शैय्या अभावमा उपचार कठिन
सुर्खेत: केही दिनयता स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) रूकुमपश्चिममा बिरामीको चाप बढेको छ । दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि पुग्छन् । रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीले अस्पताल भरिभराउ छ । बिरामीको चाप बढेसँगै अस्पतालमा भने बेडको अभाव भएको छ । कतिसम्म भने एउटै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपर्ने बाध्यता निम्तिएको छ ।
१५ शैय्याको अस्पताल सञ्चालनका लागि स्वीकृति पाएपनि अहिले त्यसैमा ४० शैड्ढया राखेर सञ्चालन गरिएको छ । यसरी अनुमतिभन्दा बढी शैय्या राख्दा पनि अपुग भएको छ । उपचारमा समस्या भइरहेको छ । बिरामीलाई बेड पाउनै मुस्किल हुने गरेको छ । बेड अभावमा एकै बेडमा तीन जनासम्मको उपचार गर्नुपर्ने बाध्यता रहेको कार्यालयका निमित्त प्रमुख डा. सुशील पोखरेलले जनाए । इमरजेन्सीका बिरामीलाई एउटा बेडमा दुईदेखि तीन जनासम्मलाई राखेर उपचार गर्नुपर्ने अवस्था आएको उनले बताए ।
अस्पतालमा जनशक्तिको पनि अभाव छ । पर्याप्त मात्रामा स्वास्थ्यकर्मी छैनन् । न्यून संख्यामा रहेका स्वास्थ्यकर्मीले सेवा दिन समस्या हुने गरेको हो । बिरामीको संख्या बढिरहे पनि अस्पतालमा बेड संख्या र जनशक्ति न्यून हुँदा सेवा प्रभावकारी हुन सकेको छैन । साउन महिनादेखि दैनिक दुई सय हाराहारी बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् । डा. पोखरेलले भने, ‘बिरामीको अत्यधिक चाप चाहीँ यो साउन–भदौ महिनामा बढी हुन्छ । दैनिक एक सयदेखि दुई सयको हाराहारीमा बिरामी आउने गरेका छन्, तर अस्पतालमा पर्याप्त बेड छैनन्, जनशक्ति पनि कम छ ।’
स्वास्थ्य सेवा कार्यालय रूकुमपश्चिममा ४४ जनाको स्वीकृत दरबन्दी रहेको छ । त्यसमध्ये हाल ३५ जना स्थायी कर्मचारी कार्यरत रहेका छन् । अस्पतालमा नौ वटा दरबन्दी रिक्त छ । रिक्त दरबन्दी रहेको दरबन्दीमा दक्ष जनशक्तिको पद धेरै छ । अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी चार जनाको भएपनि एक जनामा पनि दरबन्दीमा कार्यरत छैनन् । एक जना करार र एक जना व्यवस्थापक पदमा रहेर विशेषज्ञ सेवा दिइरहेका छन् । विशेषज्ञ डाक्टर मात्र होइन स्थायी पदमा मेडिकल अधिकृतको दरबन्दी पनि रिक्त छ । तर मेडिकल अधिकृत पदमा ६ जना छात्रवृति करार र एक जना करार डेन्टल पदमा गरी सात जना मेडिकल अधिकृत कार्यरत छन् । कार्यरत ६ जना छात्रवृत्ति करारमध्ये तीन जनाको सेवा अवधिको म्याद सकिएको प्रमुख डा. पोखरेलले बताए ।
दक्ष जनशक्तिको कमी हुँदा महत्वपूर्ण स्वास्थ्य उपचारको सेवा दिन नसकिएको जनाइएको छ । उनले भने, ‘अस्पतालमा हार्डर्जोनीका बिरामी पनि बढेका छन् । बेड अभाव हुँदा एउटै बेडमा दुई जना राखेर उपचार गर्ने गरेका गर्छौं । कहिलेकाहीँ स्ट्रेचरमा समेत राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ ।’
कार्यालयमा भौतिक पूर्वाधारको पनि अभाव छ । एकातिर बिरामीलाई साँघुरो कोठाबाट सेवा दिनुपरिरहेको छ भने सेवा विस्तारसँगै थप भएका उपकरणसमेत राख्ने ठाउँको अभाव भएको छ । २०४५ सालमा बनेको पुरानो भवनबाट अस्पतालले सेवा प्रवाह गरिरहेको छ । ३५ वर्ष पुरानो भवनबाट सेवा दिनु आफैमा चुनौती रहेको अस्पतालका प्रमुख डा. पोखरेल बताउँछन् । सेवा विस्तारसँगै नागरिक उपचार लिन अस्पतालमा आउँछन् । तर सोचेअनुसार सेवा दिन नसकेको अस्पतालले जनाएको छ । पोखरेलले भने, ‘अस्पतालमा दैनिक भिड हुन्छ । हामीले चाहेर पनि गुणस्तरीय सेवा दिन सकिरहेका छैनौँ । नागरिकको गुनासो पनि उत्तिकै आउने गरेको छ ।’ अस्पतालको नयाँ भवन निर्माणकै क्रममा रहेको छ ।
रजनी याेगी ।