जिल्ला अस्पताल डोल्पा

एक जनाको काँधमा उपचार र प्रशासनिक भार

सुर्खेत: स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) डोल्पाका लागि नवौँ तहका तीन जना चिकित्सकको स्वीकृत दरबन्दी छ । तर दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ डाक्टर कार्यरत छैनन् । अस्पताल भने अहिले एक जना मेडिकल अधिकृतको भरमा चलिरहेको छ । निमित्त प्रमुख डा. रत्नबीर सुनार एक्लैले बिरामीको जाँच र उपचारदेखि प्रशासनिक कामसमेत धानिरहेका छन् ।

अस्पतालले सुरुवातदेखि नै दक्ष जनशक्ति र भौतिक संरचनाको अभाव झेल्दै आएको छ । विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि लामो समयदेखि निमित्तकै भरमा चलिरहेको छ । जसले गर्दा नागरिकले सहज रूपमा सेवा पाउन सकेको छैनन् । एकदिनमा पाउने सेवाका लागि दुई÷तीन दिन अस्पताल धाउनुपरेको उनीहरूको गुनासो छ ।

दक्ष जनशक्ति र उपचारका लागि आवश्यक उपकरण अपुग भएजस्तै अस्पतालका लागि अन्य भौतिक पूर्वाधारको पनि अभाव छ । २०५५ सालमा स्थापित अस्पताल २५ वर्षअघिकै पुरानो भवनबाट सञ्चालन भइरहेको छ ।

अस्पतालमा दैनिक एक सय ५० देखि दुई सयको संख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । कार्यालयका निमित्त प्रमुख डा. सुनारले प्रशासनिक कामका साथै बिरामीको स्वास्थ्य परीक्षण एक्लैले गर्नुपर्दा अस्पतालबाट प्रवाह हुने सेवा प्रभावकारी हुन नसकेको बताए । जसले गर्दा बिरामीको ज्यानसमेत जोखिममा परेको छ ।

नवौँ तहका चिकित्सकको मात्रै होइन चार जना मेडिकल अधिकृतको दरबन्दी भएपनि तीन जनाको दरबन्दी रिक्त छ भने एक जना मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । अस्पतालको सबै भार आफूमाथि परेको निमित्त प्रमुख सुनारले गुनासो गरे । बहिरंग सेवा, अन्तरंग सेवादेखि २४ सै घण्टा इमर्जेन्सी सेवासमेत आफू एक्लैले गर्दा भ्याइनभ्याइ हुने गरेको उनले जनाए । ‘अस्पतालमा नवौँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट नहुँदा प्रशासनको कामसमेत आफैले गर्नुपरेको छ ।’ एक्लैले लगातार काम गर्दा बिरामीको राम्रो हेरचाह गर्न नपाएको र बिरामीको गुनासोेसमेत बढिरहेको उनले बताए ।

अस्पतालमा उपलब्ध जनशक्ति बिरामीको चापका आधारमा अपुग भएको विषयमा संघीय र प्रदेश सरकार जानकार भएपनि पदपूर्ति गर्न भने कसैले चासो दएका छैनन् । स्वास्थ्य सेवा कार्यालय डोल्पामा स्वीकृत दरबन्दी ४७ जनाको हो । त्यसमध्ये अस्पतालमा दक्ष जनशक्तिको अभाव छ । तल्लो तहका कर्मचारीको दरबन्दी पूर्ति भएपनि विशेषज्ञ डाक्टरको अभाव कार्यालयले झेलिरहेको हो । नागरिकले जिल्लामै जटिल रोगको उपचार गर्न पाएका छैनन् भने महँगो पैसा तिरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ ।

 

उपकरण अभाव

अस्पतालमा उपचारमा प्रयोग हुने उपकरणको समेत अभाव छ । १५ शैड्ढयाको अस्पतालमा भिडियो एक्सरे मेसिन छैन । अल्ट्रासाउन्डका लागि पनि मेसिन अभाव छ । दुवै मेसिन तत्काल आवश्यक देखिएकाले संघीय र प्रदेश सरकारसँग माग गरिएको छ । तर कतैबाट पनि चसो नदिइएको डा. सुनार बताउँछन् ।

डोल्पाबासीलाई आवश्यक पर्ने सेवा नभएपछि गम्भीर प्रकृतिका शल्यक्रिया तथा उपचारका लागि आकस्मिक रूपमा हेलिकोप्टर चार्टर गरेर बाहिर जिल्ला धाउनु पर्ने बाध्यता छ । डा. सुनारले भने, ‘अस्पतालमा आवश्यक उपकरण तथा विशेषज्ञ डाक्टर छैनन् । जनशक्ति र उपकरण अभाव हुँदा जटिल रोगको उपचार गर्न समस्या हुने गरेको छ ।’

 

भौतिक पूर्वाधार पनि अपुग

दक्ष जनशक्ति र उपचारका लागि आवश्यक उपकरण अपुग भएजस्तै अस्पतालका लागि अन्य भौतिक पूर्वाधारको पनि अभाव छ । २०५५ सालमा स्थापित अस्पताल २५ वर्षअघिकै पुरानो भवनबाट सञ्चालन भइरहेको छ ।

नयाँ भवन निर्माणकै क्रममा छ । नयाँ भवन निर्माणसँगै ५० शैड्ढयामा अस्पतालको स्तरवृद्धि गर्ने योजना रहेको छ । निमित्त प्रमुख डा. सुनारले भने, ‘दक्ष जनशक्ति, उपकरण र भौतिक पूर्वाधार अभाव रहेको छ । अभाव नै अभावमा पनि सकेको सेवा दिइरहेका छौँ ।’

प्रकाशित मितिः   १२ भाद्र २०८०, मंगलवार ०५:०५