‘भ्रष्टाचारविरुद्धको अभियान रोकिँदैन’
सुर्खेत: प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको भविष्यमाथि संशय व्यक्त गरेका छन् । भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरेको बताउँदै उनले सरकारको भविष्य सुनिश्चित नरहेको जनाए । बिहीवार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार कतिदिन टिक्छ भन्ने कुरा आफ्नो लागि प्राथमिकतामा नरहेको समेत जिकिर गरे ।
दाहालले सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरूद्ध अभियान चलाएकोे बताए । ‘गठबन्धन र सरकारको तर्फबाट भ्रष्टाचारविरूद्ध अभियान चलाइएको छ’ उनले भने, ‘सरकारले दायाँबायाँ हेर्दैन । सरकार र मोर्चा एकढिक्का भएर यसैमा केन्द्रित छ ।’ पहिले विभिन्न कारणले अलग भएका दलहरू समाजवादी मोर्चाबाट एक ठाउँमा जुटेकोले आफूलाई खुसी लागेको प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘सामाजिक न्याय, सुशासनका पक्षमा यो मोर्चा एक भएर लड्दा हामी सफल हुनेछौँ,’ उनले भने, ‘सरकार कति दिन टिक्छ कि टिक्दैन मलाई टेन्सन छैन ।’
केही मानिसले प्रचण्डले आफ्ना कार्यकर्तालाई बचाउँछ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै भने, ‘मैले सिआइबीलाई भनेको छु, गल्ती गरेको भए मलाई पनि समाउनुस्, अनुसन्धान गर्नुहोस् भनेको छु ।’ सरकारले राम्रा काम गरिरहे पनि प्रतिक्रियावादीले नरूचाएको उनको भनाइ थियो । उनले आफू युएन महासभा र चीन भ्रमणमा जाँदा किसानका मुद्दा उठाउने प्रतिबद्धता पनि जनाएका छन् ।
सभामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्ति मिल्नको विकल्प नभएको बताएका छन् । उनले एकलै हिँडेर कसैको पार नलाग्ने र कुनै पार्टीको बहुमत नपुग्ने हुँदा समाजवादी मोर्चा बनाइएको बताए । नेता नेपालले अहिलेको गठबन्धन र सरकारलाई कसैले ढाल्न नसक्ने दाबीसमेत गरे । समाजवादी मोर्चाको सरकार ढल्छ कि भन्ने आंकलनहरू पनि भइरहेको भन्दै अध्यक्ष नेपालले सरकार कुनै हालतमा नढल्ने दाबी गरे । कम्युनिष्टहरू मिल्दा गठबन्धन भित्रको दल नेपाली कांग्रेसको मनमा चिसो नभइ तातो पसेको उनले बताए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले हजारौँ सहिदको बलिदानले यो मुलुक यो स्थानमा पुगेको बताए । सामन्तवादलाई जनयुद्ध र जनआन्दोलनले पछारेको तर जनआन्दोलनको सपना पूरा नभएको बताए । महासचिव विप्लवले कम्युनिष्ट पार्टीहरू समाजवादी मोर्चामा आउनुपर्ने बताए ।
प्रकाशित मितिः १५ भाद्र २०८०, शुक्रबार १०:२७
साझा बिसौनी ।