ब्युँतियो साक्षरता अभियान

कर्णालीलाई पूर्णसाक्षर प्रदेश घोषणा गर्ने तयारी

सुर्खेत: कर्णालीलाई साक्षर प्रदेश घोषणाका लागि तयारी थालिएको छ । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै पूर्ण साक्षर प्रदेश घोषणाको तयारी गरिएको हो ।

कर्णालीका दशमध्ये जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रूकुम–पश्चिम साक्षर जिल्ला घोषणा भइसकेका छन् । कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा घोषणा हुन बाँकी जिल्ला हुन् । बाँकी रहेका जिल्लामा स्थानीय तहमार्फत् साक्षर अभियानको सुरुवात गरिएको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाले ‘साक्षर अभियान’ सञ्चालनको अन्तिम तयारीमा छ । नगरभित्रका सबै नागरिकलाई साक्षर बनाउनका लागि ‘साक्षर अभियान’ सञ्चालन गर्न लागिएको हो । नगरपालिकाका अनुसार सो अभियान पूरा गर्ने जिम्मेवारी विद्यालयका शिक्षक र विद्यार्थीको हुनेछ । नगरप्रमुख विष्णुकुमार भामले अभियानमार्फत् पालिकाभित्रका १५ देखि ६० वर्षसम्मका नागरिकलाई साक्षर बनाइने बताए । उनका अनुसार नगरपालिकालाई एक वर्षमा ‘साक्षर स्थानीय तह’ घोषणा गर्ने रणनीति लिइएको छ । विशेष कार्ययोजना बनाएर साक्षर पालिका घोषणा गरिने नगरप्रमुख भामले जानकारी दिए । उनले भने, ‘साक्षर अभियान सञ्चालन गर्नका लागि पालिकाले पाँच लाख बजेट विनियोजन गरेको छ । शिक्षक र विद्यार्थी परिचालन गरेर निरक्षरको तथ्याङ्क संकलन गरिने छ ।’

यस्तै जुम्लाको गुठिचौर गाउँपालिकाले पनि साक्षरता अभियान सञ्चालन गर्दैछ । निरक्षरता हटाएर साक्षरता दर बढाउन अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए । पालिकामा १५ देखि ६० वर्षसम्मका करिब २० प्रतिशत नागरिक निरक्षर छन् । वडातहमार्फत् उनीहरूको तथ्याङ्क संकलन गर्न सुरु गरिएको अध्यक्ष बुढाले जानकारी दिए । उनका अनुसार वडाले तथ्याङ्क संकलन गरेर आधिकारिक विवरण पालिकामा पेस गर्नेछ । सोहीअनुसार पालिकाले साक्षरता अभियान सञ्चालन गर्ने योजना बनाएको छ । ‘चालु आवमा पालिकाले भने बजेट विनियोजन गरेको छैन । संघ र प्रदेशले आवश्यकताका आधारमा पठाएको बजेटको परिधिमा रहेर अभियान सञ्चालन गर्ने योजना बनाएका छौँे ।’

यसैगरी रास्कोट नगरपालिका कालीकोट पनि पूर्ण साक्षर नभएको पालिकामा पर्छ । नगरप्रमुख धर्मराज शाहीले एक वर्षमा पालिकालाई पूर्ण साक्षर घोषणा गर्नेगरी तयारीमा जुटेको जानकारी दिए । उनका अनुसार पालिकाले निरक्षरको तथ्याङ्क संकलन गरिरहेको छ । त्यसलगत्तै पालिकाले साक्षरता अभियान सञ्चालन गर्ने योजना बनाएको छ । उक्त नगरपालिकामा करिब २२ प्रतिशत नागरिक अझै निरक्षर छन् । विशेष अभियान सञ्चालन गरेर सबै नागरिकलाई साक्षर बनाउने गरी कार्ययोजना निर्माण गरिएको नगरप्रमुख शाहीले जानकारी दिएका छन् ।

डोल्पाको मुड्केचुला गाउँपालिकाले भने पालिकालाई पूर्ण साक्षर घोषणा गर्नका लागि सबै प्रक्रिया सम्पन्न गरेको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएकाले पालिकालाई साक्षर घोषणा गर्ने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । साक्षर घोषणा गर्ने आधार तयार भएकाले पालिकालाई साक्षर घोषणा गर्न लागिएको उनले बताए ।

साक्षर प्रदेश घोषणा गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले यही वर्षभित्र प्रदेशलाई साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित साक्षर कर्णाली प्रदेश तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले साक्षर पालिका घोषणा गर्ने तयारी भइरहेकाले एकवर्षभित्रै प्रदेशलाई साक्षर घोषणा गरिने जानकारी दिए ।

तीन तहका सरकारको समन्वयमा कर्णाली प्रदेशलाई साक्षर घोषणा गरिने उनको भनाइ छ । स्थानीय तहले चाहेको खण्डमा यो वर्ष नै साक्षर जिल्ला घोषणा गर्न सकिने अवस्था रहेको भन्दै पालिकालाई तयारीमा जुट्न मुख्यमन्त्री शर्माले आग्रह गरेका छन् । उनले भने, ‘यहि वर्ष साक्षर प्रदेश घोषणा हुन्छ । त्यसको तयारीमा लाग्नुपर्ने हुन्छ । प्रदेश सरकारले पनि साही बमोजिम कार्यक्रम अघि बढाउँछ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले संघीय सरकारको नीति तथा कार्यक्रममा साक्षरता अभियानलाई समेटिएको जानकारी दिए । उनका अनुसार संघीय सरकारले यो वर्ष नै बाँकी रहेका प्रदेशलाई पूर्ण साक्षर गर्नेगरी कार्ययोजना निर्माण गरेको छ । कर्णालीका २७ वटा पालिका साक्षर घोषणा हुन बाँकी रहेकाले निरक्षरहरूको तथ्याङ्क संकलनको मुख्य जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने उनले बताए । निरक्षरहरूको तथ्याङ्क संकलन, निरक्षरहरूको तथ्याङ्क विष्लेषण पहिचान, सम्बन्धित स्थानमा सरोकारवालाहरूको बैठक, सहजकर्ताहरूको नियुक्ति तथा तालिम, मुल्याङ्कन तथा साक्षार सुनिश्चितता र साक्षर घोषणा गर्ने मिति तयार गर्ने जस्ता कार्ययोजना निर्माण गरिएको हो ।

साविक कर्णालीका पाँच जिल्लाका ३६ पालिकामध्ये २७ पालिका साक्षर घोषणा हुन बाँकी छन् । मुुगुुका चार, जुुम्लाका आठ, कालीकोटका आठ, हुुम्लाको एक, डोल्पाका ६ गरी २७ पालिका साक्षर घोषणा भएका छैनन् । स्थानीय सरकारहरूले कार्ययोजना निर्माण गरेर साक्षरता अभियानको सुरुवात गरेका हुन् । कर्णाली सरकारको तथ्याङ्कअनुसार प्रदेशमा झन्डै साढे चार लाख नागरिक अहिले पनि निरक्षर छन् । यहाँको साक्षरता दर ६२ प्रतिशत हाराहारी छ । कर्णालीका ३८ प्रतिशत नागरिक साधारण लेखपढ गर्नसमेत जान्दैनन् । १५ वर्षदेखि सुस्ताएको साक्षरता अभियान पूनः सञ्चालन गर्न लागिएको हो । संघीयताको कार्यनवयनसँगै यो अभियान ओझेलमा परेको थियो । साक्षर घोषणा हुन बाँकी सबै स्थानीय तहका जनप्रतिनिधिहरूले एक वर्षमा पालिकालाई साक्षर घोषणा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मितिः   ८ भाद्र २०८०, शुक्रबार ०५:०५