बेहाल अस्पताल
कर्णाली प्रदेशका सबै जिल्लामा विभिन्न स्वास्थ्य संस्थाहरू छन् । सुर्खेतमा प्रदेश अस्पताल र जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान छ भने अन्य जिल्लामा जिल्लास्तरका अस्पतालहरू छन् । तर सबैजसो अस्पतालहरू समस्याग्रस्त छन् । सुर्खेतमा रहेको प्रदेश अस्पताल कर्णाली प्रदेशकै प्रमुख स्वास्थ्य संस्था हो । तीन सय शै®यासहितको यो अस्पताललाई अहिले बिरामीको चाप थेग्नै धौ–धौ छ । भौतिक संरचना त छन् तर पर्याप्त जनशक्ति छैनन् । स्वास्थ्य उपचार सेवामा फड्को मार्दै गएको अस्पतालले जनशक्ति अभाव झेलिरहेको छ । बिरामीको चापअनुसार सेवाका लागि स्वास्थ्यकर्मी छैनन् । यस्तै, जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान यो प्रदेशको अर्को ठूलो स्वास्थ्य संस्थान हो । यो पनि समस्याग्रस्त अवस्थामा छ । डाक्टर उत्पादन गर्ने प्रदेशकै एक मात्र प्रतिष्ठानले आर्थिक अभाव झेलिरहेको छ । बजेट अभावका कारण आवश्यक भौतिक संरचना र पूर्वाधार निर्माण हुन सकेको छैन । कतिपय संरचना अलपत्र अवस्थामा छन् । पर्याप्त भवन नहुँदा भाडामा भवन प्रयोग गर्नुपरिरहेको छ । १४ वटा घर भाडामा लिएर प्रतिष्ठान सञ्चालन भइरहेको छ ।
कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूको अवस्था बताउने दुई उदाहरण हुन्, यी । यस्तै अनेक समस्याबाट ग्रस्त छन् यहाँका अन्य स्वास्थ्य संस्थाहरू पनि । साझा बिसौनी दैनिकले प्रदेशका दशवटै जिल्लामा रहेका मुख्य स्वास्थ्य संस्थाहरूको अवस्थाका बारेमा ११ वटा समाचार श्रृंखला प्रकाशित गरेको छ । जसले के देखाउँछ भने कर्णालीमा कुनै पनि स्वास्थ्य संस्था बलियो अवस्थामा छैनन् । सबैजसोले बेहोरिरहेको समस्या हो, पूर्वाधार र जनशक्ति अभाव । कतै पूर्वाधार छ, जनशक्ति छैनन् । स्वास्थ्य सेवा कार्यालय जाजरकोट यस्तै एक उदाहरण हो । अस्पतालमा बिरामीको चाप बर्सेनि बढ्दो छ । २५ शै®याबाट सुरु भएको अस्पतालको क्षमता ५० शैय्यामा पुगेको छ । सेवा र भवनहरू पनि थपिएका छन् । तर आवश्यकताअनुसार जनशक्तिको संख्या भने बढ्न सकेको छैन । ५० शैय्याको अस्पताल निर्माण भएपनि स्थायी कर्मचारीको दरबन्दी भने २५ शै®या अनुसारको मात्र छ । कूल ६० जनाको स्थायी दरबन्दी रहेकोमा अहिले ३० जना मात्रै दरबन्दीमा कार्यरत छन् । ३० जनाको दरबन्दी रिक्त छ ।
जनशक्ति अभावको समस्या कतिसम्म छ भने कतिपय अस्पताल करार जनशक्तिकै भरमा सञ्चालन भइरहेका छन् । स्वास्थ्य संस्थाहरू नै समस्याग्रस्त हुँदा बिरामीले सहज रूपमा गुणस्तरीय सेवा पाउँदैनन् । उपचारका लागि अस्पताल पुगेका नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था यथावत छ । यस्तो विकराल समस्या समाधानका लागिस्वास्थ्य संस्थाहरूलाई पूर्वाधारसम्पन्न र आवश्यक जनशक्तिको व्यवस्थापन अनिवार्य छ ।
प्रकाशित मितिः २० भाद्र २०८०, बुधबार ११:३२
सम्पादकीय ।