जनशक्ति अपुग

स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा बिरामीको चाप बर्सेनि बढ्दो छ । २५ शैय्याबाट सुरु भएको अस्पतालको क्षमता ५० शैय्यामा पुगेको छ । सेवा र भवनहरू पनि थपिएका छन् । तर आवश्यकताअनुसार जनशक्तिको संख्या भने बढ्न सकेको छैन । अस्पतालले सेवा विस्तार गरेपनि सेवा दिन र सञ्चालनका लागि आवश्यक पर्ने जनशक्तिको अभाव छ । बिरामीको चाप र थपिएका सेवाको अनुपातमा कर्मचारीको दरबन्दी नबढ्दा अस्पताल सञ्चालनमा समस्या भएको छ । कर्मचारी अभाव हुँदा दैनिक रूपमा सेवा प्रवाह गर्न समेत हम्मेहम्मे भइरहेको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि स्तरोन्नति गरेर ५० शैय्याको बनाइएको हो । ५० शैय्याको अस्पताल निर्माण भएपनि स्थायी कर्मचारीको दरबन्दी भने २५ शैय्या अनुसारको मात्र छ ।

कार्यालय सञ्चालनका लागि सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरिएको छ । हेर्दा अस्पतालको ठूलो भवन देखिन्छ, सोहीअनुसार सेवा प्रवाह गर्न भने अस्पतालले सकेको छैन । पहिलो समस्या जनशक्ति अभाव भएपनि अस्पताल सञ्चालनका लागि चुनौती नै चुनौती रहेको छ । कूल ६० जनाको स्थायी दरबन्दी रहेको अस्पतालमा अहिले ३० जना मात्रै दरबन्दीमा कार्यरत रहेका छन् । ३० जनाको दरबन्दी रिक्त छ । बाँकी करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारीको भरमा सेवा सञ्चालन भइरहेको छ । करारका कर्मचारी मात्र ५८ जना छन् भने कार्यालयमा स्थायी र करार गरी जम्मा ८८ जना कर्मचारी कार्यरत छन् । तर दरबन्दीअनुसार दक्ष जनशक्तिको अभाव कायमै छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको छ । तर दरबन्दी अनुसारको एक जना पनि विशेषज्ञ डाक्टर अस्पतालमा कार्यरत छैनन् । उपचार गर्न आएका जटिल रोगका बिरामी उपचार नपाएर घर फर्कन्छन् । अस्पतालमा मेडिकल अधिकृत पदमा पाँच जनाको दरबन्दी रहेकोमा एक जना पनि दरबन्दीमा कार्यरत छैनन् । तीन जना मेडिकल अधिकृत (डाक्टर) छात्रवृत्ति करार र करार दरबन्दीका रहेका छन् । आवश्यक जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन ।

भौतिक पूर्वाधारका हिसाबले सुविधा सम्पन्न भएपनि जाजरकोट अस्पतालमा जनशक्तिसँगै औषधिको पनि अभाव हुने गरेको छ । विभिन्न रोगका बिरामीहरू ठूलो संख्यामा आउने गरेका छन् । दैनिक एक सयभन्दा बढी बिरामी सेवाका लागि अस्पतालमा पुग्छन् । सरकारले जाजरकोट अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरेपनि विशेषज्ञ जनशक्ति र पर्याप्त औषधिको व्यवस्था गर्न नसक्दा अस्पताल नै बिरामी अवस्थामा पुगेको अस्पतालमै कार्यरत स्वास्थ्यकर्मीहरूको भनाइ छ । भौतिक रूपमा मात्रै सुधार गरेर नागरिकले सुविधा पाउँदैनन् । त्यहाँबाट प्रदान गरिने सेवामा पनि सुधार गर्नुपर्दछ । यसका लागि आवश्यक संख्यामा जनशक्तिको व्यवस्थापन गर्नु अनिवार्य छ ।

प्रकाशित मितिः   ८ भाद्र २०८०, शुक्रबार ०५:०३