सेवामा सुधार गर
स्वास्थ्य सेवा कार्यालय (अस्पताल) हुम्ला जिल्लाको मुख्य स्वास्थ्य संस्था हो । तर अस्पताल आफै अनेक समस्याले ग्रस्त छ । भौतिक पूर्वाधारको अभावदेखि जनशक्तिको अभावमा अस्पताल नै बिरामी अवस्थामा छ भन्दा फरक पर्दैन । नागरिकले सहज रूपमा प्रभावकारी स्वास्थ्य सेवा पाउन सकेका छैनन् । अस्पतालमा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ । ४४ जनाको स्वीकृत दरबन्दी रहेकोमा अहिले ३२ जना स्थायी दरबन्दीमा कार्यरत छन्, १२ जनाको दरबन्दी रिक्त छ । अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी तीन जनाको भएपनि दरबन्दी अनुसार एक जना पनि डाक्टर छैनन् । करारमा एक जना विशेषज्ञ डाक्टर मात्र अस्पतालमा कार्यरत छन् । विशेषज्ञ डाक्टर मात्र होइन हुम्ला अस्पतालमा मेडिकल अधिकृत एक जना पनि स्थायी दरबन्दीका छैनन् । करारका पाँच जना मेडिकल अधिकृत र करारकै एक जना विशेषज्ञ डाक्टरको भरमा अस्पताल सञ्चालन भइरहेको छ । हाल अस्पतालमा करार र स्थायी गरेर जम्मा ६२ जना कर्मचारी कार्यरत छन् ।
स्थायी चिकित्सक नहुँदा सेवाप्रवाहमा समस्या हुने गरेको छ । अस्पतालमा अहिलेसम्म नवौं तहका स्थायी चिकित्सक आएका छैनन् । अहिले अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले उपचार गरिरहेका छन् । १५ शै®याको स्वीकृती पाएको अस्पतालले बेड संख्या बढाएर २३ शै®याबाट सेवा दिइरहेको छ । विशेषज्ञ डाक्टर र मेडिकल अधिकृत दरबन्दी अनुसारका छैनन् । जसले गर्दा जटिल रोगका बिरामीको उपचारमा समस्या हुने गरेको हो । जिल्ला अस्पतालमा पर्याप्त जनशक्ति, सुविधा र पूर्वाधार नहुँदा हुम्लाबासीले सास्ती खेपिरहेका छन् । ग्रामीण भेगका स्वास्थ्य संस्थाबाट धेरैजसो बिरामी उपचारका लागि जिल्ला अस्पतालमा रेफर गरिन्छन् तर अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा जिल्लाबाहिर जानुपर्ने बाध्यता नागरिकको रहेको छ । जनशक्ति अभावका कारण समस्या झेलिरहेको हुम्ला अस्पताल भौतिक पूर्वाधारमा पनि कमजोर छ । साँघुरो भवनबाट सेवा प्रवाह भइरहेको छ । वि.सं. २०४२ मा बनेको पुरानो भवनबाट अस्पतालले सेवा दिइरहेको छ । नयाँ भवन निर्माणको काम भइरहे पनि अहिले अस्पतालले ३८ वर्ष पुरानो कार्यालयबाटै सेवा दिनुपर्दा कठिन हुने गरेको हो ।
हुम्ला जिल्लामा यातायातको भरपर्दो माध्यम भनेको हवाई सेवा हो । दक्ष जनशक्ति नहुँदा बिरामीको रेफर गर्नुपर्ने बाध्यता अस्पताललाई छ । तर हवाई उडान नियमित हुँदैन । जिल्ला अस्पतालमा स्रोत साधनको अभाव र जिल्ला बाहिर लैजान हवाई सेवा अवरुद्ध भएका कारण उपचार नपाएर अकालमै नागरिकको ज्यान जाने गरेको छ । जिल्ला बाहिर जाने एक मात्र विकल्प हवाई सेवा अवरुद्ध हुँदा बिरामीले अकालमा ज्यान गुमाइरहेका छन् । यस्तो अवस्थाको अन्त्य गर्न जिल्ला अस्पताललाई भौतिक पूर्वाधार तथा सेवाको विस्तारमा जोड दिनु अनिवार्य छ ।
प्रकाशित मितिः १२ भाद्र २०८०, मंगलवार ०५:०३
साझा बिसौनी ।