उपकरण नै प्रयोगविहीन

स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) सल्यानमा दक्ष जनशक्ति नहुँदा उपलब्ध स्वास्थ्य उपकरण प्रयोगविहीन बनेका छन् । आवश्यक जनशक्ति नै नभएको अस्पतालमा विशेषज्ञ चिकित्सक नै छैनन् । जसले गर्दा महँगो रकम खर्चिएर खरिद गरिएका सामग्री नै प्रयोगविहीन भएर थन्किएका छन् भने नागरिकले पर्याप्त स्वास्थ्य सेवा लिन पाएका छैनन् । जटिल रोगको उपचार गर्न बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ । स्वीकृत दरबन्दीअनुसार अस्पतालमा ६१ जना स्थायी सेवाका कर्मचारीको पदपूर्ति हुनुपर्ने हो । तर स्थायी दरबन्दीमा ३२ जनाको मात्रै पदपूर्ति गरिएको छ, २९ पद रिक्त छन् । रिक्त रहेका पदमा करार कर्मचारी राखेर सेवा दिने गरिएको छ । विभिन्न पदमा गरेर करारमा ५५ जना कार्यरत रहेका छन् ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको त चरम अभाव नै छ । विशेषज्ञ डाक्टरको दरबन्दी ६ जनाको हो । तर दरबन्दीअनुसार एक जना पनि अस्पतालमा कार्यरत छैनन् । करार सेवा अन्तर्गत एक जनालाई नियुक्त गरिएको छ । तर एक जनाबाट बिरामीको चापअनुसारको सेवा दिन भने समस्या हुने गरेको छ । त्यसैगरी पाँच जना मेडिकल अधिकृतको दरबन्दी पनि रिक्त छ । छैनन् । जनशक्ति अभावकै कारण अस्पतालको सेवामा सुधार हुन सकेको छैन । भएका उपकरण पनि प्रयोगमा आएका छैनन् । भेन्टिलेटरसहितको सेवा दिन जनशक्ति अपुग भएको छ । अन्य उपकरणहरू पनि दक्ष जनशक्तिको अभावकै कारण प्रयोगविहीन अवस्थामा स्टोरमा थन्क्याएर राखिएको छ । भएका उपकरण प्रयोगविहीन हुँदा सेवा लिन आएका बिरामीहरूलाई अन्य अस्पतालमा रिफर गर्नु परेको छ । जिल्ला अस्पतालमा एउटा भिडियो एक्सरे मेसिन, ६ वटा भेन्टिलेटर र एउटा एम्बुलेन्स समेत थन्क्याएर राखिएको छ । महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा स्वास्थ्य सेवा प्रवाहमा असर पुगेको छ । जिल्लाका नागरिकलाई सहज रूपमा सेवा दिने उद्देश्यले उपकरण अस्पतालमा राखिएको भएपनि उपकरण सञ्चालनमा ल्याउन दक्ष जनशक्ति नहुँदा सर्वसाधारण मारमा परेका छन् ।

अस्पतालले भौतिक पूर्वाधारको समेत अभाव झेलिरहेको छ । त्यसमाथि आवश्यक जनशक्तिको समेत अभाव हुँदा उपचार सेवा प्रभावित भएको छ भने पूर्वाधार नहुँदा नागरिकले सहज रूपमा सेवा लिन पाएका छैनन् । एउटै कोठामा बिरामीको भिड लाग्ने, बेड कम हुँदा पनि उपचार गर्न समस्या हुनेगरेको हो । कर्णाली प्रदेशका अन्य जिल्ला अस्पतालहरूले जस्तै सल्यानले पनि स्वीकृति पाएकोभन्दा बढी बेडसहित अस्पताल सञ्चालन गरेको छ । यो अस्पतालका लागि १५ शै®याको स्वीकृति छ । तर अहिले ४८ शै®या सञ्चालनमा छन् । बिरामीको संख्या बढ्दै गएपछि शै®या पनि वृद्धि गरिएको हो । तर सोहीअनुसारको पूर्वाधारको भने अभाव छ ।

प्रकाशित मितिः   १५ भाद्र २०८०, शुक्रबार १०:२८