एमालेको प्रदेश अधिवेशन

 

सुर्खेत: नेकपा (एमाले) कर्णालीले प्रदेश कमिटिको प्रथम अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने तयारी थालेको छ । आउँदो असोज १० र ११ गते तोकिएको प्रदेश अधिवेशनका लागि भदौ ३० गते प्रतिनिधि छनोट गरिने भएको हो ।

भदौ ३० गते प्रतिनिधि छनोट

प्रदेश कमिटीका बुधवार बसेको कार्यालय बैठकले ३० गते एकैदिन सबै जिल्लमा प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो । अधिवेशनमा सहभागिताका लागि प्रतिनिधि छनोट गर्दा खुला सदस्यतर्फ एक सय जना पार्टी सदस्य बराबार एक जना प्रतिनिधि चयन गर्ने निर्णय गरिएको छ । यस्तै दलित पार्टी सदस्यतर्फ भने ७५ जना सदस्य बराबर एक जना प्रतिनिधि चयन गरिनेछ ।

सदस्य संख्याबाट शेष रहेको ५० प्रतिशत (१५० जना सदस्य हुन आएमा २ जना प्रतिनिधि) अंक बराबर पनि एक जना प्रतिनिधि थप हुने व्यवस्था गरिएको छ भने छनोट भएका अधिवेशन प्रतिनिधिहरूमध्ये एक तिहाई महिला अनिवार्य हुनुपर्ने छ ।

यसैगरी प्रतिनिधि छनोट र व्यवस्थापनको आधारस्वरूप भूगोलको लागि पालिका र समावेशीको लागि प्रदेश निर्वाचन क्षेत्र रहने व्यवस्था गरिएको छ । तर समावेशी सदस्यले भने क्षेत्र रोज्न पाउने अधिकार सुनिश्चित गरिएको नेकपा एमाले कर्णाली प्रदेश कमिटी सचिव टेकराज पछाईले जानकारी दिए । नेकपा एमालेका कर्णाली प्रदेशमा ५१ हजार सात सय ५० जना सदस्य छन् ।

प्रकाशित मितिः   २१ भाद्र २०८०, बिहीबार ०५:०१