अभावै अभावमा अस्पताल
स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) डोल्पाका लागि नवौँ तहका तीन जना चिकित्सकको स्वीकृत दरबन्दी छ । तर दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ डाक्टर कार्यरत छैनन् । अस्पताल भने अहिले एक जना मेडिकल अधिकृतको भरमा चलिरहेको छ । एक्लैले बिरामीको जाँच र उपचारदेखि प्रशासनिक कामसमेत धानिरहेका छन् । अस्पतालले सुरुवातदेखि नै दक्ष जनशक्ति र भौतिक संरचनाको अभाव झेल्दै आएको छ । विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि लामो समयदेखि निमित्तकै भरमा चलिरहेको छ । जसले गर्दा नागरिकले सहज रूपमा सेवा पाउन सकेको छैनन् । एकदिनमा पाउने सेवाका लागि दुई/तीन दिन अस्पताल धाउनुपरेको उनीहरूको गुनासो छ ।
दक्ष जनशक्ति र उपचारका लागि आवश्यक उपकरण अपुग भएजस्तै अस्पतालका लागि अन्य भौतिक पूर्वाधारको पनि अभाव छ । २०५५ सालमा स्थापित अस्पताल २५ वर्षअघिकै पुरानो भवनबाट सञ्चालन भइरहेको छ । अस्पतालमा दैनिक एक सय ५० देखि दुई सयको संख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । नवौँ तहका चिकित्सकको मात्रै होइन चार जना मेडिकल अधिकृतको दरबन्दी भएपनि तीन जनाको दरबन्दी रिक्त छ भने एक जना मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । बहिरंग सेवा, अन्तरंग सेवादेखि २४ सै घण्टा इमर्जेन्सी सेवासमेत एक्लैले गर्दा भ्याइनभ्याइ हुने गरेको छ । अस्पतालमा उपलब्ध जनशक्ति बिरामीको चापका आधारमा अपुग भएको विषयमा संघीय र प्रदेश सरकार जानकार भएपनि पदपूर्ति गर्न भने कसैले चासो दएका छैनन् । स्वास्थ्य सेवा कार्यालय डोल्पामा स्वीकृत दरबन्दी ४७ जनाको हो । त्यसमध्ये अस्पतालमा दक्ष जनशक्तिको अभाव छ । तल्लो तहका कर्मचारीको दरबन्दी पूर्ति भएपनि विशेषज्ञ डाक्टरको अभाव कार्यालयले झेलिरहेको हो । नागरिकले जिल्लामै जटिल रोगको उपचार गर्न पाएका छैनन् भने महँगो पैसा तिरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ ।
अस्पतालमा उपचारमा प्रयोग हुने उपकरणको समेत अभाव छ । १५ शैय्याको अस्पतालमा भिडियो एक्सरे मेसिन छैन । अल्ट्रासाउन्डका लागि पनि मेसिन अभाव छ । डोल्पाबासीलाई आवश्यक पर्ने सेवा नभएपछि गम्भीर प्रकृतिका शल्यक्रिया तथा उपचारका लागि आकस्मिक रूपमा हेलिकोप्टर चार्टर गरेर बाहिर जिल्ला धाउनु पर्ने बाध्यता छ । जनशक्ति र उपकरण अभाव हुँदा जटिल रोगको उपचार गर्न समस्या हुने गरेको छ । दक्ष जनशक्ति र उपचारका लागि आवश्यक उपकरण अपुग भएजस्तै अस्पतालका लागि अन्य भौतिक पूर्वाधारको पनि अभाव छ । २०५५ सालमा स्थापित अस्पताल २५ वर्षअघिकै पुरानो भवनबाट सञ्चालन भइरहेको छ ।
प्रकाशित मितिः १३ भाद्र २०८०, बुधबार ०५:०३
सम्पादकीय ।