करार चिकित्सकको भरमा जिल्ला अस्पताल

३८ वर्ष पुरानो भवनबाट सेवा, औषधिको समेत अभाव

सुर्खेत: स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) हुम्लामा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ । अस्पतालमा ४४ जनाको स्वीकृत दरबन्दी हो । तर अहिले ३२ जना स्थायी दरबन्दीमा कार्यरत छन्, १२ जनाको दरबन्दी रिक्त छ ।

अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी तीन जनाको भएपनि दरबन्दी अनुसार एक जना पनि डाक्टर छैनन् । करारमा एक जना विशेषज्ञ डाक्टर मात्र अस्पतालमा कार्यरत छन् । विशेषज्ञ डाक्टर मात्र होइन हुम्ला अस्पतालमा मेडिकल अधिकृत एक जना पनि स्थायी दरबन्दीका छैनन् । करारका पाँच जना मेडिकल अधिकृत र करारकै एक जना विशेषज्ञ डाक्टरको भरमा अस्पताल सञ्चालन भइरहेको छ । हाल अस्पतालमा करार र स्थायी गरेर जम्मा ६२ जना कर्मचारी कार्यरत छन् ।

स्थायी चिकित्सक नहुँदा सेवाप्रवाहमा समस्या हुने गरेको छ । अस्पतालमा अहिलेसम्म नवौं तहका स्थायी चिकित्सक आएका छैनन् । अहिले अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले उपचार गरिरहेका छन् । कार्यालयका निमित्त प्रमुख जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले पूर्वाधार र जनशक्तिको अभावकैबीच सेवा प्रवाह भइरहेको बताए । उनका अनुसार १५ शैड्ढयाको स्वीकृती पाएको अस्पतालले बेड संख्या बढाएर २३ शैड्ढयाबाट सेवा दिइरहेको छ । विशेषज्ञ डाक्टर र मेडिकल अधिकृत दरबन्दी अनुसारका छैनन् । जसले गर्दा जटिल रोगका बिरामीको उपचारमा समस्या हुने गरेको छ ।

जिल्ला अस्पतालमा पर्याप्त जनशक्ति, सुविधा र पूर्वाधार नहुँदा हुम्लाबासीले सास्ती खेपिरहेका छन् । ग्रामीण भेगका स्वास्थ्य संस्थाबाट धेरैजसो बिरामी उपचारका लागि जिल्ला अस्पतालमा रेफर गरिन्छन् तर अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा जिल्लाबाहिर जानुपर्ने बाध्यता नागरिकको रहेको छ । हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त हुँदा बिरामीले सेवा पाउन सकेका छैनन् ।

जनशक्ति अभावका कारण समस्या झेलिरहेको हुम्ला अस्पताल भौतिक पूर्वाधारमा पनि कमजोर छ । साँघुरो भवनबाट सेवा प्रवाह भइरहेको छ । वि.सं. २०४२ मा बनेको पुरानो भवनबाट अस्पतालले सेवा दिइरहेको कार्यालयका निमित्त प्रमुख सिंहले बताए । उनका अनुसार सेवाग्राहीको चाप धेरै हुँदा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न समस्या हुने गरेको छ ।

अस्पतालमा बिरामीको चाप निकै बढेको छ । मौसमी रोगका बिरामीका साथै दिर्घ रोगीहरू उपचारका लागि अस्पतालमा आउने गरेका छन् । बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जादा भवन साँघुरो हुँदै गएको प्रमुख सिंहले बताए । नयाँ भवन निर्माणको काम भइरहे पनि अहिले अस्पतालले ३८ वर्ष पुरानो कार्यालयबाटै सेवा दिनुपर्दा कठिन हुने गरेको उनको भनाइ छ । उनले भने्, ‘३८ वर्ष पुरानो भवनबाट सेवा दिँदा समस्या भएको छ । हाल सेवाग्राहीको संख्या बढ्दो क्रममा छ । अस्पतालमा नयाँ–नयाँ रोगको उपचारका लागि सेवा थपिँदै गएका छन्, भवनको संरचना कमजोर छ ।’

अस्पतालमा दैनिक सरदर एक सय बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा श्वासप्रश्वासका बिरामी धेरै नै आउने गरेका हुन् । विशेषज्ञ डाक्टर नहुँदा जटिल उपचार सेवा प्रभावकारी बन्न सकेको छैन । दरबन्दीअनुसार डाक्टरको पदपूर्ति नहुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

हुम्ला जिल्लामा यातायातको भरपर्दो माध्यम भनेको हवाई सेवा हो । दक्ष जनशक्ति नहुँदा बिरामीको रेफर गर्नुपर्ने बाध्यता जिल्ला अस्पताललाई छ । हवाई उडान नियमित हुँदैन । जिल्ला अस्पतालमा स्रोत साधनको अभाव र जिल्ला बाहिर लैजान हवाई सेवा अवरुद्ध भएका कारण उपचार नपाएर अकालमै नागरिकको ज्यान जाने गरेको छ । जिल्ला बाहिर जाने एक मात्र विकल्प हवाई सेवा अवरुद्ध हुँदा बिरामीले अकालमा ज्यान गुमाइरहेका छन्  । अर्कोतर्फ जिल्ला अस्पतालमा औषधि र स्वास्थ्यकर्मी अभाव हुने हुँदा नागरिक सेवाबाट वञ्चित भइरहेका छन् ।

प्रकाशित मितिः   ११ भाद्र २०८०, सोमबार ०५:०५