपछि मुखदर्शक बन्नुको विकल्प नहुने रहेछ । महेन्द्र गुरुको कारको एक्सीलेटरको प्याडमा पहल र पंतिकारको यात्राको भविष्य तय थियोे । बुटवलदेखि चितवनसम्मको दूरी जम्माजम्मी दुई घण्टाको हो । दुईघण्टाको यात्रा पाँच घण्टा लाग्ने हुँदासम्म सरकार कानमा तेल हालेर सुत्नुले महेन्द्र राजमार्गको हुलिया देखेर लाज पनि लाजसँग लजायो होला । बगाले च्याउझै उम्रेका सरकार महेन्द्र राजमार्गको हुलिया देखेर अहिलेसम्म नलजाउनु विडम्बना हो ।

आजको बास चितवन विष्णु गौतम सरको निवासमा हुने खबर गुरुले पहिले नै हामीलाई सुनाइसक्नु भएको थियोे । विष्णु सरको फोनको घण्टी गुरुको मोबाइलमा तारनतार बजीरहन्थ्यो । सर कहाँ पुग्नु भयो ? प्रतिउत्तरमा महेन्द्र गुरुको जवाफ हुन्थ्यो पुगेको ठाउँ भन्दा आठ दस किलोमिटर अगाडि नपुगेको ठाउँ पुगेको उत्तर ।

नारायणी नदी कट्ने बित्तिकै पुलचोक बजारमा चालक सिकन्दर थपिए हसिलो मुद्रामा । उनी दुईघण्टा अघिदेखि हामीलाई कुरी बसेका रहेछन् । धेरै नबोल्ने, बोल्नै पर्ने कुरा मात्रै बोल्ने । खुब मजाका रहेछन् सिकन्दर । अब उहाँसँगको अर्को यात्रा कहिले होला थाहा छैन ।

पारस बसपार्कमा विष्णु सर आठ बजेदेखि नै धैर्यताको बाँध नटुटाई हामीलाई पर्खिरहनु भएको रहेछ । आफ्ना पुराना कलेजताका साथी मल्ल गुरुलाई देखेर विष्णु सर निकै खुशी थिए । नमस्कार आदान–प्रदान पश्चात् उहाँकै निर्देशन अनुसार साँघुरो गल्ली दायाँबायाँ हुँदै कार घरको कम्पाउन्डभित्र पस्यो । आजको हाम्रो यात्राले विश्राम लियो र हामीलाई आफ्नै घरमा पुगेको अनुभूति भयो ।

सर विष्णु गौतमसँग पहल र मेरो पहिलो भेट थियोे । परिचय आदान–प्रदानपश्चात् पारिवारिक सोधपुछ पछि राजनीति कुराकानी पनि मिसिए । गौतम सर कांग्रेस निकट प्राध्यापक संघको केन्द्रीय उपाध्यक्ष हुनुहुँदो रहेछ । केही समयअघि उहाँका छोरा अध्ययनको शिलशिलामा अमेरिका प्रस्थान गर्नु भएको रहेछ । छोरालाई विदाई गर्न एयरपोर्ट पुगेको बेला विदेसिने युवाहरूको ताती देखेर गौतम सरलाई नेता र सरकारप्रति उदेग लागेको रहेछ । कुरै कुरामा चन्द्र भण्डारीको नाम जोडिएपछि उहाँ त राम्रो मान्छे हो मैले के भनेको थिएँ । सरले थपि हाल्नु भयो ऊँ खतम मान्छे हो । मैले प्रश्न सोधेँ, किन सर ? सरको जवाफ थियोे, ‘५१ को मध्यावधि चुनावमा कृष्णप्रसाद भट्टराईलाई हराउन ज्यान फालेर लागेको मान्छे हो ।’ चन्द्र भण्डारी जस्तो बौद्धिक मान्छे किसुनजीलाई हराउन कसरी लागे होलान् मनमनै सोचेँ । जुन मान्छेप्रति मेरो सद्भाव र बुझाई राम्रो थियोे आजबाट त्यो बुझाईले गम खायो । भावनामा बहकिएर मान्छेको विश्लेषण गर्नु गलत रहेछ । नजरबाट मान्छे गिर्न समय लाग्ने रहेन छ । जति नजिकबाट चन्द्र भण्डारीलाई गौतम सरले चिन्नु हुन्थ्यो मैले त प्रत्यक्ष देखेको पनि छैन । उहाँहरू त कलेज पढ्दाको लगौंटिया पो हुनुहुँदो रहेछ ।

विष्णु सर साहित्यकार नभएता पनि उहाँको साहित्यप्रति चासो थियो । पछिल्लो समय साहित्यकारका हर्कत र साहित्यमा बढेको विकृतीले उहाँमा नैरस्यताको भाव बढेको प्रस्ट देखिन्थ्यो । गुर महेन्द्रकुमार मल्ल सरले हामी माथि साहित्यकारको पगरी थमाइदिएपछि विष्णु सरले हत्तारिदै भन्नु भयो, ‘सिमलकाँडे साहित्यको काम छैन ।’ सरको कुरा सुनेर पहल असिमले घोसो मुण्टो लगायो । पंतिकार मुखदर्शक बनेर ट्वा पर्नुको अर्को विकल्प के हुनसक्छ र । कहीँ हामी पनि सिमलकाँडे साहित्यकार भित्र त परेनौं, यस्तै जिज्ञासाले मनमा ऐँठन बनायो ।

केही समयपछि सोमरसको प्यालामा मिनी महफिल जमेपछि गौतम सरको आग्रहमा पहल असीमले गजलका सेर बोल्यो, मल्ल गुरुले कविता र पंतिकारले गजल माथी कविता थपेर क्वाटी मिसायो । वाचनपश्चात् विष्णु गौतम सरको हातको पन्जाबाट तालीसँगै शब्द अर्थाएर गजलका सेर र कविताका बान्की माथि विवेचना सुरु भएपछि कालको मुखबाट फर्केको आभाष भयो । अहो ! कसो सिमलकाँडे साहित्यकारको बिल्ला भिर्नबाट बचिएछ । त्यसपछि साहित्यकारलाई हेर्ने दृष्टिकोणमा सरको बद्लाब भाव देखियो ।

पाठकमा यतिसम्मको काव्यिक चेत हुन जरुरी छ । रचना राम्रो नराम्रो छुटाउने जिम्मा पाठकको हो नकि लेखकको । प्रशंसाले जोकोही लेखकलाई कुजो बनाउने रहेछ भन्ने कुरा विष्णु सरको काव्यिक चेतबाट मेरो पनि आँखा उघ्रियो ।

जनैपूर्णिमाको तिथि सुरु हुन दुई घण्टा मात्रै बाँकी थियो । पण्डितको घर भएर होला । हाम्रो लागि सरको घरमा साकाहारी भोजनको बन्दोबस्त गरिएको थियो । भोजन बनाउन म्याडम व्यस्त हुनुहुन्थ्यो किचेनमा । कुरा गर्ने मन हुँदाहुँदै पनि समयले बाह्र बजाई सकेको थियोे । समयले हरेक मान्छेलाई काबुमा राखेको हुन्छ । संसारमा समय भन्दा बलवान कोही छैन । कुरा त जति गरे पनि कहाँ सकिन्छन् र । पाकेको खाना सेलाउने भएपछि तयारी खाना म्याडमले टेवुलमा ल्याई पुर्याउनु भयो । दालमध्ये मलाई अडरको दाल खुब मन पर्ने दाल हो । दालसंगै परिकारमा मिसिएर आएको सिन्कीको स्वादले अडरको दाललाई जितेपछि खाना थपिथपि खायौं ।

खानाखावरी पश्चात् हामीसँगै बसेर थप गफ गर्ने गौतम सरको बिचार थियोे । दिनभरको यात्राले शरीर गोलभेडाझै गलेको थियो । घडीले १२ बजाएपछि सुत्नुको विकल्प पनि थिएन । खाएपछि भात लाग्छ भन्थे हो रहेछ पेट अघायो आँखा लाग्न थाले । गुडनाइट भन्दै डाइनिङ्ग टेबुलबाटै हामी फाटफुटियौं सुत्नको लागि । भात लागेपछि आँखा र निदको फ्युजन कतिखेर भयो थाह भएन । भुसुक्कै निदाइए छ । काठमाडौं जान हतार नभएकाले अबेर उठियो । बिउँझिदा पूर्वी झ्यालबाट सुर्यका किरण बिस्तरा र भित्तामा असरल्ल पोखिएका थिए ।
बिहानको नित्य कर्मसँगै बिदा हुने समय भयो । गौतम सर र म्याडमसँग बिदा माग्दै हामी चौविसकोटी लाग्यौं । जहाँ चितवनमा एमबिबिएस अध्ययन गर्दै गरेका मल्ल गुरुका छोरा अनुराग र उनका साथिहरू भेटिए । छोटो कुराकानीपश्चात् हामी चढेको कार पृथ्वी राजमार्गको फेरो समाउँदै राजधानी बढ्यो । आम मान्छेले भन्दा प्रोफेशनल चालकले चलाउँदा सवारी साधनको गतिमा निकै अन्तर हुने रहेछ । सिकन्दरजीले चलाउने कारको गति तीव्र मात्रै थिएन, गतिमा नियन्त्रण उत्तिकै थियोे । कार त भुइ जहाज भएर उडिरहयो । पृथ्वी राजमार्गमा पर्ने विभिन्न ठाउँलाई उछिन्दै एक बजे काठमाडौं प्रवेश ग¥यौँ ।

कार्यक्रम स्थान हिमालयन होटल ललितपुरमा भएतापनि बाहिरबाट जाने सर्जकहरूको बसाइँको बन्दोबस्त स्काईलाइन होटल ठमेलमा गरिएको रहेछ । ठमेल आफैमा ठेलमठेल ठाउँ हो । साघुँरा गल्ली जुन ठाउँ पनि उस्तै लाग्ने । ठेगाना तलास गर्ने क्रममा एक गल्लीबाट अर्को गल्लीमा हराए छौँ । दिएको ठेगाना पत्ता लगाउन हामीलाई जम्माजम्मी आधा घण्टा जति लाग्यो होला ।

हामी पुग्नु अघि होटलमा बाहिरबाट आउने कविहरूको आगमन भइसकेको थिएन । केही समयको अन्तरालपछि दार्जिलिङकी साहित्यकार बबिता मादेन पति अनुप क्षेत्रीसँगै पुगिन् । साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमिलाई पनि होटल भेटाउन सकस भएको रहेछ । उहाँ पनि हामी जसरी अर्को गल्लीमा बरालिनु भएको रहेछ, पछि भेट हुँदा बरालिएको किस्सा सुनाउँदै हुनुहुन्थ्यो । पूर्वका कवि लक्ष्मी फुयाँल बडो गजबका मान्छे । फेसबुकमा साथी भएर पनि सुन्दर कुरूपसँग मेरो बात चित नभएको रहेछ । मान्छे साह्रै भलाद्मी । पोखराका कवि अमृत क्षेत्री र स्याङ्जाका कवि मिलन समीरसँग होटलको गेटमै जम्काभेट भयो । केही समयपछि कवि साहित्यकारहरूको भिड मौरीको गोलाझै होटलको रिसेप्सनमा जम्मा भयो । रुमको बन्दोबस्त मिलाउने जिम्मा रहेछ कवि प्रज्जवल अधिकारीको । हाम्रो भागमा पर्यो ५०२ नम्बर रुम । चार दिनसम्मको लागि उक्त रुम हाम्रो लागि घर बन्ने भयो ।

सूर्यका किरणले पृथ्वीको चुम्बन नगर्दै हामी ब्युँझिसकेका थियौं । आयोजकले जाने–आउने सवारीसाधन व्यवस्था गरेको थियो । महेन्द्र मल्ल गुरुको आफ्नै सवारी साधन भएकाले हामीले उक्त सवारीसाधनको प्रयोग गर्नु परेन । विहानको खाजा लिएसँगै अर्को दिन हामी लाग्यौं ललितपुर हिमालयन होटलतिर । लुङ्दा, व्यानर र गेटद्वारा कार्यक्रमस्थल दुलहीझै सिँगारिएको थियो । भारत, बंगलादेश, श्रीलंका, भुटानबाट आउने पाहुनाहरूको आगमन अघिल्लो दिनै भइसकेको रहेछ । सेसन धेरै भएकाले निर्धारित समयमै कार्यक्रमको उद्घाटन भयो र सेसनहरू माथि बहसको प्रारम्भ सुरु भयो । कलिंग साहित्य महोत्सव, साहित्य महोत्सव मात्रै होइन । राष्ट्रिय अन्तर्राष्ट्रिय साहित्यकार जमघट हुने एक कुम्भ मेला बनेको छ । भारतको उडिसामा हरेक वर्ष हुने कलिंग महोत्सवले नेपालमा पनि ठुलै प्रभाव पारेको छ । एक साहित्यकारले अर्को साहित्यकारलाई चिन्ने कुरा त सामान्य नै भयो, भारतीय लेखक, कलाकार र साहित्यकारसँग नजिक हुने अवसर पनि जुराएको छ । नेपाल–भारत साहित्य उन्नयनको लागि रश्मी रन्जन परिदा र रन्जना निरौलाले थालनी गर्नु भएको उक्त कामको मुक्त कण्ठले जति प्रशंसा गरे पनि कमै हुन्छ । निजी रूपैयाँ लगानी गरेर सुदूरको श्रष्टा राजधानी पुगेर एउटा रचना वाचन गर्न सक्दैन र जाँदैन पनि । थोरै भए पनि आउने जाने रकमको व्यवस्था र सर्जकलाई राजधानीमा चिनिने अवसर दिनु नयाँ श्रष्टाको लागि हौसला र उर्जा थप्ने कार्य कलिंगले गरेको छ ।

कार्यक्रम एक दिन, दुई दिन, तीन दिन हुँदै बितेको थाहा भएन । यसपटक राजधानीमा कर्नालीका कवि साहित्यकार र पत्रकारको बाक्लै उपस्थिति देखियो । सधँै पछि पर्ने कर्नाली योपटक अग्र भागमै देखा पर्यो । सेसनको नामनै थियोे ‘न देखिएको कर्नाली न लेखिएको कर्नाली’ । वक्ता हुनुहुन्थ्यो डा . मधुसुदन गिरी, डा. महेन्द्रकुमार मल्ल, प्रतीक ढकाल र डा. राधा बुडथापा, सहजिकरण गर्नु भएको थियोे साहित्यकार ओम रिजालले ।

कलिंग महोत्सवको उद्देश्य, साहित्यिक गतिविधि गर्नु मात्रै यस संस्थाको उदेश्य रहेनछ । स्थानीय रितीरिवाज कला सँस्कृतिलाई विदेशी माझ प्रचार प्रसार गर्नु पनि अर्को उदेश्य रहेछ । कीर्तिपुरमा अवस्थित लहना नेवारी सभ्यतासँग जोडिएको एउटा हस्पिटालिटी÷पाककला केन्द्र रहेछ । अर्को दिन नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेशका साहित्यकार सँगसँगै बसेर नेवारी परिकारको स्वाद चाख्ने अवसर जुर्यो । नेवारी खानाको स्वाद बडो गजबको हुँदो रहेछ । आफ्ना रैथाने परिकारलाई परिस्कृत गरी बजारमा ल्याउन सकेको खण्डमा बेरोजगारी समस्यालाई कम गर्न सकिने रहेछ भन्ने कुराको ज्ञान लहना भ्रमणले महसुस गरायो ।

यसपटक पनि अन्तिम सेसन थियोे ‘काठमाडौं कलिंग गजल महफिल ।’ समग्रतामा महफिल राम्रो भएता पनि केही उग्र सायरको व्यवहारप्रति उदेग लाग्यो । सायरका सेरमाथि दर्शक रमाउनु महफिलको शोभा हो तर दर्शकले चर्को स्वरमा दाद दिएकै निहुँमा सायर चम्कनु राम्रो होइन । यस्ता सायरप्रति आयोजकले भावी दिनमा सोच्नुपर्छ । हेमन्त हेमलक, अमला अधिकारी, पहल असिम, अस्मिता, भरत र महेश के ले महफिललाई जीवन्तता प्रदान गरे । मित्र बाबु त्रिपाठीको सहजीकरणमा प्रारम्भ भएको महफिल सायरका सेर माथि दर्शक श्रोताको वाहवाही र तालीको गुञ्जनसहित कलिंग साहित्य महोत्सव २०८० समापन भएको थियो ।

प्रकाशित मितिः   ३० भाद्र २०८०, शनिबार १७:००