साक्षरता अभियान

कर्णाली प्रदेशका जिल्लाहरूमा साक्षरता अभियान सञ्चालन भएको लामै समय भयो । केही जिल्ला पूर्णसाक्षर घोषणा पनि भए । तर बीचमा यो अभियान रोकियो । खासगरी प्रदेश संरचना कार्यान्वयनमा आएसँगै अभियान अलपत्र परेको हो । यो अभियानलाई फेरि ब्युँताइएको छ । कर्णालीलाई साक्षर प्रदेश घोषणाका लागि तयारी थालिएको छ । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै पूर्ण साक्षर प्रदेश घोषणाको तयारी गरिएको हो । कर्णालीका दशमध्ये जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रूकुम–पश्चिम साक्षर जिल्ला घोषणा भइसकेका छन् । कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा घोषणा हुन बाँकी जिल्ला हुन् । बाँकी रहेका जिल्लामा स्थानीय तहमार्फत् साक्षर अभियानको सुरुवात गरिएको छ ।

साविक कर्णालीको पाँच जिल्लाका ३६ पालिकामध्ये २७ पालिका साक्षर घोषणा हुन बाँकी छन् । मुुगुुका चार, जुुम्लाका आठ, कालीकोटका आठ, हुुम्लाको एक, डोल्पाका ६ गरी २७ पालिका साक्षर घोषणा भएका छैनन् । घोषणा हुन बाँकी पालिकामा स्थानीय सरकारहरूले कार्ययोजना निर्माण गरेर साक्षरता अभियानको सुरुवात गरेका हुन् । कर्णाली सरकारको तथ्यांकअनुसार प्रदेशमा झन्डै साढे चार लाख नागरिक अहिले पनि निरक्षर छन् । यहाँको साक्षरता दर ६२ प्रतिशत हाराहारी छ । कर्णालीका ३८ प्रतिशत नागरिक साधारण लेखपढ गर्नसमेत जान्दैनन् । १५ वर्षदेखि सुस्ताएको साक्षरता अभियान पूनः सञ्चालन गर्न लागिएको हो । संघीयताको कार्यनवयनसँगै यो अभियान ओझेलमा परेको थियो । साक्षर घोषणा हुन बाँकी सबै स्थानीय तहका जनप्रतिनिधिहरूले एक वर्षमा पालिकालाई साक्षर घोषणा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

संघीय सरकारको नीति तथा कार्यक्रममा साक्षरता अभियानलाई समेटिएको छ । संघीय सरकारले यो वर्ष नै बाँकी रहेका प्रदेशलाई पूर्ण साक्षर गर्नेगरी कार्ययोजना निर्माण गरेको हो । कर्णालीका २७ वटा पालिका साक्षर घोषणा हुन बाँकी रहेकाले निरक्षरहरूको तथ्यांक संकलनको मुख्य जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुनेछ । निरक्षरहरूको तथ्यांक संकलन, निरक्षरहरूको तथ्यांक विष्लेषण पहिचान, सम्बन्धित स्थानमा सरोकारवालाहरूको बैठक, सहजकर्ताहरूको नियुक्ति तथा तालिम, मुल्यांकन तथा साक्षार सुनिश्चितता र साक्षर घोषणा गर्ने मिति तयार गर्ने जस्ता कार्ययोजना निर्माण गरिएको हो । कर्णाली प्रदेश सरकारले पनि चालु आर्थिक वर्षभित्रै कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । तीन तहका सरकारको समन्वयमा कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्नेगरी अभियान अघि बढेको छ । अभियान सफल भएमा निरक्षरता उन्मुलन गरेर सबै नागरिकलाई साक्षर बनाउने लक्ष्य हासिल हुनेछ ।

प्रकाशित मितिः   ११ भाद्र २०८०, सोमबार ०५:०३